धरान: तरकारी बोकेर भारतीय गाडी धरान आउन नदिने निर्णय विपरीत बुधबार साँझ एउटा गाडी धरान आएको छ ।
धरान १३ स्थित कृषि उपज बजारमा आलु बोकेको एउटा भारतीय गाडी आए पनि भित्र प्रवेश गर्न भने पाएन । नगरस्तरीय तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिले भारतीय गाडीलाई तरकारी लिएर आउन नदिने निर्णय गरेको थियो । यो निर्णय विपरीत साँझ एक्कासी एउटा भारतीय गाडी आलु लिएर धरान प्रवेश गरेको थियो । करिब ३० टन आलु लिएको गाडी जोगवनी नाकाबाट आएको खुलेको छ । यो आलु कृषि बजारका तरकारी होलसेल व्यापारी शिवचन्द्र चौधरीले मगाएको बताइएको छ ।
चौधरी आफै पनि तरकारी आपूर्ति तथा व्यवस्थापन उपसमितिका सदस्य छन् । भारतीय गाडीलाई तरकारी ल्याउन नदिने निर्णय उनीसहितको टोलीले गरेको हो । तर, आज उनकैमा भारतीय गाडीले आलु ल्याएपछि बजार सञ्चालक समिति र अन्य व्यापारीहरु अचम्मित भए । ‘उनी आफै समिति सदस्य छन्, तर उनकैमा आज भारतीय गाडीले आलु लिएर आयो,’स्रोतले भन्यो,‘भित्र प्रवेश गर्न नदिइ कि क्वारेन्टाइनमा पठाउने कि जताबाट आएको हो उतै फर्कने भनेपछि आलु बोकेको गाडी फिर्ता गयो ।’
व्यापारी चौधरीले भने आलु लिएर आएको गाडी आफुले नल्याएको दाबी गरे । उनले आफुलाई पनि नसोधी गाडी आएको भन्दै फर्काएको बताए । ‘मलाई पनि नसोधी नै आएको थियो । थाहै पाइन,’उनले भने,‘आएको थाह पाउने बित्तिकै फकाईदिइहाले ।’ कोरोना संक्रमणको जोखिम भएकोले भारतीय गाडीलाई आउन नदिने निर्णय भएको थियो । आलु र प्याज भन्सारमा डिस्इन्फेक्ट गरेर नेपाली गाडीमा ल्याउन मात्र अनुमति दिइएको छ । अन्य तरकारी र भारतीय गाडीलाई भने पुर्णनिषेध गरिएको छ । यो निर्णय विपरीत आज भने आलु बोकेर भारतीय गाडी धरान आइपुगेको हो ।