धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रेडियोलोजी विभागका एसिस्टेन्ट प्रोफेसर डा.अरुण गुप्तालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परमाणु विज्ञान प्रविधि विज्ञकोरुपमा मनोनित गरेको छ ।

डा.गुप्तालाई मन्त्री गिरीराजमणी पोखरेलले परमाणु विज्ञान प्रविधि सल्लाहकार समितिमा विज्ञ सदस्यकोरुपमा ३ बर्षको लागि मनोनित गरेका हुन् । विज्ञान तथा सल्लाहकार समिति गठन सम्बन्धी मापदण्ड २०७५ वमोजिम विज्ञान तथा प्रविधि सचिव संयोजक रहने गरि सल्लाहकार समिति गठन भएको छ । सोही समितिमा विज्ञकारुपमा डा.गुप्ता ३ बर्षसम्म रहनेछन् ।

डा.गुप्ताले सन् २०१५ मा दक्षिण कोरियामा पिएचडी अध्यनयको लागि गएका थिए । उनले सन् २०१८ मा सोल नेशनल युनिभर्सिटीबाट न्युक्लियर मेडिसिनमा पिएचडी हासिल गरेर फर्किएका थिए । न्युक्लियर मेडिसिनमा पिएचडी गर्ने थोरै नेपालीमा डा. गुप्ता पर्छन् । उनको स्थायी ठेगाना भने चौदण्डीगढी नगरपालिका ६ बेल्टार हो ।

न्युक्लियर विज्ञान प्रविधि सम्बन्धी कुनै काम गर्नुपर्दा सल्लाहकार समिति र विज्ञकोरुपमा आफुले राय सल्लाह दिने भुमिका रहने उनले बताए । ‘भविष्यमा अनुसन्धान केन्द्र खोल्ने कुरा छ, त्यो कसरी अघि बढाउने भन्ने सल्लाह दिने काम हाम्रो हुन्छ,’उनले भने,‘सरकारले साइक्लोट्रोन राख्ने र त्यहाँबाट रेडियोधर्मी पदार्थ अर्थात रेडियो आइसोटोप उत्पादन गर्ने सोच पनि बनाएको छ । यो क्यान्सर परीक्षण र उपचारमा अति अवाश्यक हुन्छ । नेपालमा सम्भावना के छ, जनशक्ति उत्पादन कसरी गर्ने, यिनै बिषयमा सल्लाह दिन्छौं ।’

नेपालमा हालै रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धी विधेयक २०७६ संसदबाट पारित भएको छ । नेपालमा युरेनियम जस्ता रेडियोधर्मी पदार्थहरुको खानी भएकोले त्यसको संरक्षण गर्दै त्यस्ता पदार्थबाट निस्कने हानिकारक विकिरणहरुको अध्ययन, अनुसन्धान गर्न ऐन, कानुनको आवश्यक भएको डा.गुप्ताको भनाई छ । यो ऐनले बिशेष गरी स्वास्थ्य क्षेत्रमा क्यान्सरलगायत जटिल किसिमका रोगहरुको न्युक्लियर मेडिसिन प्रविधिबाट परीक्षण र उपचार गर्न सहज बनाउने उनले बताए । साथै, कृषि आधुनिकीकरण र उद्योगमा वस्तुको गुणस्तर मापन गर्न चाहिने रेडियोधर्मी पदार्थको उत्पादन र आयातमा पनि सहज हुने डा.गुप्ताले बताए ।

डा.गुप्ताले सन् २०१० मा भारतको दिल्लीस्थित एम्सबाट न्युक्लियर मेडिसिनमा स्नातकोत्तर(एमएस्सी) गरेका थिए भने भाभा अटोमिक रिसर्च सेन्टरबाट रेडिएसन सेफ्टी अफिसर(आरएसओ) उतीर्ण गरेर दिल्लीको दिवानचन्द अग्रवाल पेट/सिटि सेन्टरमा कार्यरत रहेको बेला नै उनलाई वीपी प्रतिष्ठानले आग्रह गरेपछि त्यहाँको जागिर छोडेर धरान आएका थिए । नागरिकन्युजबाट