धरान: स्थानीयबासीसँगको रस्साकस्सीपछि निर्माण शुरु भएको नाटक घरको काम रातमा पनि भइरहेको छ ।

केही दिन दिउँसो बर्षाले प्रभावित भएको निर्माण कार्य अचेल राती पनि अबेरसम्म जारी रहन्छ । बुधबार राती १ बजेसम्म नाटक घरको जग खन्ने काम भएको थियो । धरान उपमहानगरपालिकाले धरान ८ सभागृह क्षेत्रमा २ कट्ठा जग्गा अत्याधुनिक नाटक घर निर्माणको लागि उपलब्ध गराएको छ । धरानका रंगकर्मीहरुको पहलमा यहाँ प्रादेशिक नाटक घर निर्माण हुदैछ ।

चालु आर्थिक बर्षमा सांसद जयकुमार राईले नाटक घरको लागि ४० लाख बजेट विनियोजन गरिदिएका छन् । अहिले सोही बजेटबाट निर्माण कार्य शुरु भएको हो । निर्माण समितिका संयोजक एवं अग्रज कलाकार प्रेम सुब्बाका अनुसार धरान उपमहानगरपालिकाले पनि केही बजेट छुट्याइदिएको छ । ‘प्रदेश सरकार र केन्द्रीय सरकारबाट पनि बजेट ल्याउन पहल गछौं । काम निरन्तर गछौं । तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ,’उनले भने,‘डिपिआर पनि तयार भइसकेको छ । भवन ५ करोड र इन्टेरियर डिजाइनको पाटो करिब ३ करोड लागत अनुमान छ ।’

natak-ghar1

यहाँ नाटक मञ्चन मात्र हुदैन । नाटक घर भएपनि यहाँ चित्रकला, गीतसंगीत, साहित्य गोष्ठीलगायत कार्यक्रमहरु पनि आयोजना हुने गरि भवन बन्नेछ । राष्ट्रिय वा अन्र्तराष्ट्रियस्तरको नाट्य कार्यशाला एवं नाट्य महोत्सवहरु पनि यहाँ आयोजना हुने सुब्बाले बताए । अबको पुुस्ताले नाटक मञ्चन गर्न दुःख झेल्नु नपर्ने उनको भनाई छ । पचासको दशक पछि स्टेज नपाउदा रंगकर्मीहरु सडक नाटकमा आकर्षित भएको थियो । ‘सडक नाटक भइरहेको थियो, तर स्टेज नाटकहरु करिब डेढ दशक सुस्तायो । थिएटर हल नहुदा धेरै समस्या र खर्च हुने भएकोले । अब चै काम गर्नलाई धेरै सजिलो हुन्छ,’उनले भने ।