धरान: कोरोना संक्रमण समुदायमा नै फैलिएको आशंकामा धरान सरकारले साउन २२ गतेदेखि लकडाउन गरेको छ । यो लकडाउनलाई कडा गर्दै धरानबाहिरबाट दुध, तरकारीसमेत ल्याउन दिइएको छैन ।
तर, स्थानीय तह (धरान) सरकारलाई पनि चुनौती दिदै धरान १३ कृषि बजारस्थित भारतीय मुलका व्यापारी शिवचन्द्र चौधरीले भारतबाट नै तरकारी आयात गरिरहेका छन् । लकडाउनमा धरान बाहिरबाट तरकारी ल्याउन पनि रोक लगाइए पछि कृषि बजार पनि पुर्णरुपमा बन्द गरिएको छ । चौधरी सोही कृषि बजारको आलु र प्याजको ठुलो होलसेल व्यापारी हुन् । लकडाउनमा तरकारीमा पनि रोक लगाएको जानकारी भएर पनि उनले सरकारलाई नै चुनौती दिदै भारतबाट नै तरकारी आयात गरिरहेका छन् । भारतीय नम्बर प्लेटको गाडीमा भारतीय चालक, मजदुर भएको गाडीमा तरकारी आयात गर्ने भएकोले कोरोना संक्रमणको जोखिम पनि सँगै आयात भइरहेको छ ।
कृषि बजारलाई सिल गरिएको भए पनि व्यापारी चौधरीले धरान १५ भानुमार्गस्थित घरबाट नै लुकीछिपी तरकारी कारोबार गर्ने गरेको स्रोतको भनाई छ । अघिल्लो लकडाउनमा पनि व्यापारी चौधरीले लकडाउनमा रातारात घरबाट तरकारीको कारोबार गरेका थिए । भानुमार्गमा उनको दाजुको घर छ । दाजुले नेपालको अंगीकृत नागरिकता पाएका छन् । शिवचन्द्रको भने नेपाली नागरिकता छैन । उनी कृषि बजारको ठुला होलसेल व्यापारीमा पर्छन् । ‘सानो गाडीमा हालेर अत्यन्त महंगोमा बेचेर कालोबजारी गर्छ,’स्रोतले भन्यो ।
नगर प्रहरीका अनुसार उनले पछिल्लो समय २ ट्रक आलु भारतबाट आयात ल्याएका छन् । भारतीय नम्बर प्लेटको उक्त ट्रकलाई तीनकुने चेकपोष्टमा रोकेर राखिएको छ । ‘३ दिन भयो २ वटा ट्रकलाई तीनकुनेमा रोकेर राखेको छौं,’नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले भने,‘यो २ ट्रक आलु पनि काकडभिट्टा नाकाबाट ल्याएको भन्ने देखिन्छ ।’
व्यापारी चौधरीले आज बिहानै थप अर्को गाडीमा पनि आलु मगाएर सेउती पुल(कोशी राजार्ग)मा नै सानो गाडीमा पल्टी गरेर(खन्याएर) पानावारी हुदै धरान भित्र्याएको सुचना नगर प्रहरीलाई पुगेको थियो । सुचना पछि अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, नगर प्रहरी निरीक्षक कोइरालाको टोली सेउती पुलमा पुगेपनि तत्काल प्रमाण भेटिएन । ‘पल्टी गर्दैछ भन्ने सुचना आयो, हामी त्यहाँसम्म गयौ पनि तर प्रमाण भेटिएन,’अनुगमन अधिकृत सापकोटाले भने,‘व्यापारीलाई तरकारी आयातमा रोक लगाएको थाह छ, तर अटेर गरेर ल्याइराखेको छ, यो बिषयमा आजै मेयर साबसँग कुरा गछौं ।’
कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले पनि होलसेल सबै व्यापारीलाई तरकारी आयात नगर्न सुचना गरिएको बताउँछन् । ‘व्यक्ति व्यक्तिलाई भेटेर जानकारी गराएका छौं, जर्बजस्ती त ल्याउन पाइदैन,’उनले भने । व्यापारी चौधरीले भने कृषि बजारमा स्टक रहेको आलु र प्याज २ दिन बिक्री गर्न समय दिदा भन्सारमा रोकिएको तरकारी पनि ल्याउन दिने निर्णय अनुसार २ ट्रक आलु मगाएको दाबी गरे । तर, भन्सारमा जाममा परेर आउन ढिलाई हुँदा तीनकुनेमा रोकिएको उनले बताए । साथै उनले जंगलमा तरकारी सानो गाडी पल्टी नगरेको पनि दाबी गरे । ‘बैठकमा मैले गाडी नम्बर टिपाएर नै ल्याएको थिएँ, तर भन्सामा जाम भइदियो, र एक दिन ढिला आउदा रोकियो,’उनले भने,‘मैले जंगलमा सामान पल्टी गरेको छैन ।’