धरान: टमाटरसहितको अन्य हरियो तरकारीमा धेरै विचौलिया भएको कारण मुल्य अत्यधिक वृद्धि भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले विचौलिया हटाएर उपभोक्तालाई राहत दिन पहल थालेको छ ।

विचौलिया अन्त्य गर्नको लागि तरकारी उत्पादन क्षेत्रको स्थानीय तहहरुमा सिधै सम्पर्क तथा सम्बन्ध बढाएर तरकारी धरान आयात गर्न धरान उपमहानगरले पहल थालेको हो । धरान १३ स्थित कृषि बजारमा आइतबार(हिजो) बसेको सुरक्षा निकायसहितको अनुगमन समितिको बैठकले विचौलिया अन्त्यको लागि स्थानीय पालिकाहरुसँग समन्वय गर्ने जिम्मेवारी उपमेयरत तथा अनुगमन समिति संयोजक मञ्जु भण्डारी सुवेदीलाई दिएको छ । टमाटरको भाउ अत्यधिक महंगो भएपछि शनिबार उत्पादन क्षेत्रमा वस्तुस्थिति बुझ्न उपमहानगरपालिकाले एक टोली अनुगमनमा पठाएको थियो । धनकुटाको तरकारी पकेट क्षेत्रमा गएको टोलीले धरानको थोक बजारमा ११० रुपैयामा कारोबार भएको टमाटार किसानहरुले भने प्रतिकिलो ४०, ४५ रुपैयामा बिक्री गरेको फेला पारेको थियो ।

उपमेयर भण्डारीले स्थानीय तहसँग समन्वय गरेर किसानको पहुँच सिधै कृषि बजारसम्म बढाउन पहल शुरु गरिएको बताइन् । ‘तरकारी उत्पादन हुने ठाउँमा स्थानीय तहहरुसँग समन्वय गर्दैछुँ । किसानहरुलाई पनि बजारको अभाव छैन, उत्पादन गर्नुस् भन्ने सन्देश दिनुपर्नेछ,’उनले भनिन्,‘विचौलियाले तरकारीको बजार कब्जा गरेको रहेछ । हामी किसानले सही मुल्य पाओस्, र उपभोक्ता पनि मारमा नपरोस् भन्ने चाहन्छौं ।’

tamatar

कृषि सहकारीहरुमार्फत गाउँमा उत्पादन भएको हरियो तरकारी ल्याउन सके बिचौलियाको अन्त्य हुने उपमेयर भण्डारीको भनाई छ । कृषि सहकारी नभए स्थापना गर्न पहल गर्ने र किसानहरुलाई धरानको कृषि बजारमार्फत बिउ, मल पठाउन समन्वय पनि गरिने बताइन् । ‘कृषि सहकारीहरुसँग अनुदानमा ढुवानीको गाडी पाएको हुन्छ, त्यसको सही सदुपयोग गर्ने हो भने समस्या हुन्न,’उनले भनिन्,‘किसान र बजारको संयन्त्र बनाउनुपर्छ ।’

सोही बैठकले धरान प्रवेश गर्ने हरियो तरकारीहरु कृषि बजारमा अनिवार्य इन्ट्री गर्नुपर्ने निर्णय पनि गरेको छ । यसको लागि सुरक्षा निकायले सहयोग गर्ने भएको छ । बजार भाउ नियन्त्रण गर्नको लागि धरान आउने सबै तरकारी कृषि बजारमा इन्ट्री गर्नै पर्ने निर्णय गरिएको हो । धरानदेखि बाहिर जाने तरकारीका गाडीहरु पनि शिवधारा र तीनकुने दुवै नाकामा इन्ट्री गर्ने र गए नगएको अनुगमन गरिने पनि निर्णय भएको छ । ‘माग र आपूर्तिको सन्तुलन मिलाउनको लागि पनि यो निर्णय गरिएको हो, यसले पहाडी जिल्लामा कति तरकारी उत्पादन हुन्छ भन्ने पनि थाह पाइन्छ,’उपमेयर भण्डारीले भनिन् ।

कृषि बजारले हरेक दिन बिहानै त्यसदिनको हरियो तरकारीको प्रतिकिलो मुल्य तोक्ने गरेको छ । तर, सबै तरकारीहरु कृषि थोक बजारबाट कारोबार नभएकोले अन्य खुद्रा व्यापारीहरुले आफुखुशी भाउ तोकेर बिक्री गरिरहेका हुन्छन् । बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराई सबै तरकारी कृषि बजारमा इन्ट्री गरेर खुद्रा व्यापारीलाई बिक्री गर्ने प्रणाली विकास भए बजार भाउमा एकरुपता आउने बताउँछन् । हाल व्यापारीहरुले जथाभावीरुपमा तरकारी ल्याउने र मनपरीढंगले मुल्य लिएर बेच्ने गरेका छन् ।