धरान: सुविधा कम्पनीको ग्याँस लिक भएर धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गको खाजा पसलमा आगलागी भएको छ ।

आज बिहान करिब ५ बजे भएको घटनामा पसल सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते श्रेष्ठका परिवारका अनुसार नयाँ सिलिण्डर जडान गरेलगत्तै रेगुलेटरबाट नै आगलागी भएको थियो । धेरै क्षति हुन नदिन ग्याँसको सिलिण्डरलाई बाहिर निकाल्ने प्रयास गर्दा श्रेष्ठलाई आगोले पोलेको हो । श्रेष्ठको हात, अनुहार, टाउकोलगायतमा आगोले पोलेर उनी घाइते भएका छन् ।

gas4

श्रेष्ठकी पत्नी कविताका अनुसार आगलागीले पसलको सम्पुर्ण सामान जलेर क्षति पुगेको छ भने घरको संरचनामा पनि क्षति पुगेको छ । उनका अनुसार ४ लाख बढी जति क्षति भएको छ । घाइते श्रेष्ठले पनि अचानक सिलिण्डरको रेगुलेटरबाट आगो लागेको थियो । ‘नयाँ सिलिण्डर जोडेर बालेको थिए, बाहिर निस्केको मात्र थिए, भुलुक्क भयो । भित्र आगो बलिरहेको रहेछ,’उनले भने,‘तानेर बाहिर निकाल्दा आगोले भेट्यो ।’

ग्याँस कम्पनीले क्षतिपूर्ति दिनुपर्छ: वडाअध्यक्ष

gas7

वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले ग्याँस कम्पनीको लापरवाहीले आगलागी भएकोले कम्पनीसँग क्षतिपूर्ति दाबी गर्ने बताए । ‘ग्याँसकै कारणले क्षति भएको हो । सबैको घरमा ग्याँस हुन्छ, यसरी लापरवाही भयो भने ठुलो धनजनको क्षति हुन्छ,’अध्यक्ष गिरीले भने,‘कम्पनीले जिम्मेवारी लिनुपर्छ । स्थानीयको तर्फबाट दाबी गछौं ।’

gas3 gas1 gas6