धरान: फुटबल खेलाडी तथा धरान भेट्रान फुटबल क्लबका महासचिव बिक्रम राईको निधन भएको छ ।

धरान १२ चतरालाइन घर भएका करिब ४५ बर्षीय राईको आज बिहान उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा निधन भएको हो । उनको बिहान ७ बजे निधन भएको बताइएको छ । उपचारको लागि शुरुवातमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनलाई आइसियु चाहिने भएको र वीपीमा उपलब्ध नभएपछि नोबेल रिफर भएका थिए । वीपीमा पिसिआर जाँच गर्दा  रिपोर्ट नेगेटिभ आएको थियो ।

करिब एक साताअघि नोबेल लगिएका राईलाई त्यहाँ पिसिआर जाँच गर्दा भने रिपोर्ट पोजेटिभ देखिएको थियो । ‘उहाँको नोबेलमा मृत्यु भएको जानकारी आएको छ, रिपोर्ट पोजेटिभ आएको रहेछ,’स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने । मृतकको शवलाई नियमानुसार नेपाली सेनाको टोलीले व्यवस्थापन गरिसकेको छ।

मृतक राई धरान फुटबल क्लबका कार्यसमिति सदस्य पनि हुन् । उनले पुर्वाञ्चलको प्रतिनिधित्व गर्दै यु १६ उमेर समुह र ए डिभिजन लिग पनि खेलेका थिए । पछिल्लो समय उनी पोखरामा होटल व्यवसाय गर्दै आएका थिए । लकडाउन भएपछि भने उनी धरान आएका थिए । मृतक राई कांग्रेस नेता तथा एन्फा १ नम्बर प्रदेश अध्यक्ष किसोर राईका भाई हुन् । मृतकको श्रीमति र एक छोरी छिन् ।