धरान: धरान ८, शहिदरत्न मार्गमा ६८ बर्षीय कोरोना संक्रमित वृद्धको हिजो आइतबार दिउँसो करिब ३ बजेतिर निधन भएको थियो । वीपी प्रतिष्ठानबाट परिवारले घर ल्याएको केही समय पछि नै मृत्यु भएका उनको शव आज दिउँसो मात्र व्यवस्थापन भयो ।

झण्डै १८ घण्टासम्म ती वृद्धको शव घरमा नै रहेको थियो । नेपाली सेनाको शव व्यवस्थापन टोलीले आज दिउँसो मात्र घरबाट उनको शव लिएर गएको थियो । कोरोना संक्रमितको शव परिवार तथा आफन्तजनले अन्त्येष्टी गर्न पाउदैनन् । संक्रमण फैलनसक्ने उच्च जोखिम भएकोले प्रोटोकल अनुसार सेनाको शव व्यवस्थापन टोलीले मात्र शव व्यवस्थापन गर्ने गरिएको छ ।

हिजो नै साँझ करिब सवा ७ बजे धरान १९ मा पनि एक संक्रमित वृद्धाको मृत्यु भएको थियो । उनको पनि शव आज मात्र सेनाको टोलीले लिएर गयो । यस्तै, धरान ८ का थप एक जनाको आज बिहान करिब २ बजे तिर घरमा नै निधन भएको थियो भने धरान १५ मा पनि एक संक्रमितको आज बिहान निधन भएको थियो । यस्तै, वीपी प्रतिष्ठानमा पनि इटहरीका एक संक्रमितको निधन भएको थियो । आज दिउँसो सेनाको टोलीले ती ५ वटै शवलाई २ वटा शव वहानमा हालेर व्यवस्थापन गर्न लगेको थियो ।

शव व्यवस्थापन गर्ने नेपाली सेनाको टोली सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित सेनाले बनाएको क्वारेन्टिनमा बस्छ । त्यहाँबाट धरान आइपुग्न झण्डै एक घण्टा समय लाग्छ । कोही संक्रमितको मृत्यु भएपछि जनप्रतिनिधिमार्फत धरान उपमहानगरपालिकामा जानकारी गराएर स्वास्थ्य महाशाखाले सेनाको टोलीलाई लिन एम्बुलेन्स पठाउनुपर्छ । एम्बुलेन्स लिन गएर सेनाको टोलीलाई ल्याउदा नै समय लाग्ने गरेको छ । दिउँसो ३ बजे पछि कसैको मृत्यु भयो भने उसको शव भोलीपल्ट दिउँसो मात्र व्यवस्थापन हुन्छ ।

हिजो दिउँसो पनि झण्डै अढाई बजेतिर धरानमै शव व्यवस्थापन गरेर टोली फर्किसकेपछि धरान ८ का वृद्धको मृत्यु भएको थियो । त्यसैले उनको शव आज सोमबार मात्र व्यवस्थापन हुन सकेको हो । शव व्यवस्थापन गर्ने टोली सुनसरी जिल्ला भरि एउटा मात्र छ । त्यसैले एउटा टोलीले सबैतिर भ्याउनुपर्दा पन ढिलाई भइरहेको छ । शव व्यवस्थापनमा ढिलाई हुँदा स्थानीय तहका जनप्रतिनिधिहरुले समस्या भोगिरहेका छन् । बिशेष गरि धरानमा वीपी हस्पिटल पनि भएकोले यहाँ उपचारको क्रममा र धरानमै पनि होम आइसोलेसनमा मृत्यु हुने दर बढीरहेको छ ।

धरानका मेयर तिलक राई शव व्यवस्थापन गर्ने सेनाको टोली एउटा मात्र हुँदा समस्या भइरहेको बताउँछन् । साथै, धरानदेखि टाढा भोक्राहामा उक्त टोली बस्ने भएकोले आउदा र फर्किदा नै समय निक्कै लाग्ने गरेकोले पनि व्यवहारिक कठिनाई भइरहेको उनले बताए । ‘शव व्यवस्थापन सेनाले मात्र गर्ने प्रोटोकल छ, तर जिल्लाको लागि एउटा मात्र टोली भएकोले कठिनाई भइरहेको छ,’उनले भने । आफुले धरानमा शव व्यवस्थापनको टोली राख्नुपर्ने माग नेपाली सेना र जिल्ला प्रशासन कार्यालयमा गरे पनि सुनुवाई नभइरहेको उनले बताए । ‘धरानमा मृत्युदर बढीरहेको छ, वीपी हस्पिटल पनि यहाँ भएकोले धेरै उपचारको क्रममा मरिरहेका छन् । सेनाको टोली यही भयो भने छिटो शव व्यवस्थापन गर्न सकिन्छ भनेर यस्तो माग गरेको हो,’उनले भने ।

सुनसरीका सिडियो पनि शव व्यवस्थापनमा ढिलाई भइरहेको स्वीकार गर्छन् । तर, सेनाको टोली एउटा मात्र भएको र भोक्राहा क्वारेन्टिनमा बस्ने गरेकोले समस्या भइरहेको उनी बताउँछन् । ‘सुनसरीमा मृत्यु धेरै भइरहेको छ, त्यसैले शव व्यवस्थापनमा ढिलाई भइरहेको हो,’सिडिओ फडिन्द्रमणी पोखरेलले भने,‘सेनाको क्वारेन्टिन भोक्राहामा छ । सेनाको शव व्यवस्थापन टोली धरानमा राख्न अलग्गै सेनाको क्वारेन्टिन चाहिन्छ, त्यो छैन रहेछ ।’