धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित संघीय सांसद तथा प्रदेश १ सभाका प्रत्यक्ष निवार्चित र समानुपातिक सांसदहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुसँग कोभिड अस्पताल र उपचार सेवाबारे आवश्यक छलफल गरेका छन् ।

कोभिड अस्पताल पुर्णक्षमता अनुसार सञ्चालन हुन नसकेको, भेन्टिलेटेर ३ महिनामै बिग्रिएको र अक्सिजन पनि नहँुदा कोरोना संक्रमितहरुले घरमै ज्यान गुुमाउन थालेपछि गम्भीर चासो व्यक्त गर्दै संघीय र प्रदेश सांसदहरु आज बिहान प्रतिष्ठान पुगेका थिए । संघीय सांसद जयकुमार राई, प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सांसद तथा नेकपा नेता भिम आचार्य, सांसदद्धय सावित्री श्रेष्ठ, उमिता बराइलीले प्रतिष्ठानका पदाधिकारीहरुसँग ३ घण्टा लामो छलफल गरेका हुन् ।

नेकपा स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्जसमेत रहेका भिम आचार्यले कोभिड महामारीको बीचमा अस्पताल व्यवस्थापनमा भएका कमीकमजोरी तथा जनगुनासोबारे छलफल गरिएको बताए । प्रतिष्ठानले सुधार गर्ने प्रयत्न गरिरहे पनि परिणाम भने आइनसकेको पाइएको पनि उनले बताए । प्रदेशसभाका सांसदसमेत रहेका नेता आचार्यले कोभिड अस्पताल १ सय बेडको भएपनि अक्सिजन पाइपको अभावले ५५ बेड मात्र काम गरिरहेको जानकारी पाएको बताए । ‘डेडिकेटेट हस्पिटल सय बेडको रहेछ, तर अक्सिजन पाइप नहुँदा ५५ बेडमात्र काम गरिरहेकोले मान्छेले बेड नपाइरहेको अवस्था छ,’नेता आचार्यले भने,‘ ५ दिनभित्र थप ३० बेडमा पाइप पुर्याउने र १५ दिनभित्र सम्पुर्णमा पाइप जडान गरिसक्ने भनेर छलफलको निष्कर्ष निस्केको छ ।’

bp

भेन्टिलेटर र आइसियुको अभावलाई समाधान गर्नको लागि केही आइसियु थप गर्न १५ दिनभित्र प्रक्रिया अघि बढाउने पनि निष्कर्ष निस्किएको नेता आचार्यले बताए । साथै, किनेको भेन्टिलेटर १५ दिनभित्र ल्याएर जडान गरिसक्ने र द्रुतगतिले प्रक्रिया अघि बढाउने पनि समझदारी भएको उनले बताए । ‘महामारी पिकमा जाने खतरा छ, विश्व स्वास्थ्य संगठनले पनि मंसिर महिनामा पिकमा जान्छ भनेकोले अझ समस्या खडा हुनसक्छ,’आचार्यले भने,‘त्यसैले कोभिड बेड संख्या २ सय पुर्याउन, आइसोलेसनको संख्या २ सय पुर्याउने प्रक्रियको प्रस्ताव तयार गरेर अघि बढाउने र प्रदेश, संघीय सरकारमा पहल गर्न हामीले सहयोग गर्ने समझदारी भएको छ ।’

स्वास्थ्यकर्मीहरु नै संक्रमित भएकोले जनशक्तिको पनि समस्या भएको, थप उपकरण र सञ्चालन खर्च आवश्यक भएकोले आवश्यक स्टिमेट गरेर १५ दिनभित्र प्रक्रिया अघि बढाउने छलफलको निष्कर्ष छ । नर्सहरु पनि अतिआवश्यक भएकोले तुरुन्त माग गरेर प्रक्रिया अघि बढाउने निष्कर्ष आएको छ । ‘यहाँको व्यवस्थापकीय त्रुटीको कुरालाई तुरुन्त सुधार गर्ने । यहाँको बेडले नपुग्ने स्थिति बन्छ भने अन्त कुनै सरकारी कार्यालय, घरहरु छ भने रिजर्भकोरुपमा सोचिरहने, पछि चाहियो भने तुन्रुन्त २, ४ दिनभित्र व्यवस्थापन गरेर अघि जान सकिन्छ, त्यहाँ सेवा अस्पताल सरह ने हुनुपर्छ,’ नेता आचार्यले भने ।

bpkihs-ma-sansad1

कोभिड अस्पतालको भेन्टिलेटर बिग्रिएको सन्दर्भमा पनि प्रश्न गरिएको नेता आचार्यले प्रष्ट पारे । उनका अनुसार मेशिनरि सामान भएकोले बिजुलीको कारणले पनि बिग्रन सक्ने र प्रतिष्ठान भित्रैबाट कसैले व्यवस्थापनलाई असफल बनाउन पानी हालेको पनि हुनसक्ने आशंका गरिएको जानकारी दिइएको छ । ‘राम्रो व्यवस्थापन हुनुपर्छ, त्यो स्थिति नहोस् भनेर ध्यान दिनुपर्यो भन्यौं । अर्को कुरा बिग्रियो भने महिनौं चुप लागेर बस्ने होइन । आज बिग्रियो भने अहिल्यै बनाउन शुरु गर्नुपर्छ । त्यो त तत्काल चाहिन्छ, चाडो अघि बढाउनुस् भन्यौं,’ आचार्यले भने ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जनप्रतिनिधिहरुसँग कोभिड अस्पताल र त्यसको व्यवस्थापन, प्रदेश १ मा बढ्दो संक्रमणले निम्त्याएको चुनौतीबारे सौहार्दपुर्णरुपमा छलफल भएको बताए । ‘कोभिड अस्पतालमा अझै आइसियु क्षमता विस्तार गर्ने, भविष्यमा बढ्ने विरामीकोलागि प्रदेश र केन्द्रमा समन्वय गरेर सय बेडको निर्माणको खाका बनाएर पहल गर्ने, उहाँहरुले पनि प्रयास गर्ने भन्ने भयो,’रजिष्ट्रार रेग्मीले भने । कोभिड अस्पताल सय बेडको क्षमतामा सञ्चालन नभएकोबारेमा उनले स्पोशियालिटी अनुसार बेड छुट्याइएको हुनाले जनरल बेड संख्या मात्र गन्दा सय बेड नपुगेको दाबी गरे । ‘ स्पेशियालिटी अनुसार छुट्याइएको छ । त्यसैले जनरल बेडलाई मात्र गन्दा सय नपुगेको हो । अक्सिजन पाइपलाइन र प्लान्ट सुचारु गरेर क्षमता विस्तार गर्नेबारे पनि छलफल भयो,’रजिष्ट्रार रेग्मीले भने ।

भिडियो: