यमपञ्चकको तेस्रो दिन आज गाईतिहार र बलिपूजा गर्ने दिन हो। नेवार समुदायमा आजैका दिन म्ह पूजा गर्ने परम्परा छ।
सामान्यतया चौथो तिहारको रूपमा गाईतिहार मान्ने चलन भए तापनि यसपल्ट मंसिर १ गते प्रतिपदा तिथि १० मुहूर्तभन्दा कम भएकाले आज यमपञ्चकको तेस्रो दिन नै गाईपूजा र बलिपूजा गरिँदै छ।
गाईको धार्मिक महत्व
मानव सभ्यताको विकासमा गाईको ठुलो महत्व रहेको छ । गाईबाट प्राप्त हुने दुध, दही, घिउ, गहुँत, गोबर आदि वस्तुबाट प्राचीन कालदेखि नै मानिसले पौष्टिक आहार प्राप्त गर्दै आएको हो। कृषियुग सुरु भएपछि कृषि–उत्पादन वृद्धिका लागि गाईको गोबर र गहुँत मल र विषादि दुवै रूपमा प्रयोग हुन थाल्यो।
गोरुले जोतेर कृषिकर्ममा मानिसलाई ठुलो सहयोग पुग्यो । अरू कुनै खाद्यपदार्थ नभए पनि गाईका दुध, दही, घिउ खाएर मानिस सजिलै बाँच्न सक्छ । गाई जग्गा–जमिनजस्तो अचल वस्तु होइन, आआफू जहाँ जाने हो त्यहीँ लैजान सकिने चल वस्तु हो।
त्यसैले प्राचीन कालमा गाई सबैभन्दा महत्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो । अरू वस्तुको मूल्यांकन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो । भैँसी, बाख्रा आदिबाट प्राप्त हुने दुध, दही आदि वस्तुभन्दा गाईबाट प्राप्त हुने ती वस्तु बढी पौष्टिक हुने, गाई छरितो पनि हुने र गाईका सबै कुरा उपयोगी हुने भएकाले मानिसले गाईलाई बढी महत्व दिएको देखिन्छ।
गाईलाई संस्कृतमा गौ भनिन्छ । जानु अर्थ भएको गम् धातुबाट गौ शब्द भन्ने भएकाले शब्दकल्पद्रुममा गौ शब्दको यौगिक अर्थ बताउँदै स्वर्ग जाने साधन भएकाले गौ भनिएको भन्ने उल्लेख छ । गाईको बहुउपयोगितालाई दृष्टिगत गरी संस्कृतमा गाईको पर्यायवाची शब्द ‘माता’ भनिएको छ । आमाले आफ्ना सन्तानलाई दुध खुवाएजस्तै गाईले मानवलाई दुध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको हो । सम्मानका दृष्टिले पनि गाईलाई देवता मानेर आमालाई जस्तै सम्मान गर्ने संस्कृतिको विकास गरिएको छ ।
वेद, पुराण र धर्मशास्त्रमा गाईको निकै महिमागान भएको छ । संस्कृतको अथाह वाङ््मयमा कुनै न कुनै किसिमले गाईको महत्वबारे चर्चा नगरिएको ग्रन्थ पाउनै गाह्रो छ ।वैदिक संहितादेखि नै गाईको महिमाबारे चर्चा भएको पाइन्छ । ऋग्वेदमा ‘गो मे माता ऋषभः पिता’ भनेर गाईलाई आमा र गोरुलाई बुबा भनिएको छ । शुक्लयजुर्वेदको सुरु नै गाईको महिमागान गर्दै भएको छ । अथर्ववेदमा ‘यूयं गावो भेद कृशम्’ इत्यादि मन्त्रमा गाईका दूधले मानिस हृष्टपुष्ट र तेजस्वी हुने कुरा बताइएको छ।
सनातन संस्कृतिले गाईलाई जनावर होइन प्रत्यक्ष देवता मान्दछ । शास्त्रीय कथनअनुसार गाई लक्ष्मी हुन् । गाईका प्रत्येक अंगमा देवताहरूको वास हुन्छ । गाईका सिङका माझमा ब्रह्मा, निधारमा शिव, दुवै कानमा अश्विनिकुमार, आँखामा चन्द्रमा र सूर्य, कोखामा साध्यगण, घाँटीमा पार्वती, पीठमा नक्षत्रगण, जुरोमा आकाश, गोबरमा महालक्ष्मी र अष्ट ऐश्वर्य र स्तनमा समुद्रको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।
गाईका दुध, दही, घिउ, गहुँत र गोबरलाई गव्य भनिन्छ । सबै गव्य पवित्र हुन्छन् । पञ्चगव्य खानाले हाम्रो छालादेखि हड्डीसम्म सबैतिर रहेका पाप नाश हुन्छन् भन्ने मान्यता छ । गोबरले लिपेपछि अशुद्ध भूमि पनि शुद्ध हुन्छ ।
गहुँत छर्किनाले अपवित्र ठाउँ वा मानिस पवित्र हुन्छ । गाईका दुध–घिउमा पकाएको भोजन मानिसलाई मात्र होइन देवता र पितृका लागि पनि उत्तम भोजन हुन्छ । गाईको दान सबैभन्दा ठुलो दान मानिन्छ । गरुडपुराणमा गाई दान गर्नाले वैतरणी नदी सजिलै तर्न सकिन्छ भन्ने चर्चा आएको छ । भविष्यपुराणमा गाईलाई नमस्कार गर्दा गाईदानको फल मिल्ने बताइएको छ भने विष्णुपुराणमा गाईको प्रदक्षिणा गर्नाले सात द्वीपयुक्त पृथिवीको परिक्रमा गरेको फल मिल्ने कुरा बताइएको छ ।
यसरी जन्मदेखि मृत्युसम्मका सबै अपवित्रताबाट शुद्ध गर्ने र मृत्युपश्चात् पनि पारलौकिक सुख दिने प्राणीका रूपमा गाईको महिमागान गरिएको छ ।
गाईका यिनै विशेषताले गर्दा यसको पूजा गर्ने संस्कृतिको विकास भएको हो । कार्तिक कृष्ण औँसीमा लक्ष्मीपूजा गरिने र गाईलाई पनि लक्ष्मीकै रूप मानिने भएकाले लक्ष्मीपूजासँगै गाईपूजा गरिएको हो।
बलिपूजा
पौराणिक इतिहासअनुसार हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र बलि हुन् । उनी देवताका विरोधी थिए । इन्द्रलाई जितेर उनी देवलोकको राजा बने । देवताहरू आफ्नो अधिकारबाट वञ्चित भएकाले दुःखी भएर विष्णुका शरणमा गए । विष्णुले देवताहरूलाई बलिको अत्याचारबाट त्राण दिने वचन दिए । त्यसैअनुसार विष्णुले कश्यप र अदितिबाट वामन अवतार लिए।
एक समयमा बलि राजाले नर्मदा नदीका किनारमा भृगुकच्छ भन्ने ठाउँमा अश्वमेध यज्ञ गर्दै थिए, वामन त्यही यज्ञमा गए । वामनलाई सुन्दर ब्रह्मचारी देखेर बलि राजाले केही दान दिने इच्छा राखे । वामनले अरू केही नचाहिने तीन पाइला जमिन भए पुग्ने भनेर बलिसँग तीन पाइला जमिन मागे । बलि राजाले संकल्प गरेर जमिन दिए ।
तत्काल वामनले आफ्नो रूप विशाल बनाए र एक पाइलाले जमिन र हर्को एक पाइलाले आकाश ढाके । तेस्रो पाइलाका लागि ठाउँ नभएकाले बलिले आफ्नो शिर अर्पण गरे, वामनले त्यही स्वीकार गरे । बलिराजाको अहंकार चूर्ण गरेपछि वामनले उनलाई चिरञ्जीवी हुने र सावर्णि मनुका पालामा इन्द्र हुने वरदान दिएर सुतललोकमा पठाए ।
वामनरूप विष्णु भगवान्कै अनुमतिले प्रत्येक वर्ष कार्तिक कृष्णपक्षको यमपञ्चकमा बलि राजा मत्र्यलोकमा आउने उल्लेख छ । यसै आख्यानसँग नेपाली परम्पराको देउसी भैलोलाई पनि जोडिन्छ । जसअनुसार मत्र्यलोकमा आएका बलि राजासँग कुनै सम्पत्ति नभएकाले सहयोगीहरूलाई घरघरमा माग्न पठाउँछन् । तिनै बलि राजाका सहयोगीको अनुकरण गर्ने परम्परामा देउसी भैलो खेल्दा ‘हामी त्यसै आएका होइनौ, बलिराजाले पठाएर’ भनिन्छ भन्ने जनश्रुतिसमेत छ। यिनै बलि राजाको स्मरण र पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन गरिन्छ ।
म्ह पूजा
कार्तिक शुक्लपक्षको प्रतिपदाका दिन नेवार समुदायमा म्ह पूजा गर्ने चलन छ । म्ह भनेको शरीर हो र म्ह पूजा गर्नु भनेको आफ्नै शरीर र त्यसभित्र रहेको आत्माको पूजा गर्नु हो भन्ने मान्यता म्ह पूजाको देखन्छि ।
शरीरमा नै आत्मा अर्थात् चेतनाशक्ति रहन्छ । शरीर नै सबै धर्मको साधन हो । त्यसैले लामो आयुसम्म बाँचेर प्रशस्त पुण्य आर्जन गर्नका लागि शरीरको पूजा र सम्मान गर्नुपर्छ भन्ने मान्यताले यो पर्व मान्ने गरेको देखिन्छ ।
आज गरिने धार्मिक कृत्य
गाई तिहारका दिन गाई–गोरुको पूजा गरिने भएकाले बिहान नित्यकर्म सकेर पूजा–सामग्री लिई गाई–गोरुका नजिक गइन्छ । गाईका खुट्टा धोइदिने, सिङमा तेल लगाइदिने, नयाँ दाम्ला फेरिदिने गरेर सम्मान गरिन्छ । यसपछि चन्दन, अक्षता, पूmल, माला आदिले पूजा गरिन्छ र मिठा भोजन, नुन, पानी आदि दिइन्छ । यसरी गाईको पूजा गर्दा यो मन्त्र भनिन्छ—
लक्ष्मीर्या लोकपालानां धेनूरूपेण संस्थिता ।
घृतं ददाति यज्ञार्थे मम पापं व्यपोहतु ।।
गाई तिहारलाई ‘गाईलाई नुन दिने’ भन्ने चलन छ । अरू बेला गाईले नुन खान पाएनपाएको ख्याल नगरे पनि यस दिन अवश्य नुन दिनुपर्छ भनेर अरू खानेकुराका साथमा विशेष गरी नुन चटाइन्छ । यस दिन गाई हिँड्ने बाटो वारिपारि पारेर तोरण टाँग्ने र त्यसैमुनिबाट गाई हिँडाउने चलन पनि छ ।
गाई–गोरुको पूजा हुने भएकाले आज गोरुले जोत्ने वा श्रमको काममा लगाउने गरिँदैन, विश्राम दिइन्छ । सन्ध्या कालका नित्यकर्म गरेर बलि राजाको पूजा गरिन्छ । बलिको पूजामा पनि उपलब्ध पूजा सामग्रीले पूजा गरी बलिको प्रार्थना गरिन्छ । बलिको प्रार्थना गर्ने मन्त्र यो हो—
बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित ।
इन्द्रशत्रोऽमराराते विष्णुसन्निधिकारक ।।
आजको दिनमा शिव र पार्वती जुवा खेल्दा पार्वतीले जितेकी थिइन् भन्ने प्रसंग ब्रह्मपुराणमा आएको छ । त्यसैले आज जुवा खेल्ने चलन छ र जुवामा जसले जित्छ त्यसका लागि पूरा वर्ष शुभ हुन्छ भन्ने मान्यता रहेको छ।