धरान: विरामी भएर अस्पतालमा भर्ना भएका लोकगायक सुरेश गन्धर्वलाई धरानका चित्रकार एवं ललितकलाकर्मीहरुले आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् ।

आज दिउँसो कलाकारहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर गायक गन्धर्वको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै नगद हस्तान्तरण गरेका छन् । विदेशमा भएका ३ जना कलकारसहित धरानका २२ जनाबाट संकलन भएको ४२ हजार ६ सय ६६ रुपैया गायक गन्धर्वलाई हस्तान्तरण गरिएको अग्रज कलाकार महेन्द्र राईले जानकारी दिए । ‘हामीले उहाँको गीत सुन्दै हुर्किएको हो । उहाँ विरामी भएर अस्पतालमा भर्ना हुनुहुन्छ भन्ने सुनेपछि जीवन रक्षा गर्नुपर्छ भनेर सहयोग संकलन गरिएको हो,’कलाकार राईले भने । यो सहयोग रकम कलाकार राईसँगै फोटो पत्रकार सनम तामाङ, रोदुङ शिलालेखका प्रोपाइटर रमेश राईको पहलमा जुटेको हो ।

lokgayak

विरामी भएका लोकगायक गन्धर्वलाई रंगकर्मी विष्णु मोक्तान, नेकपा नेता चोत्लुङसहितको पहलमा अस्पताल भर्ना गरिएको थियो । आर्थिक अवस्था कमजोर भएका गायक गन्धर्वलाई मुटुरोग, प्रेसर, सुगरलगायत विभिन्न स्वास्थ्य समस्या रहेको छ । उनी सारङ्गी बजाएर गीत गाउदै जिविका चलाइरहेका थिए । तर, पछिल्लो समय स्वास्थ्यले पनि साथ नदिएपछि दैनिक गुजारा चलाउन पनि धौ धौ परिरहेको थियो । गायक गन्धर्वलाई अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएपछि उनलाई सहयोग पनि जुट्न थालेको छ । गायक गन्धर्वले गाएको रिन्केबुङको राँगोलाई...बोलको गीत सर्वाधिक चर्चित रहेको छ । यो गीत अहिले रमेश प्रसाईले गाएपछि थप चर्चामा आएको छ ।