धरान: पुर्वको प्रमुख पर्यटकीय गन्तव्य हो, साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार । यहाँका पर्यटन व्यवसायीहरुले अंग्रेजी नयाँ बर्षको स्वागतमा हरेक बर्ष फुड फेस्टिवल आयोजना गर्थे ।

नयाँ बर्ष मनाउने भारतीय पर्यटकहरुलाई लक्षित गरेर आयोजना हुने फुड फेस्टिवल यसपाली कोरोना महामारीको कारण हुन सकेन । नेपाल भारत सिमाना अझै पनि सिल नै छ । त्यसैले लक्षित पर्यटकहरु आउन नपाउने भएपछि भेडेटार होटल एशोसिएसनले पनि फेस्टिवल आयोजना गर्न उचित ठानेन । विगतका बर्षहरुमा खचाखच आउने भारतीय पर्यटकहरु यसपाली सन् २०२१ को स्वागतमा भेडेटारमा थिएनन् । तरपनि पर्यटन व्यवासायीहरु पुर्णरुपमा निराश भने छैनन् ।

भारतीय पर्यटकहरु आउन नपाए पनि न्यु इयर इभ र हिजो नयाँ बर्षको पहिलो दिन आन्तरिक पर्यटकहरुले भेडेटारका होटल तथा लजहरु भरिभराउ भएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दाली बताउँछन् । ‘बोर्डर नखुलेकोले भारतीय पर्यटकहरु आएनन्, तर होटलहरु २ दिन नै सबै भरिभराउ थियो,’उनी भन्छन्,‘भेडेटार आन्तरिक पर्यटकहरुको घुँइचो लागेकोले त्यति धेरै लसमा छैनौं ।’ यद्यपी उनले विदेशी पर्यटकहरु भित्रिन नपाउदा भने विगतमा जस्तो उत्साहजनक हुन नसकेको पनि बताए ।

bhedetar3

बोर्डर खुले पछि अनुकुल समय पारेर फुड फेस्टिवल गर्ने संस्थागत निर्णय भएको एशोसिएशनले जनाएको छ । सरकारी निकाय तथार स्पोन्सरहरुसँग यसबिषयमा छलफल एवं समन्वय भइरहेको पनि रुम्दालीले जानकारी दिए । उनका अनुसार भारतीय पर्यटकहरु नआएपनि भेडेटारमा आन्तरिक पर्यटकहरुको आउने क्रम बढ्दो भएकोले पुरानै लयमा पर्यटन फर्केको आभास भइरहेको छ ।

‘नयाँ बर्षको दिन मात्र होइन, शनिबार र छुट्टीको समय घुम्न आउने, पिकनिक आउने आन्तरिक पर्यटकहरुको घुँइचो छ, भारतीय पर्यटकहरु मात्र आएका छैनन्,’अध्यक्ष रुम्दालीले भने,‘धरान, इटहरी, विराटनगरलगायतबाट आन्तरिक पर्यटकहरु आइराखेका छन्, अब बोर्डर खुल्यो भने र सेमीनार, गोष्ठी गर्ने सहज परिस्थिति बन्यो भने पर्यटन पुरानै लयमा फर्कन्छ भन्ने आशा छ ।’

bhedetar2

एशोसिएशनका पुर्वअध्यक्ष लिलाराज लावतीका अनुसार हिजो शुक्रबार ४ हजारको हाराहारीमा पर्यटकहरु भेडेटार र आसपासको क्षेत्र घुम्न आएको अनुमान छ । कोभिडको खोप पनि बनेको र त्रास पनि कम हुदै गएकोकोले पर्यटन विस्तारै ट्रयाकमा आएको उनी बताउँछन् । ‘राजनीतिक माहोलले गर्दा मात्र के होला भन्ने छ, कोरोनालाई मानिसहरुले विर्सदै गएका छन्, खोप पनि बनेकोले आशा जागेको छ, ’उनले भने ।

फोहोर व्यवस्थापनमा स्थानीय तहको वेवास्ता

पर्यटकीय गन्तव्य भेडेटारको प्रमुख समस्यामा अहिले फोहोर व्यवस्थापन पनि देखिएको छ । स्थानीय तह(गाउँपालिका) र वडा कार्यालयले स्थान अभाव भन्दै फोहोरमैला व्यवस्थापनमा ध्यान नदिएको एशोसिएशनका पुर्वअध्यक्ष लावतीको आरोप छ । ‘फोहोर मैला व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिएको छैन,’उनले भने ।

लावतीको अनुसार हिजो अंग्रेजी नयाँ बर्षको दिन भएको फोहोरलाई स्थानीय बिल्डर्स एण्ड सप्लायर्स, यमन सुब्बाको नेतृत्वमा अस्थायीरुपमा फोहोर व्यवस्थापन गरिएको थियो । स्थानीय तहले नै दिर्घकालिन व्यवस्थापन गर्नुपर्ने भन्दै लावतीले वेवस्ता गरिरहे सातामा एक पटक स्थानीयस्तरबाट नै व्यवस्थापन कसरी गर्ने भनेर पनि छलफल हुने बताए ।