धरान: आजदेखि सरकारले दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर यो अभियानको शुरुवात हुनेछ । ज्येष्ठ नागरिकहरुलाई उच्च जोखिम हुनाले प्राथमिकता दिएर खोप लगाउने सरकारले निर्णय गरेको हो । सोही निर्णय अनुसार धरानमा पनि आजदेखि ६५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोरोनाविरुद्ध खोप लगाइने उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

कहाँ-कहाँ छ खोप केन्द्र ?

धरानमा विभिन्न ६ वटा स्थानमा कोरोनाविरुद्धको खोप केन्द्र बनाइएको छ । जसमा धरान १ छाताचोकस्थित पुरानो हस्पिटलमा पनि खोप केन्द्र छ भने साविक विष्णुपादुका गाविसलाई लक्षित गरेर वडा नं २० स्थित विष्णुपादुका हेल्थपोष्टमा पनि खोप केन्द्र तोकिएको छ । यस्तै, साविक पाँचकन्या गाविसलाई लक्षित गरेर वडा नं ५, ठिंगाबारीस्थित पाँचकन्या स्वास्थ्य चौकीमा पनि खोप केन्द्र रहने धरान उपमहानगरकी स्वास्थ्य महाशाखाकी नर्सिङ अधिकृत दिपा अधिकारीले जानकारी दिइन् ।

यस्तै, वडा नं ८ स्थित आधारभुत स्वास्थ्य केन्द्र, वडा नं १५ श्याम चोकस्थित आधारभुत स्वास्थ्य केन्द्र र वडा नं १७ रेल्वेस्थित शहरी स्वस्थ्य प्रर्वधन केन्द्रमा पनि खोप केन्द्र तोकिएको छ । अधिकृत अधिकारीका अनुसार शुरुवाती १० दिनमा ६५ बर्ष माथिकालाई खोप दिइनेछ । त्यसपछि ५५ बर्ष माथिका शिक्षक शिक्षिका, चालक र सहचालकहरुलाई पनि खोप लगाइनेछ ।

धरानमा ८ सय २ भाईल खोप आयो

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा ८ हजार २० जनालाई पुग्ने गरि ८ सय २ भाईल खोप आएको छ । धरानमा १२ हजार ५ सय ५९ जनालाई खोप लगाउने लक्ष्य रहेको पनि उनले बताए । सरकारले ६५ बर्षमाथिकालाई प्राथमिकता दिएर खोप लगाउने निर्णय गरेपछि ५५ बर्ष माथिका शिक्षक, चालक, सहचालकहरु आएमा पनि खोप लगाइदिने उनको भनाई छ । ‘सरकारको पछिल्लो निर्णय ६५ बर्षमाथिकालाई प्राथमिकता दिने छ, तर हामीले योजना बनाउदा ५५ बर्षमाथिका टिचर, चालक, सहचालकहरुलाई पनि लगाउने भनेका थियौं । उहाँहरु आउनु भयो भने पनि लगाइदिन्छौं,’मेहताले भने ।