धरान: दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समिति र धरानका मेयर तिलक राईबीच अनौपचारिक भेटवार्ता भएको छ । 

संघर्ष समितिले बिहिबार धरान १८ बुद्धचोकस्थित मेयर राईको घर घेराउ गर्ने चेतावनी दिएपछि हिजो बुधबारदेखि नै संयोजक हर्क साम्पाङसँग मेयर राईको भेट गर्ने पहल भइरहेको थियो । दुवै पक्ष लचिलो बनेपछि आज बिहिबार बिहान मेयर राई र संघर्ष समितिबीच अनौपचारिक भेटवार्ता भएको हो । उक्त भेट अनौपचारिक भनिए पनि संघर्ष समितिकोतर्फबाट विभिन्न ७ बुँदे माग पत्र मेयर राईलाई पेश गरिएको छ । 

उक्त मागहरुबारे धरान खानेपानी व्यवस्थापन बोर्डको संयोजकसमेत रहेका मेयर राईले एक साताभित्र लिखित जवाफ पेश गर्ने भएका छन् । भेटवार्तामा दुवै तर्फबाट आ आफ्नो कुरा राखिएको र माग पत्र दिइएको संघर्ष समिति संयोजक साम्पाङले बताए । ‘बल्ल मेयर साबसँग भेट हुन पायो । हामीले माग पत्र बुझाएका छौं, उहाँले ७ दिनभित्र लिखित जवाफ दिने भन्नु भएको छ,’साम्पाङले भने,‘हामी जवाफ पर्खन्छौं, र छिट्टै औपचारिक वार्ता हुन्छ भन्नेमा आशावादी छौं ।’ उनले वार्ता पुर्णरुपमा सफल नभएसम्म तालाबन्दी भएको बिल काउन्टर बन्द नै रहने पनि बताए । 

संघर्ष समितिले विभिन्न मागहरु राखेर आन्दोलन गर्दै आएको थियो । समितिले ती मागहरु लिएर ज्ञापन पत्र बुझाउन उपमहानगरपालिका जादा मेयर र उपमेयरले भेट नै दिएका थिएनन् । ज्ञापन पत्र बुझाउन जादा पनि भेट नदिएको भन्दै हर्क साम्पाङ नेतृत्वको संघर्ष समितिले आन्दोलन चर्काएको थियो । उनीहरुले उपमहानगरपालिकामा पटक पटक घेराउ र नाराबाजी गरेका थिए भने धरान १६ स्थित बिल काउन्टर एक सातादेखि बन्द गरेर धर्ना दिइरहेका छन् । ‘धेरै पटकको प्रयास पछि आज अनौपचारिक भेट भएको हो । हामीले ७ पटक त नगरपालिका घेराउ गर्दा पनि भेट गर्न आउनु भएन,’साम्पाङले भने ।

संघर्ष समितिको यस्तो छ मागहरु

संघर्ष समितिले मेयर राईलाई बुझाएको माग पत्रको पहिलो बुँदामा खानेपानी संस्थानको शाखालाई पुनः स्थापना गर्नुपर्ने उल्लेख छ । साथै, दीर्घकालिन खानेपानी आपूर्ति गर्न सप्तकोशीबाट पानी ल्याउने कार्यको थालनी गर्नुपर्ने पनि माग गरिएको छ ।

यस्तै, मर्मत सम्भार र स्रोत थप्ने कार्यमा एडिबि वा अन्य कुनै बैंकबाट थप ऋण ल्याउने कार्य नगर्न, उपभोक्तासँग सहमति नगरी एकलौटी ढंगले महशुल लागु नगरी निर्धारण आयोग(ट्यारिफ बोर्ड)ले तोकेको सरकार दरमा महशुल लागु गर्न पनि माग संघर्ष समितिले माग गरेको छ । यसैगरि, तत्कालको आवश्यकता पूर्ति गर्न खानेपानी संस्थानले गर्ने गरेको जस्तो ट्यांकरबाट ओसारेर निःशुल्क पानी वितरण गरी राहत दिन, ट्यांकरमा मनोमनीढंगले पानी बिक्री गरिरहेको निजी व्यवसायीहरुलाई नियमन गरी शुल्क घटाएर एकरुपता ल्याई मुल्य निर्धारुण गर्न पनि संघर्ष समितिको माग छ ।

ट्यांकर र जारमा पानी किनेर काम चलाइरहेका धरानबासीहरुले पानी किनेको प्रमाणित विल पेश गरे सो मुताबिकको पैसा फिर्ता गर्ने व्यवस्था गर्न पनि संघर्ष समितिको माग छ । साथै, ट्यांकर र जारमा पानी बेच्नेहरुले कहाँबाट गुणस्तरको पानी ल्याउदैछन् भन्ने अनुगमन गरि ग्राहकलाई बेच्दा अनिवार्य बिल उपलब्ध गराउने व्यवस्था गर्न पनि समितिको माग छ । 34