धरान: नगर क्षेत्रमा सक्रिय संक्रमितको संख्या २ सय नाघे पनि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले प्रशासनले लागु गरेको निषेधाज्ञा पुर्णरुपमा पालना गर्न नगरबासीहरुलाई आह्वान गरेका छन् ।

आज साँझ एक अपिल जारी गर्दै मेयर राईले छिमेकी मुलुक भारत र नेपालमै पनि कोभिड १९ को महामारीले अकल्पनीय क्षति भइरहेकोले संक्रमणविरुद्ध सचेत र सजग रहन आग्रह गरेका हुन् । पछिल्लो समय धरानमा २ सय बढी सक्रिय संक्रमित र एक जनाको निधनसमेत भइसकेको उल्लेख गर्दै मेयर राईले अपिलमा भनेका छन्,‘कोरोनाबाट बच्नका लागि हालै जिल्ला प्रशासन कार्यालय सुनसरीले लागु गरेको एक साताको निषेधाज्ञा पुर्णरुपमा पालना गर्न र गराउन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दछु ।’

बालक र वृद्धहरुले घरमै बस्ने र अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन आग्रह गर्दै मेयर राईले निस्कनै परे अनिवार्य नाक मुख छोपिने गरी मास्क लगाउन र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न आग्रह गरेका छन । यस्तै,साबुन पानीको प्रयोग गरि पटक पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै अत्यावश्यक कामको लागि घर बाहिर निस्कन पनि उनको अनुरोध छ ।

निषेधाज्ञाको बेलामा कुनै पनि सार्वजानिक स्थान र स्थलहरुमा भिडभाड भएको देखेमा आफैले सो भिडभाड हुन नदिन र प्रहरी प्रशासनलाई जानकारी गराउन पनि नगरबासीहरुमा मेयर राईको अपिल छ । यस्तै, नगरबासीमा कोभिड सम्बन्धी कुनै लक्षण देखिए नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न समेत उनले आग्रह गरेका छन ।

‘सम्पुर्ण नगरबासीहरु सबै स्वस्थ र सुरक्षित रहौं सबै मिलेर विश्वमा महामारीकोरुपमा फैलिएको यो कोभिडबाट धरान नगरीलाई जोगाउ र यसका निम्ति सबैले आ–आफ्नो स्थानबाट महत्वपुर्ण भुमिका निर्वाह गरिदिनुहुन समेत अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ । 

Tilak-Appeall