धरान: धरानका मेयर तिलक राईले शान्ति सुरक्षासँग जोडिएका पछिल्लो २ वटा घटनाबारे आफ्नो धारणा सार्वजनिक गर्दै अराजकता गराउने व्यक्तिहरुले प्रसय पाइरहेको बताएका छन् । 

धरान नागरिक दबाब सञ्जालसँग आइतबार उपमहानगरपालिका परिसमा भएको छलफलमा वीपी प्रतिष्ठानको बिषयसँगै धरान १५ को अस्थायी प्रहरी चौकी र सर्दु खोलामा भएको झडपबारे पनि कुरा उठे पछि मेयर राईले यस्तो धारणा व्यक्त गरेका हुन् । छलफलमा दबाब सञ्जालका संयोजक प्रा.डा.राजेन्द्र शर्माले चौकीमा आक्रमण गर्नेहरुले उन्मुक्ति पाउन नहुने भन्दै प्रशासनको भनाई सार्वजनिक गर्न माग गरेका थिए भने उपमहानगरले ठेक्का लगाएको सर्दु खोलाको उत्खनन् रोक्न जाने पक्षसँग झडप र घाइते भएको घटनामा उपमहानगरले आफ्नो धारणा सार्वजनिक नगरेकोप्रति प्रश्न गरेका थिए । साथै, एक पक्षका मान्छे मात्र हिरासतमा भएको र अर्को पक्षका मान्छेहरु खुलमखुल्ला हिडिरहेकोबारे पनि डा.शर्माले प्रश्न उठाएका थिए । 

सोही प्रश्नको जवाफ दिने क्रममा मेयर राईले धरानमा अराजकता गराउसने व्यक्तिहरुले प्रसय पाइरहेको धारणा राखेका हुन् । 'पछिल्लो समय धरानमा अराजकता गराउने व्यक्तिहरुले प्रसय पाइरहेको हो की ? त्यस्तो मनोवल बढीरहेको छ कि जस्तो देखिन्छ,' मेयर राईले भने । उनले प्रहरी चौकीमा आक्रमण भएको घटनामा संलग्नहरुलाई कानुन वमोजिम कडा कारबाही हुनुपर्छ भन्ने उपमहानगरपालिकाको धारणा रहेको पनि प्रष्ट पारे । 

xalfal1

उनले खोलाबाट ढुंगागिट्टी निकाल्नको लागि यसपाली विगत बर्षहरुमा भन्दा पारदर्शीरुपमा ठेक्का लगाएको दाबी गरे । 'यसपाली पारदर्शीरुपमा ठेक्का लगायौं, इ बिडिंग गर्यौं । त्यसमा कसैको मिलेमतो, सिण्डिकेट हुदैन,'उनले भने । खोला ठेक्का विवाद हुनुमा वन कार्यालयसँगको अधिकार क्षेत्र विवादले पनि मलजल गरेको मेयर राईको दाबी छ ।

'वन कार्यालयले वन क्षेत्र हो, लगाउन हुदैन भन्छ । उसलाई वन ऐनले अधिकार दिएको छ । स्थानीय सरकारलाई पनि संविधानले नै अधिकार दिएको छ । स्थानीय सरकारले खोला क्षेत्रको ठेक्का लगाउने र राजश्व संकलन गर्ने भन्ने छ,'मेयर राईले भने,'अधिकार क्षेत्रको दोहोरो स्वामित्व छ । वनको कारणले पनि यो घटना मलजल गरेको छ । जसले विरोध गरेको हो, उसले वन कार्यालयले पनि विरोध गरेको छ, भन्छ । तर हामीले अधिकार क्षेत्रभन्दा बाहिर गएर गरेको छैनौं । ठेक्काको पैसा प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त कोषमा जान्छ । वन कार्यालय प्रदेश सरकारकै मातहतमा हो ।' 

मेयर राईले विगतमा जिविसले आइइइ गर्ने गरेको र अहिले स्थानीय सरकारले गर्ने पनि प्रष्ट पारे । करिब ३, ४ महिना अघिदेखि ठेक्काको प्रक्रिया शुरु भएको उनले बताए । आइइइ गर्दा पनि टेण्डर गरेको र आइईई अनुसार खोला ठेक्का प्रक्रिया अघि बढेको मेयर राईले बताए । 'स्थानीय सरकारले खोला ठेक्का नलगाए पनि वरपरका बासिन्दाले उत्खनन् गरिराखेकै छन् । हामीले वैधानिक प्रक्रियाबाट आम्दानी बाँधेका हौं । हामीले लगाएको ठेक्कामा केही तलमाथि भएको छ भने नियमन गर्नुपर्छ, नियन्त्रण गुर्नपर्छ हामी त्यो गछौं,'उनले भने । 

xalfal2

मेयर राईले पछिल्लो समयमा हावादारी कुरा ल्याउने र सस्तो लोकप्रियता कमाउने प्रवृत्ति धरानमा बढेको भन्दै चिन्ता पनि प्रकट गरे । त्यसरी कुरा उठाए पनि त्यसको समाधान, निकास र नेतृत्व नभएकोले अराजकता मात्र सृर्जना हुने उनले बताए । 'एउटा प्रवत्तिले काम गरेको देखिन्छ, त्यो भनेको जे मा पनि हावादारी कुरा ल्याउने । सस्तो लोकप्रियताको लागि कुरा उठाउने, त्यसको समाधान पनि छैन, निकास पनि छैन, नेतृत्व पनि छैन,' मेयर राईले भने,'तर अराजकता सृर्जना गर्न कुरा उठाइदिने, त्यसको जवाफदेहिता पनि छैन । त्यो प्रवत्तिले काम गर्यो ।'

उनले हर्क साम्पांगको नाम नलिइकनै मंगलबारेमा महिला प्रहरी घाइते हुने गरि भएको घटना पछि प्रहरीलाई लक्षित गर्दै साम्पांगले फेसबुकमा हामी आउदैछौं, रोक्छस् भने रोक, हेल्मेट लगाएर आयज भन्ने खालको अराजकशैलीमा आह्वान गरेर महोल भड्काउने काम गरेको बताए । त्यसलाई समयमा नै नियन्त्रण नगर्दा दुःखद घटना भएको मेयर राईले बताए । 'जसले त्यो घटना सृर्जना गरे, त्यसको जवाफदेहिता को त ?,' उनले भने ।