धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत फ्याकल्टी, जेआर तथा विद्यार्थीहरुले विरोध र्याली निकालेका छन् । 

प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउदा फ्याल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा.विष्णु पोख्रेललाई स्पष्टीकरण सोधिएपछि हिजो मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन् । पहिलो दिन हिजो विरोध सभा गरेका उनीहरुले आज भने धरानमा विरोध र्याली निकालेका थिए । बिहानैदेखि पानी परिरहेको कारण चिकित्सकहरुले छाता आढेर र्याली निकालेका थिए ।

उपकुलपति कार्यालयअघि भेला भएका चिकित्सक तथा विद्यार्थीहरुले प्रतिष्ठानको मेन गेट, बुद्धचोक, शिवमार्ग हुदै डेन्टल कलेज पुगेर पुनः उपकुलपति कार्यालय अघि पुगेका थिए । मौषम अनुकुल भएमा भोली बिहिबार भानुचोकसम्म र्याली निकाल्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।

1

फ्याकल्टी वेल्फेयर सोसाइटीका महासचिव डा.एस.पी.रिजालले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनको कार्यक्रम यथावत रहने बताए । ‘वाक स्वतन्त्रतामाथि कसैले पनि अंकुश लगाउन सक्दैन । कसैले व्यक्तिगत लाञ्छना लगाउदा, चरित्रहत्या गर्दा स्पष्टीकरण सोधिनुपर्छ, तर कसैको निहित स्वार्थको लागि, कुनै व्यक्तिलाई दुःख दिने गरि स्पष्टीकरण सोधिन्छ भने त्यो कानुनको वर्खिलाप हुन्छ,’उनले भने । 

आन्दोलनरत चिकित्सकहरुले डा.पोख्रेललाई सोधेको स्पष्टीकरण फिर्ता लिन र सार्वजनिक माफी माग्न उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई दिएको २४ घण्टे अल्टिमेटम सकिसकेको छ। अझै पनि माग पुरा नभए आन्दोलनको घेरा बढ्दै जाने र भविष्यमा कामबाट बञ्चित हुनुपर्ने स्थिति पनि आउन सक्ने डा.रिमालले बताए ।