धरान: दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि मालपोत कार्यालय धरानको सेवा एक साताको लागि बन्द गरिएको छ । 

कार्यालयका प्रमुख गणेश कुमार खड्काका अनुसार साउन १३ गतेसम्मको लागि कार्यालयको सेवा बन्द गरिएको हो । यद्यपी उनले आन्तरिक प्रशासनिक कामहरु भने हुने बताए । प्रमुख खड्काले भने, '२ जना कर्मचारीमा पोजेटिभ देखियो, त्यसैले विभाग र जिल्ला प्रशासनसँग समन्वय गरेर सेवाग्राहीहरुलाई १३ गतेसम्म ७ दिनको लागि बन्द गरिएको हो ।'

कार्यालयका अनुसार कम्प्युटर अपरेटर र एक जना खरिदारलाई संक्रमण देखिएको छ । अन्य केही कर्मचारीहरुलाई पनि टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षणहरु देखिए पछि सेवाग्राहीलाई संक्रमण फैलन नदिन सेवा बन्द गरिएको प्रमुख खड्काले बताए । संक्रमण देखिएका दुवै कर्मचारी होम आइसोलेसनमा छन् ।