धरान: भदौ ४ गतेदेखि १३ गतेसम्म हुने भनिएको पुर्ण लकडाउन कस्तो होला ? सबैले पालना गर्लान् ? सामाजिक सञ्जालमा लकडाउनको पक्ष र विपक्षमा बहस जारी  छ ।

कोरोना संक्रमणको चेन ब्रेक गर्ने उद्देश्यले धरानमा १० दिन पुर्ण लकडाउन गर्ने निर्णय गर्दै कार्यपालिकाले डिसिसिएमसिलाई मंगलबार सिफारिश गरेको छ । अब सिडिओको अध्यक्षतामा हुने डिसिसिएमसि बैठकले निर्णय गरेपछि धरानमा लकडाउन हुनेछ । यो लकडाउनको बारेमा भने व्यापारी, व्यवसायीहरु असन्तुष्ट छन् भने राजनीतिक दलहरुबीचमै पनि एकमत छैन ।

सोमबार भएको सर्वपक्षीय, सर्वदलीय बैठकमा व्यापारी, यातायात व्यवसायी र मजदुहरुले लकडाउनको विपक्षमा उभिएका थिए भने विगतको आफ्नै निर्णय विपरीत माओवादी केन्द्रले पनि लकडाउन नगरी अन्य उपायहरु अपनाउनुपर्ने मत प्रकट गरेको थियो । अन्य दलहरुले भने लकडाउन आवश्यक भएको धारणा राख्यो । यद्यपी, कार्यपालिका बैठकले १० दिन धरानमा औषधी पसल र क्रेटमा दुध बिक्री गर्नेबाहेक सबै ठप्प पार्ने निर्णय गरिसकेको छ । कार्यपालिकाको यो निर्णय पश्चात मंगलबार पनि धरानका व्यापारी, व्यावसायीहरुले पुनः चर्को असन्तुष्टी प्रकट गरेका छन् ।

कोरोनाको पहिलो लहरको बेला अत्यन्तै कडा भएको लकडाउन दोस्रो लहरको बेला भने फितलो भएको थियो । धरानको मुख्य बजार क्षेत्र भानुचोक, छाताचोक, पुरानो बजारका पसलहरु मात्र बन्द भए । यसले पनि व्यापारी, व्यवसायीहरु असन्तुष्ट छन् । 

बस्तुगत व्यवसायीहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाउने

bastugat

कार्यपालिका बैठकले लकडाउन गर्ने निर्णय गर्दै जिल्ला सिसिएमसिमा सिफारिश गरेको सार्वजनिक भएपछि मंगलबार धरानका बस्तुगत व्यवसायीहरु भेला भए । उनीहरुले लकडाउनको बिषयमा छलफल गर्दै लकडाउन गर्न नहुने पक्षमा मत प्रकट गरेका थिए । सोही अनुसार लकडाउन गर्न नहुने भन्दै सुनसरी उद्योग वाणिज्य संघ मार्फत जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाउने निर्णय उक्त भेलाले गरेको छ । भेलाले जिल्ला प्रशासन र उपमहानगरपालिकाले विना कुनै योजना लकडाउन गर्न लागेको पनि ठहर गरेको छ ।

पहिलो दिनको अवस्था हेरेपछि अवज्ञा गर्ने वा नगर्नेबारे निर्णय

लकडाउनकै बिषयमा मंगलबार सुनसरी उद्योग वाणिज्य संघको पदाधिकारी बैठक पनि बसेको थियो । उक्त बैठकले लकडाउनको पहिलो दिन भदौ ४ गते संघले आफै अनुगमन गर्ने र पुरानै शैलीमा कतै बन्द, कतै खुल्ला भएको अवस्था पाएमा लकडाउन अवज्ञा गर्ने निर्णय गरेको छ । 

संघका अध्यक्ष गिरीधारी सापकोटाका अनुसार अनुगमन गर्नेबारे धरान उपमहानगरपालिका, जिल्ला प्रशासन, ईलाका प्रशासनलाई जानकारी दिइनेछ । ‘हामी आफै भदौ ४ गते अनुगमन गछौं, त्यो दिन कहाँ कहाँ कस्तो अवस्था छ भनेर हेछौं,’अध्यक्ष सापकोटाले भने,‘पुरानै शैलीमा लकडाउन भएको छ भने अवज्ञा गछौं ।’ उनका अनुसार दोस्रो लहर शुरु भएपछि गरिएको लकडाउन धरानको मुख्य बजार क्षेत्र भानुचोक, छाताचोक, पुरानो बजार मात्र बन्द हुने तर अन्यत्र खुला हुने, आवातजावत र भिडभाड पनि जारी थियो । यसपटकको लकडाउन पनि त्यस्तै भएमा व्यपारी, व्यवसायीहरुले अवज्ञा गर्ने उनले बताए ।

 अध्यक्ष सापकोटाले भने,‘सबै तिर ठप्पै बनाउने हो भने, कसैलाई हिडडुल गर्न नदिने हो भने ठिकै छ । नत्र, भानुचोक, छाताचोकको पसल मात्र बन्द गर्ने, अनि अरुतिर खुला हुने हो भने स्वकार्य हुदैन ।’ स्थानीय सरकारले लकडाउन गर्ने निर्णय गर्दा लकडाउन खुलेपछि दैनिक उपभोग्य वस्तु कसरी आपूर्ति गर्ने भनेर ध्यान नदिइएको पनि अध्यक्ष सापकोटाले बताए ।

धरानमा १० दिनसम्म लकडाउन हुँदा आपूर्ति हुन नपाएर ११ औ दिनमा बजार खुल्दा हाहाकार हुने उनको भनाईछ । विगतमा बजार अनुगमन तथा आपूर्ति समिति गठन भएको र संघले नै उद्योगी, व्यवसायीहरुलाई अभाव भएको सामान आपूर्ति गर्न समन्वय गर्ने गरेको पनि उनले खुलाए । वस्तुगत व्यवसायीहरुको भेलाबारे जिज्ञासा राख्दा अध्यक्ष सापकोटाले भने, ‘वस्तुगत संघहरुको बैठकमा अवज्ञा गर्ने भन्ने भयो रे, हामीलाई भोली बुधबार पत्र बुझाउदैछन्, त्यो पत्र जस्ताको जस्तै नगरपालिकामा पठाइदिन्छौं ।’

bastugat1