धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १० दिन कडा लकडाउन गर्ने निर्णय गरेको छ ।  

आज बसेको कार्यपालिका बैठकले भदौ ४ गतेदेखि १३ गतेसम्म कडा लकडाउन गर्ने निर्णय गर्दै डिसिसिएमसिलाई सिफारिश गरेको छ । उपमेयर मञ्जु भण्डारी सुवेदीका अनुसार यो लकडाउन अत्यन्तै कडा हुने र वडाका सबै संयन्त्र, जनप्रतिनिधिहरु परिचालन गरिने बताइन् । उनका अनुसार टोल टोलमा शंकास्पद व्यक्तिहरुको तथ्यांक संकलन गर्ने र पिसिआर परिक्षणको व्यवस्था गरेर पोजेटिभ देखिए आइसोलेसनमा राख्ने वा वीपी प्रतिष्ठानमा उपचारको लागि पनि समन्वय गरिनेछ । यो कार्यमा वडाका जनप्रतिनिधिहरुसँगै टोल विकास संस्थाहरु पनि परिचालन हुनेछ ।

लकडाउन अवधिमा औषधी पसल मात्र खोल्न पाइनेछ । बजार, पसल तथा यातायात सबै पुर्णरुपमा बन्द गर्ने निर्णय भएको छ । तरकारी पसल पनि बन्द गरिने उपमेयर भण्डारीले बताइन् । तर, दुध विरामीहरुलाई आवश्यक पर्ने भएकोले डेरी पसलमा अगाडि क्रेटमा मात्र राखेर बिक्री गर्न दिइने उनले बताइन् । अरु केही पनि बेच्न पाइदैन, दुध बिहानै आउछ, र दोकान अघि क्रेटमा मात्र राखेर बेच्न पाइन्छ, उनले भनिन्, तरकारी पनि यसपाली बेच्न नदिने निर्णय भएको छ । 

सर्वसाधारणहरुलाई ३ दिन आवश्यक सामान खरिद गर्न वा आफ्नो कार्यहरु सम्पन्न गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ । 'आवश्यक काम गर्न वा खरिद गर्न ३ दिनको समय दिएका छौं, यो लकडाउन हामीले जनताकै ज्यान जोगाउनको लागि गरेका हौं, संक्रमणको चेन ब्रेक गर्न आवश्यक परेकोले बाध्यता हो, 'उनले भनिन् ।