धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्ट औपचारिकरुपमा भारत सरकारले हस्तान्तरण गरेको छ । 

बिहिबार स्वास्थ्य मन्त्रालयमा एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उक्त प्लान्ट हस्तान्तरण गरेका हुन् । भारतले उपहार स्वरुप प्रतिष्ठानलाई अक्सिजन प्लान्ट दिएको हो । उक्त प्लान्ट प्रतिष्ठानको कोभिड अस्पतालमा निर्माण गरिएको छ । मन्त्री श्रेष्ठले सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरेका थिए । उनको कोभिड महामारीको बेला प्लान्टले अक्सिजनको मागलाई सहज बनाउने पनि अपेक्षा व्यक्त गरे । साथै, उनले भारत सरकारले खोप सहयोग गरेकोमा पनि आभार व्यक्त गरेका थिए । 

oxgy

उक्त समारोहमा प्रतिष्ठानको सिनेट हलबाट प्रतिष्ठानका तर्फबाट कन्फेरेनस कल मार्फत सहभागिता जनाइएको थियो । भारतीय राजदुतावासका तर्फबाट प्रथम सचिव( राजनीतिक) प्रियादर्शिनी आर, प्रतिष्ठानका तर्फबाट शैक्षिक डिन प्रा.डा. शिवेन्द्र झा, परीक्षा डिन प्रा.डा. श्याम थापा क्षेत्री, डेपुटी अस्पताल निर्देशक डा. दिव्यराज मिश्र, सहायक परीक्षा डिन डा. भावेष कोइराला, कोभिड अस्पताल प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्ल तथा कोभिड व्यवस्थापन टिमका सदस्य र अन्य कर्मचारीहरु सहभागी भएका थिए । उक्त भच्र्युअल समारोहमा प्रतिष्ठानका तर्फबाट डिन प्रा.डा. झाले स्वागत मन्तव्य गरेका थिए । उनले भारत सरकारलाई धन्यवाद दिंदै उक्त प्लान्टको निर्माणले कोभिडका विरामीका लागि प्रतिष्ठानको अक्सिजन आपूर्तिमा ठुलो टेवा पुगेको बताए । 

plant

यो प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको छ । प्लान्ट करिब अढाई करोड लगातको हो । प्लान्ट सञ्चालनमा आएपछि कोभिडका विरामीहरुलाई अक्सिजन अभाव नहुने प्रतिष्ठानको भनाई छ । यसबाहेक पनि प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर उत्पादन क्षमताको अर्को मुख्य अक्सिजन प्लान्ट छ । यो प्लान्टले कोभिड अस्पताल र वार्डहरुमा पनि अक्सिजन सप्लाई गर्नुपर्दा पर्याप्त हुदैन । प्लान्ट बेला बेला पुर्णक्षमतामा नचल्दा पनि कोभिडका विरामीहरुलाई अक्सिजन अभाव हुने गरेको गुनासो आउने गरेको छ । यही समस्या हल गर्न प्रतिष्ठानले केही समय अघि लिक्विड अक्सिजन ट्यांक पनि सञ्चालनमा ल्याइसकेको छ ।