धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा नयाँ अक्सिजन प्लान्ट जडान हुने भएको छ ।
भारत सरकारको अनुदान सहयोगमा नयाँ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र हिजो शुक्रबार राखिएको छ । अब कम्पनीको इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्न बाँकी रहेको सिभिल इञ्जिनियरीङ शाखा प्रमुख विकास बस्यालले जानकारी दिए । उनका अनुसार यो प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको छ । ‘हामीले पुर्वाधार तयार गरेको हो, प्लान्ट भारत सरकारबाट प्राप्त भएको हो,’बस्यालले भने ।
कसरी आयो प्लान्ट ?
भारत सरकारबाट नयाँ अक्सिजन प्लान्ट सहयोग आउनुमा रोचक प्रसंग छ । वीपीमा अध्ययनरत एक भारतीय विद्यार्थीले भारतीय दुतावासमा गुनासो गरेका थिए । सोही बिषयमा दुतावासका अधिकारीले प्रतिष्ठानका डिन डा.सिवेन्द्र झालाई सम्पर्क गरे । उनीहरुबीच निरन्तर सम्पर्क हुँदै गयो ।
भारतीय सहयोगमा निर्माण भएको वीपी प्रतिष्ठानलाई सहयोग गर्न डिन झाले ती अधिकारीसँग आग्रह गरे । उनकै समन्वयमा प्रतिष्ठान उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पनि दुतावासलाई सहयोगको लागि आग्रह गरे । प्रतिष्ठानले विभिन्न योजनाहरुको प्रस्ताव पनि पठाएको छ । सोही अनुरुप एक महिनाको बीचमा नै भारतबाट नयाँ अक्सिजन प्लान्ट सहयोग भएको डिन डा.झाले जानकारी दिए । ‘हामीले प्लान्ट आइपुग्दासम्म राख्ने ठाउँको व्यवस्थापन गर्नुपर्ने थियो, त्यो गर्यौं,’उनले भने,‘हामीले पठाएको प्रस्तावमध्ये अक्सिजन प्लान्ट आयो, अरुबारे पनि पहल भइरहेको छ ।’
कोभिडका विरामीलाई राहत
यो प्लान्ट करिब अढाई करोड लगातको हो । प्रतिमिनेट हजार लिटर उत्पादन क्षमता भएको यो आधुनिक प्लान्ट हो । प्लान्ट सञ्चालनमा आएपछि कोभिडका विरामीहरुलाई जीवन बचाउन सहयोगी हुने डिन झाको भनाई छ । ‘प्रेसर फुल आउछ, अक्सिजनको गुणस्तर पनि एकदमै राम्रो छ,’डिन झाले भने,‘अक्सिजनको प्रेसर लो नहोस् भनेरै इलेक्ट्रोमेड, भिसि सर, डाइरेक्टर, डेपुटी डाइरेक्टरसँग सल्लाह गरेर कोभिडमा राखिएको छ । कोभिड सकिएपछि पनि त्यहाँ आइसियु विस्तार गरेर उपयोग गर्ने भन्ने छ ।’
प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर क्षमताको अक्सिजन प्लान्ट छ । यो प्लान्टले कोभिड अस्पताल र वार्डहरुमा पनि अक्सिजन सप्लाई गर्नुपर्दा पर्याप्त हुदैन । प्लान्ट बेला बेला पुर्णक्षमतामा नचल्दा पनि कोभिडका विरामीहरुलाई अक्सिजन अभाव हुने गरेको गुनासो आउने गरेको छ । यही समस्या हल गर्न प्रतिष्ठानले केही समय अघि लिक्विड अक्सिजन ट्यांक पनि सञ्चालनमा ल्याइसकेको छ ।