धरान: मेयर तिलक राईले धरानलाई व्यापार व्यवसायले मात्रै अघि बढाउन सक्ने धारणा व्यक्त गरेका छन् ।

सुनसरी उद्योग वाणिज्य संघको ५८ औं बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मेयर राईले आइतबार यस्तो धारणा व्यक्त गरेका हुन् । उनले धरानलाई व्यापार, व्यवसायबाट मात्रै अघि बढाउन सकिने बताए पनि उद्योगहरुको संख्या भने कम रहेको पनि औल्याए । औद्योगिक क्षेत्र भए पनि पुर्ण क्षमतामा नचलेकोमा उनले चिन्ता पनि प्रकट गरे । मेयर राईले उद्योग, व्यापार तथा व्यवसायलाई पनि नयाँ ढंगले परिभाषित गर्नुपर्नेमा जोडदिए । 

मेयर राईले धरानको बजारलाई व्यस्थित गर्दै घरभाडाको बिषयमा छलफल र नियमन गर्न आवश्यक रहेको बताए । ‘मूल्यको हिसाबमा पनि हामीले सहजीकरण गर्ने हो भने धरानको बजार त्यस्तो अवस्थामा छैन, किनभने, क्रय शक्तिको हिसाबले धरानमा राम्रो स्थिति छ । त्यसलाई हामीले बुझेर अगाडी बढ्नुपर्छ,’ मेयर राईले भने । 

धरानमा व्यापारीलाई पनि फाईदा हुनेगरी र उपभोक्तालाई पनि फाईदा हुनेगरी काम हुन नसकेको मेयर राईको भनाई थियो । मेयर राईले व्यापार व्यवसायीहरुलाई पसलमा आएका ग्राहकहरुलाई निःशुल्क मास्क बाँड्न पनि आग्रह गरे । उपमहानगरपालिकाले सहकार्य गरेर मेडिकल (औषधी) पसलहरुसँग छलफल गरेर निःशुल्क मास्क वितरण गर्न आग्रह गरिने उनले बताए ।

शैक्षिक हब, स्वास्थ्य, धार्मिक र साँस्कृतिक पर्यटन

मेयर राईले धरानलाई शैक्षिक हबको साथै स्वस्थ पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटनकोरुपमा पनि अगाडि बढाउन सकिने बताए । पछिल्लो समय धरानका शैक्षिक संस्थाहरु राम्रो खुलेको कारण विदेशमा पढ्न जाने चलन हराउदै गएको बताए । उनले भने,‘आजभोली हाम्रो धेरै छोराछोरीहरु धरानकै स्कुल र कलेजहरुमा पढिरहेका छन् । एक दशक अगाडीसम्म धेरै भारतको दार्जिलिङ, सिक्किम, देरादुन, काठमाण्डौं लगायत ठाउँहरुमा अध्ययन गर्न जाने परम्परा थियो । अहिले त्यो परम्परा हराउँदै गएको छ । यो एउटा राम्रो पक्ष पनि हो ।’

udyog1

धरानलाई ‘स्वास्थ्य, शिक्षा, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, खेलकुद पर्यटन, साहसिक खेलकुद पर्यटन’को नारा दिएपनि यसलाई सार्थकता दिलाउन स्थानीय सरकार र उद्योग वाणिज्य संघबीच आवश्यक छलफल र सहकार्य हुन जरुरी रहेको पनि मेयर राईले बताए । उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिका र उद्योग वाणिज्य संघको सहकार्यमा धेरै क्रियाकलापहरु भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताइन् । कोरोनाका कारण व्यापार व्यवसायी धरासयी बन्दै गएको अवस्थामा पनि उद्योग वाणिज्य संघले उपमहानगरपालिकालाई सहयोग गरिरहेको उनको भनाई थियो ।

संघका अध्यक्ष गिरीधारी सापकोटाले वस्तुगत व्यवसायी र उद्योगी व्यवसायीहरु मास्क, सेनिटाईजर, सामाजिक दुरी अनिवार्य पालना गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरे । उनले व्यक्तिगत केही स्वार्थ नलिई सामाजिक काम गर्न पनि ध्यानाकर्षण गराएका थिए । धरानमा बजार अनुगमन गर्दा अधिकांश मानिसहरुले मास्क प्रयोग नगरेको भेटिएको उनले बताए । उपमहानगरपालिकासँग निरन्तर सहकार्य गरेर अघि बढ्ने बताउँदै अध्यक्ष सापकोटाले यसवर्ष उपमहानगरपालिकाले २५ प्रतिशत छुट दिएको जानकारी दिए ।