धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी तथा कर्मचारीहरुले आजदेखि सेवा बहिष्कार गर्ने भएका छन् ।

उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन कडा बनाउदै आजदेखि इर्मजेन्सी र कोभिड अस्पतालको सेवाबाहेक अन्य सबै सेवा बहिष्कार गर्ने भएका हुन् । यो आन्दोलनले प्रतिष्ठानको ओपिडी सेवा ठप्प हुनेछ । प्रतिष्ठानमा असार १ गतेदेखि संयुक्त संघर्ष समितिले सुद्धिकरण आन्दोलन जारी राखेको छ । अनियमितता, बेथिती बढेको भन्दै उनीहरुले पदाधिकारीहरुको राजिनामा र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको एक महिना बितिसकेको छ भने आन्दोलनकर्मीसँग स्वास्थ्य मन्त्रालयले सम्झौता गरेको पनि आज १ महिना पुरा भएको छ । तर, सरकारले कार्यदलको प्रतिवेदनले दोषी औल्याएका पदाधिकारीहरुलाई कारबाही गर्न चासो देखाएको छैन । सरकारले छानबिन मात्र गर्ने र प्रतिवेदन कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्याएको कारण आन्दोलनलाई थप कडा बनाउनुपरेको संघर्ष समितिले जनाएको छ । 

समितिका संयोजक डा.एसपी रिमालले सरकारले प्रतिवेदन र सहमति कार्यान्वयन गनृ उदासिनता देखाएको कारण काम छोडेर आन्दोलन गर्न बाध्य भएको बताए । यद्यपी, आकस्मिक सेवा, कोभिड अस्पतालको सेवा र पुर्वनिर्धारित परीक्षा भने सुचारु नै हुने उनले प्रष्ट पारे ।