धरान: भारतको सिक्किममा आयोजित ४० किलोमिटर खुल्ला साइकल रेसमा महिलातर्फ ट्रायथलन धरानकी खेलाडी इन्द्रकला नेम्बाङ(निक्की) प्रथम भएकी छिन् ।

राष्ट्रिय एकता दिवस तथा नाम्चीस्थित भाइचुङ भुटिया स्टेडियमको उद्घाटन अवसरमा आयोजित साइक्लथन ४० किलोमिटर रेसमा निक्की प्रथम भएकी हुन् । उनले १ घण्टा ५१ मिनेटमा महिलातर्फ प्रथम हुदै भारतीय रुपैया ५० हजार पनि हात पारिन् । उनले नगदसँगै प्रमाण पत्र र ट्रफी पनि पाइन् । 

सोही प्रतियोगितामा धरानकी खेलाडी अनिता राई दोस्रो भइन् । उनले भारतीय रुपैया ३० हजार, ट्रफी र प्रमाणपत्र हात पारिन् । यस्तै, महिलातर्फ इटहरीकी खेलाडी बिडिसा चौधरी तेस्रो भइन् । उनले भारतीय रुपैया २० हजार, ट्रफी र प्रमाणपत्र पाइन् । 

सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ ट्रायथलन धरानका खेलाडी किरण लिम्बु दोस्रो भए । उनले पनि भारतीय रुपैया ३० हजार, ट्रफी र प्रमाणपत्र पाए । महिलातर्फ इन्द्रकुमारी तामाङ(इशा) पाँचौ हुँदै १० हजार भारु पुरस्कार पाइन् भने पुरुषतर्फ इटहरीका ट्रायथलन खेलाडी आकाश चौधरीले नवौं स्थान हुँदै १० हजार भारु पुरस्कार पाए । प्रतियोगितामा टप १० भित्र पर्ने खेलाडीहरुलाई १० हजार भारु पुरस्कार दिइएको थियो ।

यसैगरि, २१ किलोमिटरको हाफ म्याराथन पनि आयोजना गरिएको थियो । उक्त हाफ म्याराथनमा कर्णाली स्पोर्टस् क्लब जुम्लाका खेलाडी प्रकाश कठायत आठौ र महिलातर्फ राममाया बुढा चौथो भएकी थिइन् । दुवैले भारतीय रुपैया १० हजार पुरस्कार पाएका थिए । ट्रायथलन खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउन धरान १८, देवीथानस्थित साइकल ल्याब एण्ड आउटडोर माउण्टेन बाइक शोरुमले स्पोन्सर गरेको थियो । 

ट्रायथलन खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउन धरान १८, बुद्धचोकस्थित साइकल ल्याब एण्ड आउटडोर माउण्टेन बाइक शोरुमले स्पोन्सर गरेको थियो । साइकल ल्याबका प्रोपाइटर डा.समिर चौधरीले धरानको लागि मात्र नभै नेपालकै खेल क्षेत्रको लागि उपलब्धी भएको प्रतिक्रिया दिदै भविष्यमा ट्रायथलनको प्रशिक्षण केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए ।