धरान: धरान ९ स्थित भविष्य वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक सम्पर्कविहिन भएपछि वचतकर्ता सर्वसाधारणहरु पैसा फिर्ता पाउन आशामा उपमहानगरपालिका र प्रहरी कार्यालय धाउन बाध्य छन् । 

दुःख गरेर जोहो गरेको पैसा दैनिकरुपमा वचत गरेको तर आवश्यक पर्दा भने फिर्ता पाउन नसकेको वचतकर्ताहरुको गुनासो छ । हाल सहकारीको सञ्चालक नै सम्पर्कविहिन भएपछि आफ्नो वचत फिर्ता नहुने हो कि भन्ने चिन्ताले उनीहरुलाई सताएको छ । आफ्नो पैसा फिर्ता पाउने आशामा पासबुक बोकेर सयौंको संख्यामा वचतकर्ताहरु धरान उपमहानगरपालिका र ईलाका प्रहरी कार्यालयमा धाइरहेका छन् । तर, सहकारीका सञ्चालकहरु सम्पर्कमा नआउदा उनीहरु चिन्तित छन् । भविष्य सहकारीमा वचतकर्ताहरुको करिब १ करोड हाराहारीमा वचत रकम फिर्ता पाउनुपर्ने अनुमान गरिएको छ । 

bhawisya1

आइतबार पनि वचतकर्ताहरु प्रहरी कार्यालय र नगरपालिका गएका थिए । स्थानीय सरकारले राम्रो अनुगमन गरेर कडाई नगर्दा मजदुर, गरिखानेहरुको वचत डुब्ने अवस्थामा पुगेको वचतकर्ता प्रदिप मगरले बताए । अहिले सञ्चालकहरु गायब भएको र निक्षेप संकलनकर्ताहरु मात्र भेटिने गरेको उनले बताए । अर्का वचतकर्ता धरान १७ की सुमित्रा राईले दिनको सय रुपैयाको दरले दशैंमा निकाल्ने भनेर वचत गरेको तर पैसा फिर्ता पाउन नसकेको उनले बताइन् । 

सञ्चालक गायब हुँदा कलेक्टरहरु तनावमा

सहकारीको सञ्चालकहरु सम्पर्कविहिन हुँदा वचत संकलनकर्ता(कलेक्टर)हरु पनि तनावमा छन् । वचतकर्ताहरुले अहिले संकलनकर्ताहरुलाई पैसा फिर्ताको माग गर्दै निरन्तर ताकेता एवं दबाब दिइरहेका छन् । जसले गर्दा उनीहरु तनावमा छन् । 

bhawisya2

एक जना वचत संकलनकर्ता युवतीले करिब ४ महिनादेखि सञ्चालक तथा अध्यक्ष इन्द्र लिम्बू कार्यालयमा नआउने र सम्पर्कविहिन भएको जानकारी दिइन् । उनका अनुसार संकलनकर्ताहरुले पनि विगत ३ महिनादेखि तलब पाउन सकेका छैनन् । ‘फोनमा मात्र कुरा हुन्थ्यो, पैसा पठाइदिन्छु भन्ने तर पठाइनै दिनुभएन,’उनले भनिन्,‘हामीले खाएको होइन, तर तिर्नुपर्छ भनेर दबाब आइरहन्छ । एकदमै तनावमा छौं ।’ उनका अनुसार एक जना संकलनकर्ताले १५, २० लाखसम्म पनि रकम संकलन गरेका छन् । आफुहरुले नियमितरुपमा नै संस्थामा पैसा जम्मा गरेको र त्यत्रो रकम तिर्न पनि नसक्ने उनको भनाई छ ।

उपमहानगरले प्रहरीलाई कारबाही गर्न पत्राचार गर्ने

bhawisya3

यता, उपमहानगरपालिकाले सहकारी ऐन अनुसार आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार गर्ने जनाएको छ । पीडित वचतकर्ता अध्यक्ष सम्पर्कमा नआएको भनेर निवेदन दिएको र कलेक्टरहरुले पनि निवेदन दिएका थिए । उपमहानगरले दिनेश श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको तर छानबिनको क्रममा सहकारीका अध्यक्ष सम्पर्कमा नआएको आर्थिक विकास महाशाखा अन्तर्गतको सहकारी शाखाकी कर्मचारी हेमा थलङले जानकारी दिइन् । उनका अनुसार पछि सहकारीका अध्यक्ष सम्पर्कमा आएर तिहार अघिसम्म हिसाब किताब मिलाउने समय माग गरेका थिए । तर, अझै पनि हिसाब नमिलाएको कारण प्रहरीलाई आवश्यक कारबाहीको लागी पत्राचार गर्ने उनले बताइन् । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले सहकारीका वचतकर्ताहरु आज (आइतबार) प्रहरी कार्यालयमा आएपनि निवेदन भने नदिएको बताए । पीडित वचतकर्ताहरु जाहेरी लिएर आउने भनेर गएको तर लिएर नआएको उनको भनाई छ ।