धरान: जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता अशोक राईले प्रदेश १ को नाम पहिचानमा आधारित किरात लिम्बुवान राख्नुपर्ने बताएका छन् । उनले नामकरण गर्दा किरात लिम्बुवानसँगै शेर्पालुङ पनि थप्न सकिने धारणा राखे ।

आइतबार पत्रकार महासंघ सुनसरीको धरायन १३ स्थित कार्यालयमा पत्रकार भेटघाट गर्दै नेता राईले प्रदेशको नामकरण प्रदेशसभाबाट हुने भएपनि आफ्नो पार्टी पहिचान जनित नाम राख्नुपर्छ भन्नेमा प्रष्ट रहेको बताए । उलने भने,‘पहिचानजनित नाम राख्नुपर्छ, सँस्कृति र इतिहास झल्कनुपर्छ । किरात लिम्बुवान वा लिम्बुवान किरात राख्नुपर्छ, त्यसमा शेर्पालुङ पनि थप्न सकिन्छ ।’

आफ्नो पार्टी १० प्लस १ प्रदेशको मान्यतामा दृढ रहेको भन्दै नेता राईले कोशी वा सगरमाथा नामकरणको भने विरोध गरे । यी नाम पञ्चायतको प्रतिक भएको भन्दै उनले भने, ‘कोशी, सगरमाथा पञ्चायतकालको प्रतिक हो, त्यसलाई बोकेर हिड्ने कुरा भएन । हाम्रो पार्टी त्यसको पक्षमा छैन ।’

'राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले धोका दिएको होइन'

वरिष्ठ नेता राईले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार पराजित भएको प्रश्नमा गठबन्धनले नभै मतदाता रहेका जनप्रतिनिधिले धोका दिएर हराएको प्रतिक्रिया दिए । उनले निर्वाचनमा गठबन्धनले इमान्दारितापुर्वक काम गरेको तर मतदाता रहेकाहरुले भने इमान्दाररितापुर्वक भोट नहालेको बताए । ‘गठबन्धनले इमान्दारितापुर्वक काम गर्यो, तर मतदाताहरुले इमान्दारितापुर्वक भोट नहालेको देखिन्छ । पार्टीको ह्विप नमानेर अनुशासन उल्लंघन भएको देखिन्छ,’उनले भने,‘यो घटना समग्रमा गठबन्धनप्रति प्रश्न उठाउनुपर्ने वा विश्वासघात भयो भन्नुपर्ने देखिदैन ।’

'आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त'

ashok-rai 1

वरिष्ठ नेता राईले आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य सर्त रहेको उल्लेख गर्दै आगामी जेठमा चुनाव भए आपत्ति नहुने बताए । तर उनले संविधान र ऐन बाँझिन नहुने बताए । संविधान र ऐनको विवाद निरुपण हुनुपर्ने भन्दै उनले नेताहरुको अयोग्यताको प्रतिफल नै यो अवस्था आएको पनि बताए । 

'एमसिसिको राष्ट्रहित विपरीत बुँदा संशोधन हुनुपर्छ'

नेता राईले एमसिसिबारे पार्टीभित्र छलफल नभएकोले पार्टीको आधिकारिक धारणा नभए पनि आफु एमसिसिमा भएको राष्ट्रहित विपरीतको बुँदाहरु संशोधन हुनुपर्ने पक्षमा रहेको बताए । उनले मित्रराष्ट्रले दिएको अनुदानप्रति सकरात्मक रहेको तर के कस्ता सर्त, बन्देज छन् भनेर ख्याल गर्नुपर्ने पनि बताए । 

नेता राईले एमसिसिमा भएको बौद्धिक सम्पत्तिको हकमा अमेरिकाले एकलौटी गर्ने भन्ने बुँदा संशोधन गरेर नेपालको पनि हक स्थापित गर्नुपर्ने बताए । यस्तै, एमसिसिका कर्मचारीहरुलाई फौजदारी अपराध गर्दा नेपालको कानुन नलाग्ने र अमेरिकाको मात्र लागु हुने बुँदा पनि संशोधन गरिनुपर्ने धारणा राखे । ‘ती सर्त, बन्देजहरु नेपालको कानुनसँग बाझिने गरि भए एमसिसिको लागु हुने भन्ने पनि छ, यो पनि संशोधन हुनुपर्छ । नत्र संसदबाट पास गर्दैनौं,’उनले भने ।

'गठबन्धन सँस्कृति विकास गर्नुपर्छ'

नेता राईले अब नेपालको राजनीतिक प्रणालीमा गठबन्धन सँस्कृति विकास गर्नुपर्ने बताए । नेपालको निर्वाचन प्रणाली गठबन्धन बनाएर जानुपर्ने खालको भएको भन्दै उनले अहिलेको सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा पनि निरन्तरता पाउने बताए । उनले स्थानीय तह निर्वाचनमा सम्भव भएसम्मको ठाउँहरुमा गठबन्धन गर्ने पनि बताए । ‘स्थानीय तह निर्वाचनमा सिट मिलाउन सहज हुदैन, धेरै उम्मेदवारहरु हुन्छन् । तरपनि सहमतिपुर्वक उम्मेदवारी दिएर जाने प्रयत्न गछांै,’उने भने,‘हाम्रो गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म जारी राख्छौ ।’

भिडियो: