धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई नेपालका नम्बर १ गल्फर हुन् । सुर्य नेपाल गल्फ टुरको पछिल्लो ३ उपाधि जितेका उनले भारतमा पनि आफुलाई अब्बल खेलाडी सावित गरेका छन् ।

भारतको गुजरातमा आयोजित टाटा स्टिल प्रोफेस्नल गल्फ टुर अफ इण्डिया २२ क्वालिफाइ स्कुलमा १३ औं स्थान बनाउदै शुक्रले इण्डिन गल्फ टुरको लागि फुल कार्ड पाएर छनौट भएका हुन् । अब उनले भारतमा हुने सबै प्रोफेस्नल गल्फ पिजिटिआई(प्रोफेस्नल गल्फ टुर अफ इण्डिया) प्रतियोगिता खेल्न पाउनेछन् ।

गुजरातको अहमदाबादस्थित कलहार ब्लुज एण्ड ग्रिन गल्फ क्लबमा ४ दिनको प्रतियोगितामा शुक्रले कुल ४ ओभर २९२ स्कोरको कार्ड बनाए । उनले पहिलो दिन ४ ओभर ७६, दोस्रो दिन ३ ओभर ७५ र तेस्रो दिन १ ओभर ७३ स्कोर खेले भने हिजो (शुक्रबार) फाइनल दिनमा ४ अण्डर ६८ को उत्कृष्ट खेल प्रर्दशन गरेपछि १३ औं स्थानमा रहे ।

हाल अहमदावादमा नै रहेका खेलाडी शुक्रले अब त्यही कोर्षमा हुने २ वटा प्रोफेस्नल प्रतियोगिता खेलेर मात्र फर्कने बताए । उनले भने,‘यही २ वटा प्रतियोगिता हुदैछ, त्यो खेलेर मात्र म मार्च ५, ६ तारिख तिर फर्कन्छुँ ।’

फेसबुक मेसेन्जरमार्फत सम्पर्कमा आएका उनले टप ४० भित्र परेर फुल कार्ड पाउने लक्ष्य पुरा भएको भन्दै खुशी व्यक्त गरे । ‘टप ४० भित्र पर्ने लक्ष्य थियो, पुरा भयो । खुशी छुँ,’उनले भने । 

अब उनी भारतको पिजिटिआईको खेलाडी सुचीमा ६० भन्दा माथि पुगे मात्र पुनः अर्को बर्ष २०२३ को लागि प्रि क्वालिफाई खेल्नुपर्ने हुन्छ । उनी ६० भन्दा कम खेलाडी सुचीमा कायम भने प्रि क्वालिफाई नखेली नै भारतको प्रोफेस्नल गल्फ प्रतियोगिताहरु खेल्न पाउनेछन् । 

sukra