विराटनगर: प्रदेश नंं. १ सरकारले प्रदेश नामकरणका लागि मंगलबार सर्वदलीय बैठक गरेको छ ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितको सर्वदलीय बैठक मुख्यमन्त्री कार्यालयमा आयोजना गरिएको थियो । प्रदेश नं.१ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको बैठकमा नामकरणबारे सत्ता गठबन्धनमै मतभेद देखिएको छ । दलका नेताहरुले पहिचानको पक्षमा बताए पनि नाम के राख्ने भन्ने बिषयमा प्रष्ट धारणा राखेनन् । सत्ता गठबन्धन दलका नेताहरुले पनि आ आफ्नै अडान राखेका थिए ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश नं. १ को नामकरणको मुख्य जिम्मेवारी व्यवस्थापिकाको भए पनि सरकारका तर्फबाट सहजीकरणको सुरुवात गरिएको बताए । उनले प्रदेशको नाम टुंगो लगाउने सवालमा सत्तापक्ष र प्रतिपक्ष भनेर विभाजित हुन आवश्यक नभएको धारणा राखे ।
सर्वदलीय बैठकमा नेकपा एमालेका तर्फबाट प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी अध्यक्ष बलदेव चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेनले आ–आफ्ना दलका तर्फबाट धारणा राखेका थिए । बैठकमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. १ इञ्चार्ज घनेन्द्र बस्नेत, नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता राजीव कोइरालाले पनि बोलेका थिए ।