धरान: आगामी चैत २६ गतेदेखि हुने २३ औं अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले दिने भएको छ ।
आयोजक धरान फुटबल क्लबका अनुसार प्रतियोगिताको लागि कुल १८ लाख रुपैया बजेट उपमहानगरपालिकाले विनियोजन गरेको छ । त्यसमध्ये १० लाख पहिलो पुरस्कार र ५ लाख दोस्रो पुरस्कारको लागि हो । बाँकी ३ लाख रुपैया धरानको टिम तयारीको लागि खर्च गर्ने गरि उपमहानगरले उपलब्ध गराउने निर्णय गरेको क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए ।
अध्यक्ष राईका अनुसार क्लबको बिशेष अनुरोधमा उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो । उनले उपमहानगरलाई २५ लाख माग गरेपनि १८ लाख रुपैयाको निर्णय भएको बताए । अध्यक्ष राईले भने,‘धरानको प्रतिष्ठाको लागि मात्र होइन, फुटबलको भविष्यको लागि पनि २५ लाख माग गरेका थियौ, तर १८ लाख पायौं ।’
अध्यक्ष राईका अनुसार उपमहानगरपालिकालाई १५ लाख पहिलो र दोस्रो पुरस्कारको लागि माग गरिएको थियो भने ५ लाख व्यक्तिगत पुरस्कारको लागि र ५ लाख टिम तयारीको खर्चको लागि माग गरिएको थियो । ‘मुख्य कुरा उपमहानगरपालिकाले प्रतियोगिताको अभिभावकत्व ग्रहण गर्नुपर्छ भन्ने हो । बुढासुब्बा गोल्डकपको शुरुवात क्लब र उमपहानगरपालिका मिलेर नै २०५५ सालमा शुरुवात गरेको उनको भनाई थियो ।
उपाधि जित्ने र खेल्ने गरि २ टिम बनाउने
अध्यक्ष राईले यसपटक उपाधि जित्ने लक्ष्यसहित धरानको टिम तयार गर्ने पनि बताए । उनका अनुसार उपाधि जित्ने गरि ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिनेछ भने धरानका खेलाडीहरुलाई पनि अवसर दिलाउने गरि अर्को टिम तयार गरिनेछ । ‘धरानले जित्ने गरि र नयाँ खेलाडीलाई अवसर दिने गरि २ वटा टिम बनाउन सक्छौ । एउटा टिममा बाहिरका खेलाडी किनेर खर्च गरेर बनाउछौ, त्यो जित्ने टिम हुन्छ,’अध्यक्ष राईले भने,‘अर्को धरानका खेलाडीहरुलाई अवसर दिएर बनाउछौ, जित्ने र खेल्ने टिम बनाउछौ ।’
भिडियो: