धरान: सोमबार बजार अनुगमन गर्ने भन्दै घरेलु तथा साना उद्योग कार्यालय इटहरीको टोली धरान आयो । अनुगमन गर्ने भएपछि धरान उपमहानगरपालिका, ईलाका प्रशासन, प्रहरी कार्यालय, उपभोक्ता मञ्च, सुनसरी उद्योग वाणिज्य संघको टोली बजारमा निस्कियो । 

बजार अनुगमनको क्रममा व्यापारी र अनुगमन गर्ने निकायबीच विवाद हुनु स्वभाविक हो । अनुगमनको क्रममा केही न केही त्रुटी, कमजोरी भेटिने हुँद व्यापारीहरुमा डरको वातावरण हुनेगर्छ । तर, सोमबारको अनुगमनको क्रममा भने व्यापारी मात्र होइन, अनुगमनकै प्रतिनिधि रहेका सुनसरी उद्योग वाणिज्य संघका नेतृत्व पनि रुष्ट भए । 

बजार अनुगमन गर्दा संघको प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्छ । अनुगमनमा शुरुमा संघका प्रतिनिधिकोरुपमा सीताराम आचार्य सहभागी थिए । उनले धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटासँग अनुगमनकै क्रममा असन्तुष्टी प्रकट गरिरहेका थिए । तर, जब संघका अध्यक्ष गिरीधारी सापकोटा आए, तब उनले चर्को असन्तुष्टी जनाए ।

अनुगमनको क्रममा एक होटल र ७ वटा खाद्य (किराना) पसलको अनुगमन गरिएको थियो । त्यसक्रममा केही पसलमा उत्पादन मितिसमेत नभएको र भन्सार छलेर ल्याएको सुरज पापड भेटिएको थियो । यस्तै, एउटा पसलमा कम तौल भएको खाद्यान्न बिक्री गरेको पाइएको थियो । अनुगमन टोलीले सुरज पापड नष्ट गरेको थियो भने कम तौल भएको सामाग्री बेच्ने पसलेलाई स्पष्टीकरणसहित उपमहानगरपालिकामा आउन निर्देशन दिएको थियो । सामान नष्ट गरिएकोप्रति उद्योगी, व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् ।

bajar1

संघका अध्यक्ष गिरीधारी सापकोटाले अनुगमनको नभै सामान नष्ट गरिएकोप्रति विरोध गरिएको बताए । कोभिडले थला परेको व्यवसाय भर्खर अघि बढीरहदा अनुगमनको नाममा आएर सामान नष्ट गर्दा व्यापारी, व्यवसायीहरु थप मारमा पर्ने उनले बताए । ‘सामान नष्ट गर्ने होइन, फिर्ता हुने अवस्था छ भने फिर्ता गराउनुपर्छ भनेको हो । डिलर वा कम्पनीबाट फिर्ता भएर नयाँ सामान आउने अवस्था हुदाहुदै नष्ट नै गर्दा व्यापारीलाई नोक्सानी हुन्छ,’उनले भने,‘सामान नष्ट गर्नुहुदैन भन्ने मेरो मान्यता हो ।’ 

उनले अहिले अनुगमन गर्ने समय पनि उपयुक्त नभएको बताए । साथै, ४ ५ जना मिलेर अनुगमन गर्दा हुने भएपनि ठुलो संख्यामा हिड्दा व्यापारीहरु त्रसित भइरहेको अध्यक्ष सापकोटाको भनाई छ । उनले भने,'अनुगमनमा हिड्ने मान्छे धेरै भए । यसले व्यवसायीहरु अत्तालिन्छन् । ५ जना भन्दा बढी हुनुहुदैन । '

उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले अनुगमन गर्दा व्यापारीहरु असन्तुष्ट हुनु स्वभाविक भएको बताए । यद्यपी उनले सोमबार भएको अनुगमन घरेलु कार्यालयको नेतृत्वमा भएको र उपमहानगरले सहभागीता मात्र जनाएको बताए । ‘सुरज पापड अनधिकृतरुपमा भित्रिएको रहेछ, त्यसमा मिति पनि थिएन, र हामीले नष्ट गर्यौ । कम तौलको सामान बेच्नेलाई स्पष्टीकरण दिन आउन भनेका छौ,’ उनले भने,‘अनुगमनमा हाम्रो कामजोरी छैन । धरपकड गरेका छैनौ, के भएको हो, त्यो हेरेर कमजोरी भयो भनेका छौ । संघले व्यवसायीहरुको संरक्षण गर्नु स्वभाविकै हो ।’