धरान: चर्चित अल्ट्रा रेस धाविका मिरा राईको सम्मानमा उनको गृहजिल्ला भोजपुरमा आयोजना भइरहेको पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ ।
आयोजक मिरा राई फाउण्डेशनले मंगलबार धरानको कफी पब एण्ड रेष्ट्रोमा पत्रकार सम्मेलन गर्दे यही चैत १२ गते रेस हुने जानकारी दिएको हो । फाउण्डेशनका सचिव केशर राईका अनुसार रेसमा ३ वटा इभेन्ट हुनेछ । मुख्य स्पर्धा ५० किलोमिटरको हुनेछ । जसमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु सहभागी हुनेछन् । रेस मिरा राईको जन्मथलो भोजपुरको पौवा दुम्मा गाउँपालिका ५ स्थित सानोदुम्माबाट शुरुवात हुनेछ । विभिन्न वडा, गाउँपालिका हुदै शुरुवात विन्दुमा पुगेर नै ५० किलोमिटर रेस समापन हुनेछ ।
यस्तै, १० किलोमिटरको मध्यम रेसको स्पर्धा पनि हुनेछ । यो रेसमा स्थानीयबासीहरुको सहभागिता हुनेछ भने अर्को बालबालिकाहरुको लागि ४ किलोमिटरको मात्र रेस हुनेछ । आयोजकका अनुसार ५० किलोमिटरको महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीहरुले जनही क्रमशः नगद ५०/५० हजार, ३०/३० हजार, २०/२० हजार, १०/१० हजार र ५/५ हजार पाउनेछन् । यसैगरि, १० किलोमिटरर ४ किलोमिटरमा महिला र पुरुष दुवैमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः जनही १०/१० हजार, ५/५ हजार र ३/३ हजार नगद पुरस्कार पाउनेछन् ।
भोजपुरको विकट गाउँमा जन्मिएर अल्ट्रा रेसमा अन्तराष्ट्रिय ख्याती कमाएर देश र आफ्नो परिचय स्थापित गरेकी मिराको सम्मानमा साथै उनीजस्तै खेलाडीहरु उत्पादनमा मद्दत पुर्याउने उद्देश्यले भोजपुर ट्रेल रेस आयोजना गरिएको फाउण्डेशनले जनाएको छ । सबैभन्दा पहिला मिरा अध्ययन गरेको स्कुल सानोदुम्मा माविले रेसको शुरुवात गरेको थियो । फाउण्डेशन स्थापना भएपछि भने रेसलाई निरन्तरता दिदै आएको छ ।
राष्ट्रिय लिगमा समावेश, अन्तराष्ट्रिय मान्यता
भोजपुर रेसलाई नेपालमा आयोजना हुने ट्रेल रेसहरुको लिगमा समावेश गरिएको छ । नेपालमा ५ वटा ट्रेल रेस हुन्छ । ती सबैलाई समावेश गरेर ट्रेल रेसको लिग पनि आयोजना हुने मिरा राई फाउण्डेशनले जनाएको छ ।
यसैगरि, इन्टरनेशनल ट्रेल रेस एशोसिएशनले पनि भोजपुर ट्रेल रेसलाई मान्यता दिएको सचिव केशर राईले जानकारी दिए । उनकाअनुसार तेस्रो सँस्करणबाट राष्ट्रिय मान्यता पाएको थियो भने यो सँस्करणबाट अन्तर्राष्ट्रिय मान्यता पनि पाएको हो ।