कोभिड– १९ को कारण लामो समयसम्मको अवरोध पछि धरान उपमहानगरपालिकाले हरेक शनिवार विहान ७ बजेदेखि ९ बजे सञ्चालन गर्ने ग्रासरुट कार्यक्रम पुनः सञ्चालनमा आएको छ । सबैको लागि यो निःशुल्क कार्यक्रम हो । धरानभरिका १२ बर्ष मुनिका बालबालिका लक्षित कार्यक्रम धरान १६ स्थित रंगशालामा सञ्चालन हुदै आएको छ । वादे वादे जायते तत्ववोध । “मूर्खष्य बलको ठिङ्गो हो –हो ! पाडरी पाडरी ।।” या बुझनेलाई श्रीखण्ड नबुझनेलाई खुर्पाको विड भने झै यो आफैमा सुन्दर कार्यक्रम हो । 

ग्रासरुट कार्यक्रमले ६ देखि १२ वर्षको उमेर समुहका सकेसम्म धेरै भन्दा धेरै बालबालिकाहरुलाई खेल्ने अवसर प्रदान गरेर खेलाडी विकास मार्गमा सुरुवात विन्दुको रुपमा काम गर्दछ । विज्ञहरुको सुझाव अनुसार कलिला यो उमेर समुहका बालबालिकाहरुलाई सिकाइने सुरक्षित कार्यक्रमको रुपमा यसलाई लिन सकिन्छ ।

यो उमेर समूहको सिकाइलाई स्वर्णिम युग मानिन्छ । यति मात्र नभएर बालबालिकालाई फुटबलमा फेयर खेलको सिद्धान्त प्रर्वद्धन गर्ने दर्शनलाई सिकाइने गर्दछ । खुट्टाको कुन भागले फुटवललाई कसरी हान्ने भन्ने सिप सिकाउनुको साथै बालबालिकाहरुलाई फुटबल मार्फत धेरै कुराहरु अप्रत्यक्ष तरिकाले सिक्ने अवसर पनि यो कार्यक्रमले दिएको छ । उनीहरुको व्यक्तित्व र आत्मविश्वासको निर्माण गर्न समेत मदत पुर्याउदछ । कसरी समूहमा मिलेर उत्कृष्ट सामुहिक परिणाम राम्रो ल्याउन सकिन्छ भन्ने ज्ञान यो कार्यक्रमले प्रदान गर्छ । बालबालिकाहरुमा अनुशासित बानीको निर्माण गर्दछ । ग्रासरुटले यस्ता धेरै अवसरहरु सिर्जना गर्छ । 

छिमेकी मुलुक भारतमा त भेट्रान फुटबल प्रशिक्षकहरुलाई राम्रो रोजगारी पनि प्रदान गर्दै आएको छ। विभिन्न पृष्ठभूमिका बालबालिकाहरुको लागि यो कार्यक्रम एउटा सुनौलो अवसर हो । यस्ता कार्यक्रमले बालबालिकाहरुको जीवनमा धेरै अर्थ राख्दछ । धरानलाई मिनि ब्राजिलको रुपमा चिनाउन सफल खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रमले राम्ररी टेवा पुर्याउन सक्दछ । तर यसको निरन्तरताले मात्र त्यो भनाइलाई पुष्टि गर्न सक्दछ । यो आफैमा दिर्घकालिन कार्यक्रम भएकोले परिणाम पनि सोही अनुरुप मात्र आशा गर्नु पर्ने हुन्छ । धरान उपमहानगरपालिकाले समेत ग्रासरुट जस्तो महत्वपूर्ण कार्यक्रमको लागि विशेष महत्वकासाथ हरेक बर्ष बजेट विनियोजन गर्न आवश्यक छ । यसैको लागि हामी जोड्दार माग समेत गर्दछौं ।

dharan-grassroot2

हामीले भ्याएसम्म हरेक शनिवार विहान प्रशिक्षक र प्रशिक्षार्थीहरुको हौसला बढाउन धरान रंगशाला पुग्ने गरेका छौ । त्यसबेला उनीहरुको जोश जागरले पक्कै पनि राम्रो खेलाडी उत्पादन गर्न सक्ने सकेत पाएका छौं । तर यो कार्यक्रमलाई सबै सरोकारवालाहरुले समेत चासो दिनुपर्ने, र साथ सहयोग गर्न पनि आवश्यक छ । यो कार्यक्रमलाई सिगो धरानवासीले साझा कार्यक्रमको रुपमा लिन पनि हाम्रो आग्रह छ । सबै अभिभावकले सकेसम्म आफना छोराछोरीहरुलाई हरेक शनिवार सहभागी गराउन उत्तम हुनेछ । यो दिनलाई एउटा बिशेष दिनको रुपमा लिन समेत आग्रह गर्दछौं । धरानलाई साँचिक्कै मिनि ब्राजिलको रुपमा चिनाउने भनाईलाई सार्थक बनाउनु छ भने यो कार्यक्रम नै कोशेढुंगा साबित हुन सक्दछ ।

धरान उपमहानगरपालिकाका अफिसियल खेलकुद प्रशिक्षक अर्जुन राईका अनुसार मोबाइल गेमहरुमा मात्र झुमिरहने कुलतबाट सानै उमेरदेखि शारीरिक अभ्यास गराउने बानीको विकास गर्ने अभिप्रायले मेयर तिलक राईको निर्देशनमा ग्रासरुट कार्यक्रम सञ्चालनमा आएको हो । यसै कार्यक्रमको सदन्र्भमा शुभचिन्तक अभिभावक किरण सुवेदीले आफना राय राख्दै यसले निरन्तरता पाउनु पर्नेमा जोड दिनुहुन्छ । यो सगै अन्य खेलकुदहरुलाई पनि उतिकै रुपमा महत्व दिएर ग्रासरुट कार्यक्रम प्रारम्भ गर्नलाई सम्बन्धित निकायले निश्चित बजेट छुटाउन उहाँको सुझाव पनि छ ।

अर्का समाजसेवी तथा अभिभावक लक्ष्मण बस्नेतले यो कार्यक्रमलाई जोड दिदै भन्नुहुन्छ –हरेक बर्ष बर्षायाम अघिसम्म यो कार्यक्रमले निरन्तरता पाउनु पर्छ । राजनैतिक दलको नेताहरुको बैठक भत्ता लगायत अन्य सेवा सुविधा जस्ता फजुल खर्च कटाएर भए पनि यो कार्यक्रमलाई निरन्तरता दिए जनताका कै छोराछोरीहरुले नै सो सुअवसर पाउने विचार बस्नेत राख्नुहुन्छ । यसो भएमा एकोहोरो डिजिटल संसारमा झुमिरहने लतबाट केही घण्टा भए पनि बालबालिका मुक्त हुने बस्नेतको धारणा रहेको छ । 

एकान्तबासमा मोबाइलमा ब्यस्त नानी केटाकेटीहरुलाई केही घण्टा भए पनि वास्तविक संसारसँग साक्षात्कार गराई शारिरीक र मानसिक रुपमा फुर्तिलो, जोसिलापना ल्याउन र अनुशासित बन्न यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने धरान–१३ निवासी अभिभावक अनिल सुनुवारको भनाई छ । बच्चाहरुको दिमाग फ्रेस हुनेछ । एक दुई घण्टा भए पनि शारीरिक व्यायम हुने हुनाले यो कार्यक्रम सुन्दर भएको प्रतिक्रिया धरान–१६ निवासी अभिभावक गोपाल पराजुली बताउँहुन्छ ।

dharan-grassroot1

यसै सदन्र्भमा पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक इन्दु रसाइली यो कार्यक्रम विद्यालयको शिशु कक्षासँग दाज्नुहुन्छ । उहाँ भन्नुहुन्छ–किशोरावस्थाका धेरै कुराको ज्ञान लिन सक्नेछन् । यो कार्यक्रममा बललाई खुटाको कुन भागले कसरी हान्ने, फुटबलप्रति आकर्षण गराउने, कुलतबाट जोगाउने, मानसिक र शारिरीक रुपमा दन्दुरुस्त राख्ने, पढेपछि मात्र ज्ञान आउने, अनुशासित बनाउने र पढेको व्यक्ति मात्र राम्रो फुटबल खेल्न सक्ने इत्यादी कुरा बालबालिकाले सिक्नसक्ने उहाँको भनाई छ । खेलसँगै पढाइलाई पनि जोड दिनको लागि विश्व प्रख्यात खेलाडीहरु मेसी र रोनाल्डो पनि पढाईमा अब्बल भएको बताउदै बालबालिकाहरुलाई पढ्न प्रेरित गरिन्छ । हाम्रो मेयर तिलक राई खेलको महत्व र खेलप्रति रुचि राख्ने व्यक्तित्व भएकोले नै यो कार्यक्रम सम्भव भएको रसाईलीले बताउनुभयो । 

अर्का प्रशिक्षक सतिस केसीको विचारमा यो कार्यक्रम ६ देखि १२ बर्ष मुनिका बालबालिकाहरुलाई कुनै प्रकारको करकापमा नपारी बालसुलभ र स्वतन्त्ररुपले फटबल मोह जगाउदै कालान्तरमा धरानबाटै राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको छ । तर यस्ता सुन्दर कार्यक्रमको आगामी बर्षहरुमा पनि निरन्तरताको लागि अहिले सहभागी बालबालिकाहरुको अभिभावकहरुले सम्बन्धित निकायमा सकारात्मक आवाज उठाउन सक्नु पर्ने उहाँको भनाई छ ।

जसरी क्यनाडामा शिक्षालाई जहिले पनि प्राथमिकतामा राख्ने गर्दछ । यति मात्र होइन, हरेक राजनैतिक दलले शिक्षालाई आफ्नो पार्टीको आन्तरिक नीतिको बिषय बनाउँछन् । राजनैतिक दलहरुले आफ्ना नीतिका बारेमा घनिभूत बहस गर्ने गर्दछन् । सबै भन्दा राम्रो पक्ष के भने दलहरुले प्रतिस्पर्धी भएर जनता माझ आफ्ना शिक्षा नीति सार्वजनिक गर्ने गर्दछन् । जनताले पनि प्रत्येक राजनैतिक दलका राम्रा शिक्षा नीति हेरेर आम चुनावमा आफ्नो मत जाहेर गर्दछन् । क्यानाडा झै आगामी आउने स्थानीय निवार्चनमा राजनैतिक दलहरुलाई आफ्नो घोषणा पत्रमा ग्रासरुट कार्यक्रमलाई प्राथमिकतासाथ संलग्न गराउन बाध्य गर्न अनिवार्य छ । ग्रासरुट कार्यक्रमले भविष्यमा वास्तवमै उत्कृष्ट फुटबल खेलाडी उत्पादन गर्न सक्ने प्रतिफल दिन सकोस् । जसको श्रेय सम्पुर्ण फुटबल प्रक्षिशकहरु र खास गरेर हाम्रा स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर तिलक राईले लिन सकोस भन्ने कामना गर्दछौं ।    

      ( स्तम्भकार जवेगु धरान १६, स्टेडियम लाइनस्थित श्री जेनिथ् कलेज अफ म्यानेजमेन्टका प्राचार्य हुन् भने ताम्राकार(जवेगु) भाइस प्रिन्सिपल हुन् । )