धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगितामा टेम्पल टावर स्कुल विर्तामोड, सियोन स्कुल, डिपो र हिमशिखर स्कुल तरहरा विजयी भएको छ । 

धरान मेघा हिमालय कलेजको बास्केटवल कोर्टमा बुधवार (दोस्रो दिन) भएको खेलमा जित हात पारेसँगै टेम्पल टावर, सियोन, डिपो र हिमशिखर क्वार्टरफाइनल प्रवेश गरेको छ । टावर टेम्पलले धरानको पदम मेमोरियल स्कुललाई २०–७ स्कोरले हरायो भने सियोन स्कुलले आयोजक मेघा कलेज ए टिमलाई ३६–३० स्कोरले हरायो । यस्तै, डिपोले सुम्निमा स्कुललाई ५६–६ स्कोर र हिमशिखर तरहराले धरानको जुनियर पायोनियरलाई ४३–८ स्कोरले पराजित गर्यो । 

basket1 2

टावर टेम्पल र पदम मेमोरियलले प्रत्येक क्वाटरमा ५–३, ४–०, ४–२ र ७–२ स्कोर गरेको थियो । सियोन र मेघा ए टिमले ७–९, १५–९, ८–७ र ६–५ स्कोर गर्यो । यस्तै, डिपो र सुम्निमा स्कुलले १७–०, २३–०, ६–४ र १०–२ स्कोर गर्यो भने हिमशिखर र जुनियर पायोनियरले ६–२, १९–२, ८–४ र १०–० स्कोर गरेका थिए । दिवंगत उदयमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता मंगलवारदेखि शुरु भएको हो । प्रतियोगितामा धरान र धरान आसपासको क्षेत्र तथा जिल्लाका १६ विद्यालयले सहभागिता जनाएको छ ।

प्रतियोगिताको फाइनल चैत्र १९ गते हुनेछ । विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भोली (बिहिबार) को खेल एम्स र धरान अर्दश बीच हुनेछ भने समिट र सियोन, डिपोट र हिमशिखर बीच पनि हुनेछ । यस्तै, टावर टेम्पल र मेघा कलेज वि टिम बीच पनि खेल हुनेछ । धरान मेघा हिमालयन कलेजको आयोजना तथा धरान बास्केटवल संघको संयोजनमा प्रतियोगता आयोजना भएको हो । प्रतियोगितामा सुनसरी बास्केटवल संघ र धरान १२ नं. वडा कार्यलयको सहयोग रहेको छ ।