धरान: धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा र एम्स एकेडेमी भिड्ने भएको छ ।

      शुक्रबार भएको सेमीफाइनल खेलमा आयोजक धरान मेघाले डिपो स्कुललाई ५२–३४ स्कोरको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुगेको हो भने एम्सले सियोन स्कुललाई ५१–४७ स्कोरले हराउदै आयोजकसँग फाइनलमा भेट पक्का गरेको हो । पहिलो सेमीफाइनल खेलमा धरान मेघाका खेलाडी योगेश राईले उत्कृष्ट प्रदर्शन गर्दै २७ स्कोर गरेका थिए । उनले ६ वटा थ्री पोइन्ट स्कोर गरे । खेलको पहिलो क्वाटरमा डिपोसँग ९–१३ स्कोरले पछि परेको धरान मेघाले दोस्रो क्वाटरमा ११–२, तेस्रो क्वाटरमा २२–९ र चौथो क्वाटरमा १०–१० स्कोर गर्दै फाइनल यात्रा तय गर्यो ।

यस्तै, निक्कै प्रतिस्पर्धात्मक भएको दोस्रो सेमिफाइनल खेलमा एम्सले सियोन स्कुललाई ५१–४७ स्कोरको झिनो अन्तरले पराजित गर्दै फाइनल प्रवेश गर्यो । सियोनका साहिल तामाङले व्यक्तिगत २४ स्कोर गरेका थिए । पहिलो क्वाटरमा एम्सले १४–१० स्कोरमा सियानलाई पछि पारेको थियो । तर, दोस्रो क्वाटरमा सियोन खेलमा फर्कदै १५–१० स्कोरले अग्रता बनायो । तेस्रो क्वाटरमा एम्सले सियोनलाई १९–६ स्कोरको फराकिलो अन्तरले पछाडि पार्यो । चौथो क्वाटरमा सियोनले एम्सविरुद्ध १६–८ स्कोरको अग्रता बनाए पनि समग्रमा सियोन ४ स्कोरले पराजित भयो । एम्सका तर्फबाट सितम लिम्वुले व्यक्तिगत १८ स्कोर गरेका थिए । 

basket1

प्रतियोगिताको फाइनल शनिवार दिउसो १२ः३० बजेदेखि सुरु हुने आयोजक धरान मेघा हिमालयन कलेजले जनाएको छ । प्रतियोगिताको समापन समारोहमा प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रमुख अतिथिको रुपमा आउने पनि आयोजकले जानकारी दिएको छ । 

दिवंगत उदयीमान बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा प्रतियोगिता चैत १५ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडी, उत्कृष्ट स्कोररले पनि पुरस्कार पाउनेछ । यस्तै, कफि पव थ्री पोइन्ट च्याम्पियनले नगद २ हजार पाउनेछन् भने उदयीमान खेलाडिले ट्रफ्रि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल अघि कफि पव थ्री पोइन्ट कम्पिटिसन हुनेछ ।