धरान: प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेताहरुले ढाटीरहने हो भने विकल्पमा हर्क साम्पाङ र बालेन शाहहरु खोज्ने बताएका छन् ।

किरात राई यायोक्खा सुनसरीको आयोजनामा शनिबार धरान १७ स्थित साकेला पार्कमा आयोजित प्रतियोगितात्मक साकेला सिली प्रर्दशनीमा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । नेताहरुले आन्दोलन र चुनावको बेला गरेको वाचा पछि विर्सने गरेको भन्दै मुख्यमन्त्री राईले त्यस्तो अवस्थामा जनताले विकल्प खोज्ने बताए । ‘चुनाव जितेर सांसद, मन्त्री प्रधानमन्त्री भएपछि जनतालाई गरेको वाचा विर्सन्छन् । जनतालाई भनेको कुरा पुरा गर्दैनन्,’ उनले भने,‘जनतालाई ढाटीरहन्छन् भने त्यस्तो अवस्थामा जनताले पनि विकल्प खोज्छन् । हर्क साम्पाङ र बालेन शाहहरु जन्मन्छन् ।’

मुख्यमन्त्री राईले आन्दोलनमा होस् वा चुनावको बेला होस्, नेताहरुले बोलेको कुरा पुरा गर्नुपर्नेमा उनले जोडदिए । यस्तै, प्रदेश नामकरणको प्रसंगमा मुख्यमन्त्री राईले प्रदेशको नाम किरात रहनुपर्ने बताए । सम्झौता गर्दा किरातसँग अर्को कुनै नाम जोड्न सकिने पनि उनको भनाई थियो । गणतन्त्र प्राप्ती र पहिचानको आन्दोलनमा धेरै मानिसहरुले कष्ट सहेको भन्दै उनले परिवर्तन पछि झुक्याउन नपाउने पनि बताए । ‘हरेक राजनीतिक पार्टीहरुले भोट माग्दा अधिकार र पहिचान दिन्छौ भनेका छन् । चुनाव जितेर संसद, मन्त्री, प्रधानमन्त्री भइसके पछि जनतालाई गरेको वाचा बिर्सिए,’उनले भने,‘आन्दोनलको बेला पहिचानको कुरा गरेका छौ, अधिकारको कुरा गरेका छौं । त्यसकारण यो प्रदेशको नाम किरात राख्नुपर्छ ।’