धराने जनताका प्रिय मेयर हर्क साम्पाङज्यू ,

एक हप्ता अगाडि काठमाडौँबाट धरान आउँदा तपाईलाई भेट्न उपमहानगरको कार्यालय आएको थिए तर तपाई खानेपानीको चुहावट रोक्न फिल्डमा खटिनुभएकोले तपाईलाई कार्याकक्षमा भेट्न सकिन । खासमा बधाई दिनु थियो र केहि भन्न मन लागेका कुरा साट्नु थियो, त्यसैले यो चिठ्ठी लेख्दैछु ।

मेरो नाम राजु चौहान । घर धरान १६, हाल पाटन संयुक्त क्याम्पस, ललितपुरमा वातावरण विज्ञान विषयको उप-प्राध्यापक । पाटन आउनु अघि २०७६ देखि २०७८ सम्म करिब दुई वर्ष म धरान उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखामा वातावरण निरिक्षकको रुपमा कार्यरत थिए । आफ्नै ठाँउको स्थानीय सरकारसँग आफ्नो विज्ञताको क्षेत्रमा काम गर्न पाएकोमा मलाई खुशी लाग्छ ।

सर्वप्रथम त म तपाईलाई बधाई दिन चाहन्छु । चमत्कारिक जितको लागि त छदैछ, त्यो भन्दा बढी तपाईले पाँच वर्ष निरन्तर धरान सरकारको सच्चा प्रतिपक्ष बनेर गरेको संघर्ष र परिवर्तनको प्रयासको लागि । २०,८२१ भोटको अर्थ पाँच वर्षमा परिक्षित ठूला पार्टीहरु प्रतिको निराशा र तपाई प्रतिको आशा नै हो । यो सबैले स्विकारीसकेको अवस्था छ ।

तपाईप्रतिको आशा, विश्वास र भरोसामा परिणत हन्छ या उस्तै निराशामा ! समयले देखाउनेछ । तपाईले गरेका हरेक प्रयासको मुल्याङ्कन हुन थालिसकेको छ । यसै सन्दर्भमा मैले धरानमा काम गर्दाको अनुभव र आफ्नो विज्ञताका आधारमा केही सुझावहरु तपाईलाई निवेदन गर्न चाहेको छुँ । 

१) नीति र पद्धति

मेयर साप ! नगर प्रमुख एक गरिमामय पद हो । यो पदमा बसेर निश्चित समयावदि भित्र नतिजा दिनुपर्ने भएकाले काम गर्न निकै चुनौतिपूर्ण छ । गरेका कामहरुलाई दिगो बनाउनु झन महत्वपूर्ण हुन्छ । त्यसैले नगरको नेतृत्वको हिसावले हरेक स-साना कुरामा आफै फिल्डमा उत्रिनु भन्दा समस्याको पहिचान गरी त्यसको दिगो समाधान हुने खालको प्रणाली बनाउनु उपयुक्त हुन्छ जस्तो लाग्छ । उदाहरणका लागि खानेपानीको चुहावट रोक्न सँधै आफै फिल्डमा खटिनुभन्दा विध्यमान प्रविधिक वा प्रशासनिक संयन्त्रले कहाँ र किन काम गरिरहेको छैन र के गर्दा त्यसले स्वस्फुर्त रुपमा काम गर्दछ भन्ने तर्फ ध्यान दिएर प्रणालीमै सुधार गर्ने हो भने त्यो समाधान बढी प्रभावकारी र दिगो हुन जान्छ । 

नयाँ नगर प्रमुखको आगमनसगैँ नगरबासिहरुले नगरको समृद्धि, शिक्षा, स्वास्थ्य, संचार, वातावरण, सुशासन एवं समग्र नगर विकासका निम्ति आवश्यकता केन्द्रित नीति तथा योजनाको अपेक्षा राखेका छन् । तपाईबाट यस्तै रचनात्मक नीति तथा सु-संस्कृत पद्धतिको विकास हुन्छ भन्ने आशा गर्दछु ।

२) सामाजिक सञ्जाल

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो पहुच र लोकप्रियता सगैँ सुचना प्रसारमा यसले ट्रेन्ड नै बदलेको छ । तपाई पनि आफ्ना मुद्दा र विचार सम्प्रेषण गर्न समाजिक सञ्जालमा लामो समय देखि सक्रिय हुनुहुन्छ । तपाईको फेसबुक पेजका करिब तिन लाख फलोवरले हरपल तपाईका पोष्टहरु ट्रयाक मात्र गरिरहेका छैनन् तपाईसँग अन्तरक्रिया समेत गर्ने अवसर पाएका छन् । यो सकारात्मक कुरा हो । 

तर नगर प्रमुखका रुपमा तपाई निर्वाचित भैसकेपछि पक्कैपनि त्यस पदसँग सम्बन्धित निश्चित प्रोटोकलहरु होलान् । संस्थागत रुपमा (नगरसभा, कार्यापालिका, नगर प्रमुख वा कार्यालय प्रमुख स्तरीय) निर्णय नभएका कुराहरु सामाजिक सञ्जालबाट संप्रेषण गर्दा त्यसको आधिकारिकता माथि प्रश्न त उठ्छ नै यसले पदलाई समेत हलुका बनाईदिने सम्भावना रहन्छ ।

उदाहरणका लागि केहि दिन अघि तपाईको पेजबाट ‘राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिनेछ’ भन्ने पोष्ट आयो जुन आफैमा स्वागतयोग्य योजना हो । तर लगत्तै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकले आफुलाई सो कुराको जानकारी नभएको बताए । यसरी कुनै समन्वय र संस्थागत निर्णय बिना नै तपाईले आफ्नो पेजमा पोष्ट गर्दा तपाईले दिने सुचनाहरुको विश्वस्नियता गुम्ने खतरा रहन्छ ।

सरोकारवालाहरुसँग समन्वय, संवाद र सहकार्य बिना नै आफ्नो नीजि पेजबाट नगर प्रमुखले नीति नियमहरु संप्रेषण गर्दा नगरबासी र कर्मचारी दुवैलाई रुष्ट बनाउन सक्छ । यस्ता कुराहरुमा तपाई संवेदनशील हुनुहुन्छ भन्ने आशा छ ।आधिकारिक र संस्थागत निर्णय र सुचनाहरुलाई कार्यालय अन्तर्गतका सुचना संप्रेषण गर्ने निकाय र माध्यमबाट नै सम्प्रेषण गर्नु उत्तम विधि हो ।

३) कार्यदल (टिम) निर्माण

तपाईले नगर प्रमुखको पदभार ग्रहण गरेको करिब एक महिना हुन लागेको छ । केहि अनुभव र केहि चुनौतिहरुको सामना पनि गरिसक्नु भयो होला । फरक फरक राजनीतिक पृष्ठभूमिबाट निर्वाचित उप-प्रमुख, वडा अध्यक्ष र सदस्यहरुलाई आफ्ना एजेन्डाहरुमा सहमति गराएर अगाडि बढ्नु आफैमा चुनौतीपुर्ण छ । हुन त तपाई र सबै निर्वाचित जनप्रतिनिधीहरुको साझा उदेश्य भनेको धरानको विकास र समृद्धि नै हो र तपाईमा कुशल नेतृत्व क्षमता भएकाले सबैलाई एकिकृत गरेर लैजानेमा म विश्वस्त छु । 

तर कतिपय प्राविधिक कुराहरुमा निर्णय लिनका निमित्त तपाईलाई सल्लाह(सुझावको आवश्यकता पर्न सक्छ । त्यसैले तपाईले विज्ञहरुको एउटा स्वतन्त्र कार्यदल (टिम) बनाएर अगाडि बढ्दा प्रभावकारी नीति निर्माण र निर्णयार्थमा सहज हुन सक्दछ । यसका लागि धरानमै भएका तिन ठुला शैक्षिक संस्थाहरुका प्राध्यापकहरुलाई तपाईको विज्ञ टिममा समाहित गर्न सक्नुहुन्छ । यसमा विज्ञान र प्रविधीका लागि हात्तिसार क्याम्पस, ईन्जिनियरिङ र कृषिका लागि पूर्वान्चल ईन्जिनियरिङ क्याम्पस, र सामाजिक/आर्थिक र शैक्षिक क्षेत्रका लागि महेन्द्र बहुमुखी क्याम्पसका विज्ञहरुको साथ लिन सक्नुहुन्छ ।

तर, म विज्ञ हुँ भन्दै तपाई समक्ष आउनेहरु केहि स्वार्थ बोकेर आएका हुन सक्छन् त्यसैले विज्ञहरु छान्ने काम तपाई आफैले गर्नुपर्छ । यस टिममा मनोज म्याङ्बो जस्ता अनुभवि पूर्व मेयरहरुलाई समेत सल्लाहाकारका रुपमा समावेश गर्न सक्नु हुन्छ । यसरी बनेको टिमबाट विज्ञान र प्रविधिमा आधारीत नीति निर्माण एवं कार्यान्वयनमा तपाईले भरपुर साथ र सहयोग लिई आफ्नो कार्यकाल पूर्णरुपमा सफल बनाउन सक्नुहुन्छ ।

४) खानेपानीमा दिर्घकालीन योजना

दुई लाख भन्दा बढि जनसंख्या भएको धरानमा प्रति दिन तिन करोड लिटर पानीको माग रहेकोमा खानेपानी बोर्डले पर्याप्त पानी उपलब्ध गराउन सकिरहेको छैन । ईभाईरोमेन्ट, डेभलोपमेन्ट एन्ड सस्टेनेबिलिटी जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार धरान उप-महानगरपालिकाका करिब ३५ हजार नागरिकहरुले पानीको संकट व्यहोर्नु परेको अवस्था छ ।

धरानको खानेपानीको मुख्य स्रोत सर्दु र खर्दु खोलाले बर्खामा ६० प्रतिशत र हिउँदमा २५ प्रतिशत मागलाई मात्र धानेको छ । त्यसैले पछिल्लो समयमा भूमिगत पानीको उत्खनन् गर्दै गेमचेन्जर मानिएको ‘ए.डि.बि. परियोजना’ सन्चालनमा ल्याईयो । तर त्यसले पनि धराने जनताले खोजेको जस्तो खानेपानीको दिगो समाधान दिन सकेन । तपाईले विगत पाँच बर्ष यहि एजेन्डा बोकेर हिडेँको सर्वविदितै छ । त्यति मात्र हैन चुनावताका तपाईले धरानमा खानेपानीको दिर्घकालीन समाधान गर्ने वाचा गर्नुभएको छ जुन पुरा गर्न भने सजिलो छैन ।

खानेपानीको माग र आपुर्ति विच बढिरहेको अन्तर घटाउन तथा पानीको दिगो व्यवस्थापन गर्नका लागि जलाधार संरक्षण, आकाशे पानी सङ्कलन, चुहावट नियन्त्रण, भूमिगत पानीको पुनर्भरण र पानीको दिगो उपयोगमा जोड दिन जरुरी छ । तपाईले बनाउने नीति नियम यस तर्फ केन्द्रित हुनपर्दछ ।

तर यतिले मात्र धरानमा पानीको बढ्दो मागको समाधान गर्न सक्दैन । यसको दिर्घकालीन विकल्प खोज्न आवश्यक छ । तपाईले कोशीलाई एउटा विकल्पको रुपमा प्रस्ताव गर्नुभएको छ । यद्यपी त्यसको प्राविधिक सम्भावयता, अन्तराष्ट्रिय सन्धीले गरेको व्यवस्था, कानुनी जटिलता,  अनुमानित लागत र स्रोत जस्ता विषयहरुको विस्तृत अध्ययन नगरी तपाईको प्रस्ताव पास वा फेल हुन्छ यसै भन्न सकिने अवस्था छैन । विभिन्न विकल्पहरु पहिचान गरेर सम्भाव्यता अध्ययनलाई जति सक्दो छिटो सम्पन्न गर्न सकियो, आफ्नो लक्षमा तपाई त्यति नै रफतारका साथ पुग्न सक्नुहुन्छ । तर सम्भाव्यता अध्ययनमै पाँच वर्ष नबित्ला भन्न सकिन्न । यस जटिल विषयमा तपाईले विवेकपूर्ण निर्णय लिनुहुन्छ भन्ने आशा गर्दछु ।

५) प्रकृतिक स्रोतको संरक्षण र दिगो व्यवस्थापन

तपाईले पहिलो दिन देखि नै वातावरण र प्राकृतिक स्रोत संरक्षणमा देखाउनु भएको चासो र सहभागिताले म निकै प्रभावित भएको छु । चाहे त्यो सरसफाईमा होस् या वृक्षारोपणमा वा शहरलाई कुरुप बनाईरहेको तारहरुको व्यवस्थापनमा, तपाईको सक्रियताले धेरैलाई प्रेरित गर्दछ । यस्तै सक्रियता सधैँ रहिरहनेछ भन्ने आशा लिएको छु । यस्ता कार्यहरुको दिगोपनका लागि पनि पक्कै केहि सोच्नु भएको छ भन्ने लाग्छ ।  रोपेको विरूवा मर्नुहुदैन, हुर्कनुपर्छ । आज सरसफाई गरेको स्थानमा भोली फोहोर हुनुहुदैन, फेरी फोहोर हुन नदिने नीति नियम ल्याउनुपर्छ । 

मेयर साप ! 

जसरी प्राकृतिक श्रोतहरुको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व हो, त्यसरी नै तिनको दिगो उपयोग र व्यवस्थापन पनि अधिकार हो । धरान हुदै बग्ने खोलाहरुले उत्तरतिरका पहाडबाट अत्याधिक मात्रामा नदिजन्य पदार्थ बगाएर ल्याउने गर्दछ । यस क्रममा धरानको समतलता (लो ग्रेडियन्ट) का कारण यहाँ अत्याधिक मात्रामा नदिजन्य पदार्थ थुप्रने गर्दछ । वर्षायाम पछि खोलाहरुको सतह किनारका वस्तीभन्दा उच्च भएका कारण हरेक वर्ष त्यस्ता वस्तीहरु ढुबान र कटानमा परिरहेका छन् । त्यस्ता स्थानमा वातावरणीय अध्ययनका आधारमा नदीजन्य पद्धार्थको उत्खनन् गरी तिनको उपयोग गर्दा राजस्व वृद्धि सँगसँगै विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनमा पनि टेवा पुग्ने देखिन्छ । धरानको हकमा खोला किनारमा धेरै अव्यवस्थित वस्तिहरु भएका कारण नदीजन्य पद्धार्थको उपयोग नगर्नु चाहि बढि हानिकारक हुनसक्छ । 

विगतको आँकडा हेर्ने हो भने पनि धरानले संघीय सरकारबाट प्राप्त हुने बजेटको झन्डै ७-८ प्रतिशत बराबरको राजस्व नदीजन्य पद्धार्थको उपयोग, विक्रि तथा वितरणबाट प्राप्त गर्ने गरेको छ । यसले धरानको विकास निर्माणमा राम्रै योगदान गर्न सक्छ । कम्तिमा त्यो रकमलाई खोला नियन्त्रण र विपद् व्यवस्थापनमै खर्चिन पनि सकिन्छ । 

यसो भनिरहदा मापदण्ड विपरित उत्खनन् हुन सक्नेबारे मेयर सापले गर्नुभएको शंका पनि जायज नै छ । यसको समाधानका लागि वातावरणीय अध्ययनका आधारमा नगरले आफै उत्खनन् गरेर प्रमाणित स्टाकलाई मात्र ठेक्का प्रणालीमा लैजान सक्छ भने वातावरणीय क्षति समेतलाई समेटेर नदिजन्य पद्धार्थको दर रेट कायम गर्ने, अनुगमन तथा नियमनमा कडाई गर्ने र यस संग सम्बन्धित गुनासो सुन्ने र सम्बोधन गर्ने संयन्त्रको तत्काल व्यवस्था गर्नुपर्ने हुन्छ । वातावरणीय मापदण्डको पालानामा कडाई गर्न वातावरण निरिक्षकको रिक्त पदको पदपुर्ती गर्न पनि उत्तिकै जरुरी छ ।

६) सार्वजनिक यातायातको व्यवस्थापन

निर्माणाधिन नयाँ बसपर्कको सञ्चालन सँगै भानुचोकको अस्तव्यस्त स्थितिमा सुधार आउने आशा गर्न सकिन्छ । बसपार्क निर्माणलाई समयमै समपन्न गर्न तपाईले त्यसको प्रगतिलाई नियमित रुपमा ट्रायाक गर्न जरुरी हुन्छ । 

धरानमा ट्याम्पोलाई सार्वजनिक यातायातको स्थानीय साधनका रुपमा प्रयोग गरिदै आएको छ तर पछिल्लो समय यसको आतंक बढेको छ । अर्थशास्त्रको सिद्धान्तलाई नै फेल खुवाउने गरी ट्याम्पोको संख्या अत्याधिक बृद्धि हुँदा भाडादर पनि उस्तै चर्को रुपमा बृद्धि भएको छ । बजारलाई अस्तव्यस्त पार्ने गरी मुल राजमार्गमा दुबै तर्फ पार्किङ गर्ने त छदै छ, धरानको वायु र ध्वनी प्रदुषणमा पनि यसको ठूलो भूमिका छ । त्यसैले स्थानीय सार्वजनिक यातायातको विकल्प खोज्ने बेला भैसकेको छ ।

धरानले सफा शहरको पहिचान पहिले देखिनै बोक्दै आएको हुनाले यो पहिचानलाई टिकाई राख्न अबको विकल्प सफा र स्वच्छ सार्वजनिक यातायात हुनपर्दछ । तपाई आफै वातावरणमैत्री मेयर भएको हैसियतले धरानमा तपाईकै पालामा विद्युतिय नगर बस सञ्चालान हुन्छ भन्ने सपना मैले देखेको छु । हुन त यो मेरो पुरानै सपना हो । आ.व. २०७७/७८ को बजेटमा मैले म कार्यरत महाशाखाको तर्फबाट विद्युतिय नगरबस सञ्चालानको सम्भाव्यता अध्ययनको कार्यक्रम प्रस्ताव गरेको थिए । तर त्यो कार्यक्रम कारणवस बजेटमा अटाउन सकेन । काठमाडौँको साझा बसकै जस्तो मोडालिटिमा धरानमा पनि विद्युतिय नगरबस सञ्चालानको सम्भावना मैले देखेको छु । तपाई जस्तै परिवर्तनको हुटहुटी भएका नगर प्रमुखले नै हो धराने जनतालाई सुविधा दिने र पर्यटनमा टेवा पुर्याउने यस्ता योजनालाई अगाडि बढाउने । 

७) राम्रा अभ्यासको प्रचार

काठमाडौँको फोहोर व्यवस्थापनका सन्दर्भमा दौडधुप भईरहदा विभिन्न देशहरुमा फोहोर व्यवस्थापनका लागि भएका प्रयासहरुको निकै चर्चा भयो तर हाम्रै देशमा रहेको धरानले गरको फोहोरबाट उर्जा निकाल्ने सफल प्रयासले उचित प्रचार पाउन सकेन । धरान उपमहानगरपालिकामा भइरहेका राम्रा कामहरु (पुराना र नयाँ) सबैलाई तपाईले अपनत्व ग्रहण गर्दै पूर्णता दिई तिनको प्रचार प्रसार गर्नुपर्ने देखिन्छ । यस्ता नमुना अभ्यासहरु अरु स्थानीय सरकारहरुका समस्या समाधानका लागि कोशैढुङ्गा बन्न सक्छन ।

८) भिजन र सुशासन

धरानलाई पाँच वर्षभित्र कस्तो बनाउने भन्ने सपना तपाईसगँ हुनुपर्छ । त्यो सपना पुरा गर्न स्पष्ट रणनीति र दृढ संकल्प आवश्यक छ । सुशासन बिना तपाईले आफ्नो भिजनलाई यथार्थमा परिणत गर्न कठिन छ । स्थानीय तहमा प्रभावकारी सेवा प्रवाहा र सुशासनका  सम्बाहक कर्मचारी नै हुन् । तपाईको सफलता वा विफलतामा तिनै कर्मचारीको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले तपाई जनताको नेता त बनिसक्नु भएको छ । अब कर्मचारीहरुको अभिभावक पनि बन्नुपर्छ । तपाई धरानको सुसंस्कृत, सचेत र उदार मेयर बन्नुपर्छ ।

अन्त्यमा, पाँच वर्षसम्म चढिरहन मिल्ने सिढिमा तपाई हुनुहुन्छ । संयमता नपनाउदा सिढिबाट लड्न पनि सकिन्छ । वाचा गरे बमोजिम धराने जनताहरुको समस्याको समाधान होला त भन्ने प्रश्न यत्रतत्र छन् । तपाईले यस तर्फ पक्कै प्रयास गर्नुहुनेछ । धराने मतदाताले निर्वाचनमा विवेक प्रयोग गरे । केहि समय धैर्यता पनि गर्ने नै छन् ( परिवर्तनको पर्खाईमा, रिभोलुसनको पर्खाईमा । लामो पर्खाईको पिडा नहोस् । सफल कार्यकालको शूभकामना ।

   उहि शुभ चिन्तक ।

 उप-प्राध्यापक राजु चौहान, 

 धरान १६, 

(हाल पाटन संयुक्त क्याम्पस, ललितपुर

 वातावरण विज्ञान विषय)