धरान: सिंगापुर पुलिसबाट अवकाश लिएर घर फर्कदा धरान ११ का लुकेन्द्र राईसँग फेरि बेलायत वा अन्य देशतिर जाने अवसर थियो । उनी जागिरमै पनि रहन सक्थे । उनका नम्बरीहरु अझै सिंगापुर पुलिसमै छन् । 

तर, लुकेन्द्रको सोच अर्कै थियो । उनी आफ्नै देशमा केही गर्न चाहन्थे । समाजको लागि केही योगदान गरेर चिनिन चाहन्थे । त्यसैले परिवारलाई सम्झाएर घर फिर्दा उनको मनमा अब के गर्ने भन्ने कुनै अन्योलता थिएन । किनभने, सर्भिसमा रहदा नै उनले धरानमा खोलिसकेको थिए, मितेरी स्पोट्र्स सेन्टर । झण्डै डेढ दशक सिंगापुर पुलिसमा सेवा गरेर करिब डेढ बर्षअघि उनी सधैको लागि घर फर्किदा लुकेन्द्रको आँखामा धेरै सपनाहरु थिए ।

उनी धरानमा खेलकुदमा केही गर्न चाहन्थे । त्यसैले सिंगापुर सर्भिसमा रहदा नै १० करोड बढी लगानीमा मितेरी फुटसल खोलेका थिए । अवकाश लिएर आएपछि स्पोट्र्स सेन्टरकोरुपमा अघि बढाए । अहिले सेन्टरमा फुटसल मात्र होइन, ब्याण्डमिन्टन कोर्ट, जिम हल र स्पोर्टस् सामग्रीको होलसेल पसल पनि सञ्चालन गरेका छन् । कफी सपको पनि योजना छ । चाडै जुम्बा पनि उनी सञ्चालनमा ल्याउदैछन् ।

lukendra2

उनले ८ जनालाई रोजगारी दिएका छन् । लगानी झण्डै १५ करोड पुगिसक्यो । उनी नाफा खोज्दैनन् । रोजगारी पाएका परिवारलाई तलब दिन सकेकोमा उनी सन्तुष्टी व्यक्त गर्छन् । साना बालबालिकाहरु भेला पारेर उनी निःशुल्क कराते पनि सिकाइरहेका छन् । सिंगापुर पुलिसमा हुँदा उनी फुल कन्ट्याक्ट विधाको खेलाडी थिए । पछि, प्रशिक्षक पनि भए । सिंगापुर पुलिसमा रहदा च्याम्पियनसमेत भएका उनले सिंगापुरको प्रतिनिधित्व गर्दै विभिन्न देशमा प्रतियोगिताहरु पनि खेलेका छन् ।

विदेशको राम्रो कमाई त्यागेर आफ्नै देशमा केही गरौं भनेर खेलकुदमा समर्पित लुकेन्द्रको अर्को पनि अभियान छ, धरानमा ट्राफिक मिरर जडान गर्ने । उनले आफ्नै खर्चमा मिरर ल्याएका छन् । भेडेटारदेखि धरान शिवधारासम्मको कोशी लोकमार्गमा यो मिरर राख्न चाहे पनि सरोकारवाला निकायबाट उचित सहयोग पाएका छैनन् । त्यसपछि उनले धरानको चोक चोकमा राख्न वितरण गरिरहेका छन् । 

lukendra

उनले बर्षमा ६ वटा फुटसल, ब्याडमिन्टनलगायत प्रतियोगिता पनि आफ्नै खर्चमा गरिरहेका छन् । गत बर्ष मात्र उनको झण्डै ३५ लाख खर्च भयो । केही दिनअघि मात्र उनले बि क्याटोगरी फुटसल पनि आयोजना गरे । आउदो बर्ष प्रत्येक २ महिनामा एउटा प्रतियोगिता गर्ने तालिका नै सार्वजनिक गरेका छन् । उनको आमा बुबा र भाई बेलायतमा छन् । 

उनले चाहे भने सजिलै परिवारसहित उनी पनि जानसक्छन् । तर, धरानमा नै खेलकुद क्षेत्रमा केही गर्ने, धरानको पुरानो साख फर्काउने लक्ष्यका साथ उनी विदेश मोह त्यागेका छन् । अभिभावक, भाई, श्रीमतिको साथ पाएको भन्दै उनीहरुप्रति लुकेन्द्र कृतज्ञ पनि छन् । लाहुरेले पनि समाजमा केही गर्छ भन्ने सकरात्मक सन्देश दिन आफु लागिपरेको उनी बताउँछन् । 

भिडियो: