धरान: धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको सहयोगमा धरान मेघा थ्री वाइ थ्री एसईई लेवल खुल्ला बास्केटवल प्रतियोगिता हुने भएको छ ।

धरान मेघा कलेजको मुख्य प्रायोजनमा यही साउन ३ र ४ गते दुई दिने विद्यालय स्तरिय प्रतियोगिता आयोजना हुन लागेको हो । प्रतियोगितामा कक्षा ५ देखि यसै बर्ष एसइइ दिएका विद्यार्थी खेलाडिहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा धरानसंगै विर्तामोड, उर्लावारी, धनकुटा, तरहरा र विराटनगरका टिम गरि एक दर्जन विद्यालयका टिमले सहभागिता जनाउने आयोजक धरान बास्केटवल संघले जनाएको छ ।

     प्रतियोगिताका विजेता तथा उपविजेताले नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडि र उदयीमान खेलाडिले समेत नगद पुरस्कार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

      धरान बास्केटवल संघको आयोजनामा भर्खरै मात्र ट्यालेन्ट हन्ट बास्केटवल ट्रेनिङ्ग क्याम्प सम्पन्न भएको थियो । ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएर बसेका प्रतिभावान विद्यार्थी खेलाडिहरुलाई धरानको विभिन्न कलेजमा संघले छात्रवृतिmका लागि सिफारिस गर्नेछ।

   यो प्रतियोगिता वास्केटवल खेल विकास तथा खेलाडिको स्तरोन्नतीको लागि आयोजना गरिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए । प्रतियोगिताको सह प्रायोजकको रुपमा सगरमाथा एसडि कलेज रहेको छ । प्रतियोगिता धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगिताको खेल तालिका श्रावण २ गते कफि पव एण्ड रेष्टोमा सहभागि टिमको प्रतिनिधिको उपस्थितिमा तयार गरिने आयोजकले जनाएको छ ।