धरान: हरेक शनिबार बिहान खानेपानीको मुहान क्षेत्रमा मेयर हर्क साम्पाङको आह्वानमा वृहत वृक्षारोपण कार्यक्रम भइरहेको छ । 

यो अभियान अब धरानेहरुबीचमा मात्र सिमित छैन, धरान बाहिरबाट पनि हजारौं मानिसहरु वृक्षारोपणको लागि आइरहेका छन् । त्यसैले धरानबाट वृक्षारोपणको राष्ट्रिय अभियान थालनी भएको झैं सन्देश देशव्यापीरुपमा भइरहेको छ । आज (शनिबार) पनि बिहान हजारौं मानिसहरु विरुवा लिएर सर्दु खोलामा आएका थिए । 

इटहरी, मोरङको लेटाङलगायत विभिन्न ठाउँ, तेह्रथुम, ओखलढुंगा, भोजपुर, वीरगञ्जलगायत स्थानबाट पनि मानिसहरु विरुवा लिएर आएका थिए । तर, आज सबैभन्दा बढी मानिस झापा जिल्लाबाट आएका थिए । झापाको दमक, विर्तामोड, भद्रपुरलगायत ठाउँबाट गाडी रिजर्ब गरेर मानिसहरु विरुवा रोप्न धरान आएका थिए । झापाको किरात कल्याण समितिले सर्दु खोलामा नै मेयर साम्पाङ र प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुलाई किराती सँस्कृति अनुसार फेटा गुथेर सम्मानसमेत गरेका थिए ।

कृषि फर्मले दियो १५ सय बढी विरुवा

jhapali2

बिहान हजारौं विरुवा लिएर झापालीहरु आएका थिए भने दिउँसो पुनः झापको बाह्रदशी गाउँपालिका ७ स्थित फाल्गुनन्द मदन कृषि फर्मले १५ सय बढी विभिन्न फलफुलका विरुवा दिएको थियो ।

उक्त फर्मका सञ्चालक हुन्, मदन बेघा लिम्बु । उनका अनुसार १५४५ वटा विरुवा हस्तान्तरण गरिएको छ । उनले मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघालाई विरुवा हस्तान्तरण गरेका थिए । उनले आफ्नै खर्चमा ढुवानी गरेर विरुवा धरान ल्याएका थिए । 

jhapali1

बेघाका अनुसार कागती, लिची, आँप, अम्बक, बयर, अनार, कटहरलगायत विभिन्न ९ प्रकारका विरुवा रहेको छ । यसको कुल मुल्य १ लाख ३२ हजार ७५० रुपैया रहेको पनि बेघाले जानकारी दिए । ‘उहाँको अभियान एकदमै राम्रो लाग्यो, र मेयर साबलाई सोधेर विरुवा ल्याइदिएको छुँ,’उनले भने,‘२०७४ सालदेखि कृषि फर्म र नर्सरी छ । कागती, ड्रागन, सुपरीलगायत ५५, ६० बिघा क्षेत्रफलमा छ । रागा, भैसी, बाखा्रपालन पनि गरेको छुँ ।’ उनले विरुवासँगै श्रमदान गर्नेहरुलाई खाजाको लागि नगद २० हजार पनि सहयोग गरेका छन् । 

घना जंगल बनाउनुपर्छ, एक्लै हिड्दा भुत आउने डर होस्

मेयर साम्पाङले सहयोगीलाई धन्यवाद प्रकट गर्दै पाखाभित्ता सबैतिरको वनमारा उखेलेर फलफुलको विरुवा रोप्ने बताएका छन् । उनले केही बर्षपछि घना जंगल बनाउने र एक्लै हिड्दा भुत पो आउछ कि भन्ने डर हुने स्थिति बनाउदा मात्र जलाधार संरक्षण हुने बताए । उनले भने, ‘यो पाखा भरि फलफुलको बगैचा बनाउने, बगरमा पनि बगैचा नै हुन्छ ।’

भिडियो: