धरान: केही चर्को आवाज निकाल्ने बुलेट बाइक । कसैको हात, गलामा ट्याटु त कसैको लामो कपाल । हेर्दा असामान्य लाग्ने यी युवाहरुप्रति समाज पनि सकरात्मक हुदैनन् । तर, रोयल इन्फिल्ड बाइक चलाउने यिनै युवाहरु भने धरानको पर्यटन प्रर्वद्धनमा जुटेका छन् ।

करिब १० बर्षअघि बुलेट बाइक चलाउने युवाहरुले रोयल इष्टर्न इन्फिल्डर्स क्लब गठन गरेका थिए । यही क्लबको आयोजनामा भदौ २४, २५ र २६ गते धरानमा ब्लाक हग राइडर्स मिट हुदैछ । धरानको हरियाली सामुदायिक वनमा हुने यो राइडर्स मिटमा नेपाल, भारतका गरि २ सय भन्दा धेरै राइडर्सहरु सहभागी हुने क्लबका सचिव बुद्ध लामाले जानकारी दिए । साथै, एक जना आयरल्याण्डबाट पनि सहभागी हुन आउदैछन् । उनी नेपाली नै हुन् ।

bullet

मोटरसाइकलमार्फत युवाहरुबीच भाइचाराको सम्बन्ध अभिवृद्धि गर्ने र धरान तथा आसपासको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष योगेन राईले जानकारी दिए । सवारी दुर्घटना न्युनिकरणको लागि सचेतना गराउने र लागुऔषध दुव्र्यसनविरुद्ध युवाहरुमा जनचेतना गराउने पनि कार्यक्रमको उद्देश्य रहेको उनले जानकारी दिए । 

तीन दिनसम्म हुने कार्यक्रममा धरानको परिचय तथा आतिथ्यता अनुभव गराउने, मौलिक साँस्कृतिक झाँकी साकेला, च्याब्रुङ, लाखे नाच देखाउने, पुर्वको मौलिक खानाको परिकार चखाउने पनि उनले बताए । चर्चित धराने कालो बंगुर भएको हुनाले कार्यक्रमको नाम ब्लाक हक राखिएको र लागोमा पनि कालो बंगुर राखिएको अध्यक्ष राईको भनाई छ ।

buleet

कार्यक्रम अवधिभर धरानको धार्मिक पर्यटकीयस्थल विजयपुरका मठमन्दिर र भेडेटार पनि राइडमा जाने कार्यक्रम संयोजक लक्ष्मण राईले जानकारी दिए । यस्तै, एडभेञ्चर गेम, सांगीतिक कार्यक्रम, पुरस्कार तथा उपहार वितरण पनि कार्यक्रम हुनेछ । सांगीतिक कार्यक्रमको लागि चर्चित गायक डिल्ली फोम्बो संयोजक छन् । कार्यक्रमको आर्थिक संयोजक एसपजंग रुम्दालीका अनुसार कार्यक्रममा २४ लाख ६० हजार आय हुने र २३ लाख २६ हजार ७५० रुपैया खर्च हुने अनुमान गरिएको छ । यद्यपी, मुख्य प्रायोजक र सहयोगी दाताहरु हालसम्म नभेटिएको पनि क्लबले जानकारी दिएको छ । आर्थिक अभावको बीचमा पनि कार्यक्रमको तयारी गरिएको र आगामी बर्षहरुमा निरन्तरता दिन सम्भव होला कि नहोला भनेर भन्न नसक्ने पनि अध्यक्ष राईले बताए । 

भिडियो: