दसैँको समय यात्रुको चाप बढी हुन्छ । घर छाडेर टाढा बसेकाहरु घर फर्किने, घरमै भएकाहरुपनि विभिन्न कारण यात्रा गर्नुपर्ने बाध्यतामा हुन्छन् । यस प्रकारको क्रियाशिलताले सार्वजनिक यातायात सेवामा पनि चाप बढ्ने गर्दछ । तर, सिमित सवारीसाधन, यात्रुको अधिक चाप, सिमित सडक पूर्वाधार र दवावमा रहेको मानसिकताका कारण चाडको समय सडक दुर्घटना बढ्ने गरेको छ ।  

यात्रुहरुको चाप बढेपछि रुटका सवारीसाधनले अन्य समयको भन्दा दोब्बर यात्रु ओसारपसार गर्नुपर्ने अवस्था छ । अरु समयको जस्तै नियमित चेकजाँचको अभावमा सवारीसाधन निरन्तर कुदिरहनु पर्ने र सवारीसाधनको क्षमता भन्दा अधिक यात्रु बोक्नु पर्ने कारण सडक दुर्घटना हुने गरेका छन् । 

आराम नगरी निरन्तर यात्रु ओसारपसार गर्नुपरेपछि चालकमा थकान आउनु स्वभाविक हुन्छ । केही आम्दानी हुने आशामा समयमा खानपीन, शरीरलाई आराम नभएपछि काम गर्न समस्या उत्पन्न हुन्छ । जसले दुर्घटनालाई नजिक ल्याउछ ।

सवारीसाधनको पनि मर्मत गर्न सकिएको छैन । तर, काम गर्नैपर्ने दवाव चालकमाथि थोपरिँदा सडक दुर्घटना बढेको पाईएको छ । त्यस्तै कामका सिलसिलामा प्रशासनिक झमेला तथा दुरुत्साहनले पनि दुर्घटना हुने गरेको छ ।

सडक दुर्घटनाका कारणहरु: 

भौतिक कारण, पर्याप्त सडक पूर्वाधार नहुनु, मापदण्डविपरित प्रविधिविहिन सडक र अत्यधिक सवारीसाधनको चाप सडक दुर्घटनाको कारण बनेको छ । 

मानवीय कारण, मानवीय अन्तर्गत चालक, पैदलयात्री तथा सडक उपभोक्ताहरु पर्दछन् । सडक प्रयोग गर्दा उनिहरुसंग हुनु पर्ने चेतना, ज्ञान, शीप र अनुभवहरु साथै अवस्थाले परेको असरका कारण सडक दुर्घटना निम्तिने गर्दछ । 

यान्त्रिक कारण, सुरक्षित यात्राका लागि सुरक्षित सवारीसाधन हुनु पर्दछ, सवारीको अवस्था राम्रो हुनु पर्दछ । यान्त्रिक रुपमा सवारीसाधन ठिक हुनु आवश्यक छ । मुख्यतयाः सवारी साधनमा प्रयोग हुने टायरदेखि प्रयोग हुने ईन्धन र पार्टपुर्जाहरु ठिक अवस्थामा नहुदा सडक दुर्घटना हुने गरेको तथ्यले देखाएको छ ।

पर्यावरणीय कारण, कुनै वस्तु, विषय, व्यक्ति आदिको स्थिति वा वातावरण पनि दुर्घटनाको कारण हो । साथै हावा, पानी, आँधिहुरी, बाढी, पहिरो हुस्सु, कुहिरो आदिका कारण सडक दुर्घटना हुने गरेको छ । 

दसैँको समय चालकहरुले ध्यान दिने कुराहरु: 

हतार नगर्नुस्: 

तिब्र गति, जीवनको क्षति त्यतिकै भनिएको होईन । तिब्र गतिकै कारण सडक दुर्घटना बढीरहेको तथ्यले देखाएको छ । केही समय ढिला भएपनि धैर्य हुनुस् तिब्र गतिमा सवारी नचलाउनुस् ।  

मोवाइल फोनमा कुरा नगर्नुस्:

मोवाइल फोनमा कुरा गर्दा एउटा हात मोवाइलमा र ध्यान कामको विषयमा केन्द्रीत हुन्छ जसका कारण सवारीसाधन अनियन्त्रित हुन्छ । चालकको यस्ता क्रिकलापका कारण सडक दुर्घटना हुनेहुँदा तपाँइ यदी सवारीसाधन चलाईरहेको बेला मोवाइल फोनमा घण्टी बजिरहेको छ भने कृपया नउठाउनुस् । आपतकालिन अवस्था नै हो भने सवारीसाधन रोकेर कुरा गर्नुस् या मिस कलका आधारमा गणतव्यमा पुगिसकेपछि कलव्याक गरेर कुरा गर्नुस् । 

ओभरलोड गरेर सवारीसाधन नचलाउनुस् :

तपाँइले चलाएको सवारीसाधनमा सिट क्षमता भन्दा बढी यात्रुलाई यात्रा नगराउनुस् । सामान्यतयाः उभिएर पनि यात्रा गर्नुपर्ने हुन्छ त्यस्तो अवस्थामा अत्यधिक मात्रामा यात्रु कोचेर वा भिडभाड गराएर यात्रा नगराउनुस् ।

तनावमुक्त हुनुस्:

चालक तनावमुक्त, दवावमुक्त र खुशी हुनुपर्दछ । दवाव र तनावमा सवारी चलाउदा पनि सडक दुर्घटनाहरु हुने गरेको अध्ययन देखाएको छ । चालक आफु मात्रै खुशी होईन आफुले चलाएको सवारीसाधनमा यात्रा गर्ने अन्य यात्रुहरुलाई पनि हँसाएर रोमाञ्चित बनाएर यात्रा गराउनेगरी सवारी चलाउनु पर्दछ ।

यात्रुसंग बढी भाडा नलिनुस्:

राज्यले निर्धारण गरेको भन्दा बढी भाडा असुल्नु अपराध हो । सवारी तथा यातायात व्यवस्था ऐन र उपभोक्ता संरक्षण ऐनले दण्डीत गर्ने व्यवस्था गरेको छ त्यस्तो अपराध नगर्नुस् । हाम्रा पनि परिवार आफन्त यसै गरी यात्रा गर्नुपर्छ र आफुले पनि यातायातमा काम गर्ने समय बाहेक अन्य समय सार्वजनिक यातायात उपभोग गर्नुपर्छ भन्ने विषयमा ध्यान दिनुस् र यात्रुसंग तोकिएको भाडा मात्रै लिनुस्, बढी भाडा नलिनुस् ।

सवारीसाधनको अवस्था ठिक राख्नुस्:

सुरक्षित यात्राका लागि सुक्षित सवारीसाधन हुनु पर्दछ । हामीले काम गर्ने सवारीसाधन सबै र सँधै नयाँ हुँदैन । तर, हामीले चलाउने सवारीसाधनले सेवा सुरु गर्नु अघि र गणतव्यमा पुगिसकेपछि सवारीसाधनको अवस्थाको चेकजाँच गर्नुस् । मोविल, पानी, ईन्धन, ब्रेक, टायर, टाइरड, ईन्जिन लगायत अत्यावश्यक र महत्वपूर्ण पार्टपुर्जाहरु राम्ररी चेकजाँच गर्नुस् । आफुले चलाउने सवारीसाधनको अवस्थालाई सँधै ठिक अवस्थामा राख्र्नुस् ।

कागजातहरु सुरक्षित राख्नुस्:

सवारीसाधन लिएर ग्यारेजबाट निस्किसकेपछि तपाँईको साथमा सवारीसाधनको ब्लुबुक, जाँचपास, रुटपरमिट, चालक अनुमति पत्र लाईसेन्स तथा सवारीसाधनका आवश्यक सम्पूर्ण कागजातहरु दुरुस्त र साथमा राख्नुस् । बिमा गरिएको छ कि छैन हेनुस्, आवश्यक कागजात तथा चेकजाँच गर्ने अधिकारीहरुले मागेको समय सबै कागजातहरु देखाउनुस् । ती अधिकारीहरुसंग कुनै किसिमको वादविवाद नगर्नुस् । कागजपत्र जफत गरिए सम्बन्धीत प्रालि वा संघ, संगठनलाई जानकारी गराउनुस् । 

समयबद्ध हुनुस्:

अहिले अधिकांश राजमार्गहरुमा समय कार्ड जारी भएको छ । विशेष गरि दुर्घटनाग्रस्त क्षेत्रहरुमा समयसिमा तोकेर त्यस समयको परिधिभीत्र र तोकिएको गतिमा सवारी चलाउनु पर्ने नियम बनेको छ । तसर्थ एउटै रफ्तारमा सुरक्षित तरिकाले सवारीसाधन चलाउनुस् । तिब्र गतिमा सवारी चलाउने र समय मिलाउन अर्को ठाँउमा पुगेर रोकेर बस्ने नगर्नुस् । 

संयमता अपनाउनुस्, सडक प्रयोग गर्ने अरुको अधिकारको सम्मान गर्नुस्:

सडक पूर्वाधारहरु हाम्रो देशमा सारै कम छन्, प्रायजसो एउटै राजमार्ग प्रयोग गर्नु पर्ने बाध्यताछ । भएका सिमित राजमार्गहरु सबैको साझा सम्पिति हो । राजमार्ग प्रयोग गर्ने सबैको अधिकारको सम्मान गर्दै संयमता पूर्वक राजमार्ग प्रयोग गर्नुस् । अधैर्य र जवरजस्त चालक भयौं भने यो राजमार्ग मृत्युमार्गमा परिनत हुन्छ यस विषयमा सजग रहनुस् ।

खानपान र जीवनशैलीलाई सामान्य राख्नुस्:

नशालु पदार्थहरु (मादक पदार्थ सेवन, लागु पदार्थ सेवन) बाट टाढा रहनुस् । ड्राईभिङ र नशालु पदार्थको सेवनको सिधा सम्बन्ध मानवीय मस्तिष्कसंग सम्बिन्धीत छ । त्यही भएर नेपालको कानुनले ड्रिङ्क एण्ड ड्राईभलाई वर्जित गरेको छ । यसको खास कारण सडक दुर्घटना नै हो । तसर्थ यो अक्षम्य अपराध नगर्नुस् । आफ्नो आचरणलाई व्यवस्थित गर्नुस् अनुशासित हुनुस् ।

काम र जीवनलाई सन्तुलित गर्नुस्:

आठ घण्टा काम, आठ घण्टा विश्राम र आठ घण्टा परिवारसंग मनोरञ्जन ट्रेड युनियनले उठाउँदै आएको श्रमिकहरुको जीवनसंग सम्बिन्धीत विषयहरु हुन् । निरन्तर सवारीसाधन चलाईरहनु भयो भने त्यो कामले तपाँईको स्वास्थ्यमा असर पार्छ । जसका कारण दुर्घटना निम्तिन्छ र तपाँई र तपाँईको ड्राईभिङमा रहेका सबै यात्रुहरुको जीवनमा गम्भिर असर पार्छ । तसर्थ काम र जीवनलाई सन्तुलन मिलाउनुस् । 

महिला, बालबालिका र बृद्धबृद्धालाई सम्मान गर्नुस्:

तपाँईले चलाईरहेको सवारीसाधनमा महिला, बृद्धबृद्धा, बालबालिका, अशक्त र फरक क्षमताका यात्रुहरु हुनसक्छन् । उनिहरुको क्षमता र समस्याहरु तपाँईहामीभन्दा फरक हुनसक्छ । सकेसम्म उनिहरुलाई सहयोग गर्नुस् सकिएन भनेपनि कमसेकम सम्मान गर्नुस् । उनिहरु हाम्रो छोरी, छोरा, आमा, बुवा, श्रीमति वा परिवार जस्तै हुनसक्छन् भन्ने सम्झिनुस् ।

गुणस्तरहिन खाद्य बिक्री गर्ने राजमार्गका होटलमा यात्रुलाई नलानुस्:

सार्वजनिक यातायातको यात्रा त्यसमा पनि लामो यात्रा पीडादायी हुन्छ । सबैको स्वास्थ्य एकनासको हुदैन ।  यस्तो अवस्थामा तपाँईले चलाईरहेको सवारीसाधनलाई स्वस्थ र गुणस्तरिय खानपान गर्ने होटलमा लानुस् । जनस्वास्थ्य र जनतालाई ठगी गर्ने लाईन होटलहरुमा नलानुस् । 

अस्वस्थ उछिनपाछिन नगर्नुस् :

सडक साझा भएकाले सवै प्रकृतिका सवारी साधनदेखि पैदलयात्रीसम्मको साझा थलो सडक हो । सडक पुरापुर भरिएको हुन्छ । यस्तो अवस्थामा यात्रुको पाउने आसमा होस् या ढिला भएको कारण सुरक्षित स्थानको अभावमा उछिन्ने वा अस्वस्थ प्रतिस्पर्धा गर्ने काम नर्गनुस् । अस्वस्थ प्रतिस्पर्धा र उछिनपाछिनले सडक दुर्घटना बढाउँछ । 

सडक सुरक्षा र आम चिन्ता:

सडक यातायात नेपालका लागि बिकल्पहिन बिकल्प हो । तर, नेपालको सडक यातायात सुरक्षित छैन । प्रत्येक वर्ष सडक दुर्घटनामा परेर २ हजार ५ सय २० देखि २ हजार ८ सय ८० जनाको ज्यान गईरहेको छ । सडक दुर्घटनामा परेर प्रत्येक वर्ष १४ हजार ४ सयको हाराहारीमा घाईते भईरहेकाछन् । दसैँ आसपास एकहप्ताभीत्र मकवानपुरको भिमफेदी, रुकुम पूर्व, धादिङको गजुरी तथा अन्य जिल्लाहरुमा सडक  दुर्घटनामा करिव दुई दर्जनले ज्यान गुमाई सकेकाछन् । 

आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार संघिय सरकारबाट ३३ हजार ८ सय ७१ किलोमिटर र प्रादेशिक र स्थानीय सरकारबाट ६४ हजार ६ सय १७ किलोमिटर सडक विस्तार भएको छ । २०७८ असारसम्म देशभर जम्मा ९८ अजार ४ सय ८८ किलोमिटर सडक सञ्जाल विस्तार भएको छ । ४५ लाख हाराहारीमा सवारीसाधनहरु सञ्चालनमा रहेकाछन् । त्यसमध्ये करिव २० लाख सवारीसाधन काठमाण्डौं उपत्यकामा मात्रै सञ्चालनमा रहेका छन् । 

अन्त्यमा:

सडक दुर्घटना न्युनिकरण र सडक पूर्वाधार सुधार यातायात श्रमिकहरुको एकल प्रयासबाट मात्रै सम्भव छैन । त्यसका लागि राज्य तहबाटै प्रयास हुनु पर्दछ । नीति निर्माण गरि सडक सुरक्षा परिषद निर्माण गरेर सुधारको काम हुनु पर्दछ । तर, यस विषयमा राज्य गम्भिर छैन, यसो भनेर हामी आफैपनि मौन हुन मिल्दैन । श्रमिकहरुको तहबाट, श्रमिकहरुको संगठनहरुको तहबाट, यातायात व्यवसायीहरुको तह र अन्य सरोकारवालाहरुको स्थानबाट प्रयत्न जारी राख्नु पर्दछ । चाडबाडका समय बढ्ने सडक दुर्घटना न्युनिकरण गर्दै त्यसको सामाजिक, आर्थिक र मानवीय असरलाई कम गर्नु पर्दछ, यसै विषयमा सुझावहरु प्रस्तुत गरिएका हुन् ।

-लेखक राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष हुन् ।