धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले सम्पन्न भइसकेका योजनाहरुको फाइल आफुसँगै राखेपछि भुक्तानी अड्किएको बिषयमा वडाअध्यक्षहरुले सहमतिको प्रयास गरेपनि विफल भएको छ ।
आइतबार र सोमबार वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले समस्या हल गर्न निरन्तर प्रयास गरेका थिए । सोमबार पनि बिहानदेखि नै वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच छुट्टा छुट्टै संवाद गरेर सहमति जुटाउन प्रयास गरेका थिए ।
मेयर साम्पाङले धरान वडा १६ नौलो बस्तीस्थित बहुभाषिक पाठशाला जोगाउन लगाएको तारजाली (सामान)को भुक्तानी नभए अन्य योजनाहरुको पनि भुक्तानी नहुने भन्दै सम्पन्न भइसकेका योजनाहरुको फाइल आफुसँगै राखेका छन् । उपमेयर बेघाले भने प्रक्रिया मिचेर भएको उक्त कार्यको भुक्तानी दिनु गैरकानुनी हुने आफ्नो पुर्ववत अडानमा कायमै रहेपछि सहमतिको प्रयासले सार्थकता पाउन सकेन ।
सहमतिको प्रयास टुटेपछि मेयर साम्पाङले १६ को तारजालीको भुक्तानी भए सबैको भुक्तानी हुने नभए कुनैको पनि नहुने भन्दै आफ्नो बटमलाइन क्लियर भएको सामाजिक सञ्जाल फेसबुकमा अभिव्यक्ति दिएका छन् । उपमेयर बेघाले पत्रकारहरुलाई प्रतिक्रिया दिदै वडा १६ को तारजाली लगाउने काम सकेपछि मात्र स्टिमेट र सम्झौता भएकोले उक्त गैरकानुनी कामको भुक्तानी दिलाउन आफ्नो सहमति नहुने प्रष्ट्याए । उनले कानुनसम्मतरुपमा सम्पुर्ण प्रक्रिया पुरा भएर भुक्तानीको लागि गएको फाइल मेयर साम्पाङले कब्जा गरेको र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मेयर नै हुने पनि बताए । उपमेयर बेघाले मेयर साम्पाङले अनावश्यकरुपमा कब्जामा राखेको फाइलहरु विनासर्त फिर्ता गरेर भुक्तानी प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
मेयर साम्पाङ र उपमेयर बेघाको अडानले सहमति प्रयास टुटेसँगै संघ र प्रदेशको ससर्त अनुदान, समपुरक अनुदान र सडक बोर्डको सम्पन्न भएका योजनाहरु भुक्तानी प्रक्रिया अड्किदा करोडौं रुपैया फिर्ता हुने जोखिम बढेको छ । यसले यहाँका निर्माण व्यवसायीहरु प्रत्यक्ष मारमा परेका छन् । निर्माण व्यवसायीहरुले सोमबार दिउँसो मेयर साम्पाङलाई ज्ञापन पत्र बुझाउदै तत्काल भुक्तानी उपलब्ध गराउन माग गरेका थिए । त्यसबेला सहमति हुन लागेको भन्दै मेयर साम्पाङले निर्माण व्यवसायीहरुलाई आश्वासन दिएपनि उनले भनेजस्तो परिणाम आएन ।
बजेट पनि अन्योल
धरान वडा नं १६ नौलो बस्तीको तारजाली प्रकरणले अहिले सम्पन्न भएका योजनाहरुको भुक्तानी मात्र रोकिएको छैन, आगामी आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम एवं बजेट पनि अन्योलमा छ । असार १० गतेभित्र नगरसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्नुपर्नेमा तारजाली भुक्तानीको विवाद चर्किएर नगरसभा पनि समयमा बस्न सकेन ।
अहिले फेरि भुक्तानी विवादको कारण पुनः बजेट निर्माण प्रक्रिया ओझेलमा परेको छ । बजेट निर्माणको लागि मेयर, उपमेयर र कार्यपालिका सदस्यहरुबीच आवश्यक समन्वय र छलफल भएको छैन । उपमेयर बेघाले नगर प्रमुखले नै समन्वय गरेर बजेट निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताए । ‘नगर प्रमुखले समन्वय गरेर बजेट निर्माण प्रक्रिया अघि बढाउनुहुन्छ भन्ने मलाई विश्वास छ,’ कहिलेसम्म होला भन्ने पत्रकारको प्रश्नमा बेघाले भने,‘त्यो उहाँले जान्ने कुरा हो ।’
भिडियो:







