धरान: सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले तथा जनता समाजवादी पार्टीका साझा उम्मेदवारलाई जिताउन १७६ सदस्यीय श्रमिक परिचालन कमिटी गठन गरिएको छ ।
निर्माण क्षेत्रसम्बद्ध मजदुर नेता मूक्तिनाथ गिरीको संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मा आबद्ध श्रमिकहरुको अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले नेकपा एमाले र जसपाका साझा उम्मेदवारलाई मतदान गर्ने संकल्पसहित कमिटी घोषणा गरिएको हो । कमिटीमा यातायात, निर्माण, सुरक्षा, सरसफाइ, अटो मेकानिक, स्वास्थ्य स्वयमसेवी क्षेत्रका श्रमिकहरुलाई समेटेर परिचालन कमिटी निर्माण गरेको हो ।
‘पार्टीले निर्णय गरेका, पार्टीले फैसला गरेका उम्मेदवारलाई जिताउने गरी जिफन्टले तय गरेको नारा ‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ लाई अघि सार्दै साझा उम्मेदवारको जितका लागि श्रमिकहरु लागिपर्ने संकल्प गरिएको छ,’ मजदुर नेता भीम ज्वाला राईले भने, ‘यहाँ अधिकांश मजदुर साथीहरु काम गर्नुहुन्छ, १५ हजार यातायात मजदुर हुनुहुन्छ, २५ हजार बढी निर्माण क्षेत्रमा काम गर्नुहुन्छ, ३५– ४० हजार श्रमिकहरु यो क्षेत्रमा हुनुहुन्छ ।’
नेकपा एमाले र जसपालाई विजयी गराउनु पर्छ भन्ने कार्यभारका आधारमा सुनसरी क्षेत्र नं. १ मा मजदुर परिचालन हुने अन्तरक्रिया तथा भेलामा श्रमिकहरुले धारणा राखेका छन् । श्रमिकहरु पार्टी हाइकमाण्डको निर्देशनका आधारमा अघि बढ्ने कार्यकर्ता भएको धारणा राख्दै मजदुर नेता ज्वालाले भने, ‘पार्टीका निर्देशनविपरीत मजदुरहरु कुनै हालतमा विचलित हुनेछैनन् ।’
स्वतन्त्रका नाममा बागी उम्मेदवारी दिएकाहरुले विगतमा श्रमिकहरुका विरुद्धमा काम गरेको पनि उनले बताए । सुनसरी क्षेत्र १ मा एमाले जसपाका साझा उम्मेदवार अशोककुमार राईले घरदैलो अभियानमै आफूलाई जनताले अनुमोदन गरेको पनि बताए । मजदुर, श्रमिकहरुको भूमि धरानमा मजदुरले गरेको सम्मानले आफू जितको नजिक पुगेको अनुभूति भएको उम्मेदवार राईले बताए । उम्मेदवार राईले भने, ‘चुनाव जित्नमात्र एमाले–जसपाको समीकरण होइन, यो राष्ट्रिय सरकार निर्माण र समृद्ध नेपाली सुखी नेपालीको महान् आकांक्षा पूरा गर्नका लागि निर्माण भएको हो ।’
कार्यक्रमले मजदुरमा थप उत्साह जगाएको मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका धरान अध्यक्ष कमल भट्टराईले बताए । जिफन्ट धरानका अध्यक्ष शमशेर बर्देवाको सभाध्यक्षतामा भएको भेला तथा अन्तरक्रियामा मजदुर नेता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका १ नं. प्रदेश उपाध्यक्ष तीर्थ दाहालले सञ्चालन गरेका थिए ।