धरान: सत्ता गठबन्धनबाट सुनसरी क्षेत्र नं १ प्रदेशसभा १ (१) मा नेपाली कांग्रेसका उमेश थापा उम्मेद्वार थिए । उनी नेपाली कांग्रेस प्रदेश नं १ कमिटीका महामन्त्रीसमेत हुन् । धरानमा उनी कांग्रेसका प्रभावशाली नेता हुन् । 

बामपन्थी गढ सुनसरी क्षेत्र न १ को प्रदेशसभामा अघिल्लो निर्वाचनमा एमालेले जितेको थियो । धेरै नेता, कार्यकर्ताहरु माधव नेपालको पार्टीमा नगएपनि १० बुँदे र संस्थापन (ओली) पक्षबीचको तिक्ततापुर्ण मनोविज्ञान र सत्ता गठबन्धनको उम्मेद्वार भएकोले थापालाई विगतको निर्वाचन भन्दा सहज हुने अनुमान गरिएको थियो । एमालेमा प्रतिनिधिसभा सदस्य नपाउदाको असन्तुष्टीले चुनावी अभियानलाई प्रभावित बनाएको थियो । यद्यपी, आज शुक्रबार प्रदेशसभा १ (१) को मतगणना सकिदा एमालेका उम्मेद्वार रमेशकुमार बस्नेत विजयी भए । 

बस्नेतसँग थापा १३५० मतान्तरले पराजित हुन पुगे । बस्नेतले १११०२ मत पाए भने थापाले ९७५२ मत पाए । बस्नेतको जित र थापाको हारमा कांग्रेस नेता, कार्यकर्ताहरुको भुमिका नै महत्वपुर्ण रह्यो । कांग्रेस पकड क्षेत्रमा थापाले जति मत पाउनुपर्ने थियो, त्यति पाउन सकेनन् । अन्तरघात नै उनको हारको कारण बन्यो । 

umesh1

यो निर्वाचनमा धरानमा तेस्रो शक्तिकोरुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उदय भएको छ । गएको स्थानीय निर्वाचनको मतपरिणाम हेर्ने हो भने वडा नं १४ जिते पनि समग्रमा राप्रपाको भोट नगन्य थियो । प्रदेशसभा १ (१) को मतगणना सकिदा राप्रपा उम्मेद्वार उद्धव श्रेष्ठ (मकै)ले ८ हजार ३३६ मत पाए । उनले पाएको यो मत अधिकतर नेपाली कांग्रेसबाट गएको अनुमान गरिएको छ । 

उम्मेद्वार थापा स्वयमले पनि अन्तरघात भएको स्वीकार गर्दै पार्टीमा निर्मम समिक्षा गर्ने र वदमासहरुलाई हदैसम्म कारबाही हुने बताए । चुनावी परिणाम पछि प्रतिक्रिया दिदै उनले भने,‘यो परिणामले झस्काएको छ । पार्टीमा गम्भीर समिक्षा गछौं, र हदैसम्म कारबाही हुन्छ । पार्टीको मजबुद स्थानहरुमा पनि हामीले निर्वाचन गुमाएका छौं ।’

थापाले अन्तरघात भएको स्वीकार गर्दै पार्टीको जिम्मेवार निकायले छानबिन गर्ने र आफु उम्मेद्वार भएको हिसाबले पनि प्रतिवेदन बुझाउने बताए । उनले भने,‘पार्टीका जिम्मेवार तहमा बसेका नेताहरुले जुन वदमासी गर्दैछन्, त्यसले पार्टीप्रति वितृष्णा बढाएको छ । नयाँ पुस्तालाई पार्टीमा किन लाग्ने, के को लागि भन्ने भन्ने नैराश्यता ल्याउदैछ । पार्टीमा सुधार गर्नुपर्छ, पार्टीमा थोरै मान्छे, असल मान्छे राखेर संरचनामा सुधार गर्नुपर्छ ।’

भिडियो :