धरान: रानी विराटनगर इटहरी धरान सडक योजना अन्तर्गत धरानको बजार क्षेत्र भएर जाने सडक ६ लेन विस्तार गर्ने कि बाइपास गर्ने भन्ने बहस टुंगोमा पुगेको छैन । 

६ लेन सडक विस्तार गरिदा बजार क्षेत्रमा अरबौंको भौतिक संरचना क्षति पुग्ने भएकोले बाइपास गर्नुपर्ने भन्दै पहल र सर्वे गरिए पनि त्यसले औपचारिकता पाउन सकेन । बजार क्षेत्रमा ४ लेन सडक मात्र विस्तार गर्ने विकल्पको प्रस्ताव पनि अघि बढ्न सकेको छैन । यो सडक योजनाको काम सकिन लाग्दा धरान उपमहानगरपालिकालाई आवश्यक क्षेत्र क्लियरेन्स गरिदिनको लागि आयोजनाले पटक पटक पत्राचार पनि गरिसकेको छ । 

आयोजना रहदा नै सडक विस्तार हुन नसके पछि बजेटको सुनिश्चितता हुन नसक्ने भएकोले ठोस निर्णय लिनुपर्ने भन्दै नवनिवार्चित संघीय र प्रदेशका सदस्यहरुले पनि स्थानीय सरकार प्रमुख साम्पाङलाई पहलकदमी लिन आग्रह गर्दै आएका छन् । विभिन्न कार्यक्रमहरुमा मेयर हर्क साम्पाङले नै सडक आयोजनाले आफुलाई २ पटक पत्राचार गरिसकेको जानकारी दिदै सबै सरोकारवालाहरुसँग छलफल राख्ने अभिव्यक्ति दिदै आएका छन् ।

यसैबीच, हिजो (शनिबार) सुनसरी क्षेत्र नं १ बाट निवार्चित सघ र प्रदेशका सांसदहरुसँग धरानका राजनीतिक दलहरुले ६ लेन सडक विस्तारबारे छलफल गरेको थियो । सुनसरी उद्योग वाणिज्य संघको हलमा भएको छलफलमा आयोजना, स्थानीयबासी र उपमहानगरपालिकासँग समन्वय गरेर संवाद गर्ने समझदारी भएको प्रदेश सांसद रमेशकुमार बस्नेतले जानकारी दिए । ‘संवादहिनताको अवस्था राख्नुभएन । त्यसैले नगरपालिका, दल, वडाबासी र आयोजनाबीच संवाद गरौं भन्ने छलफल भएको छ,’सांसद बस्नेतले भने,‘४ लेनमा सहमति हुनसक्छ कि भन्ने छ । त्यसको लागि आयोजनासँग परामर्श गर्नुपर्ने हुन्छ ।’

dharan

धरानको तीनकुनेदेखि जिरो पोइन्टसम्मको ५ किलोमिटर सडक विस्तार हुन सकेको छैन । यो सडक विस्तार कार्य नगरि आयोजना फर्किएमा धरानमा कुनै पनि आयोजनाहरुमा सहमति नहुने र विकासमा सधैं विवाद भइरहने गलत सन्देश पनि जाने भएकोले चाडै निर्णयमा पुग्नुपर्ने सांसद बस्नेले बताए । ‘विकास र आयोजनाहरुमा सधै विवाद रहिरहने हो भने धरान पछि पर्छ, त्यसैले सबै पक्षसँग छलफल, पहल गर्ने समझदारी हो,’उनले भने ।

उक्त छलफलमा सहभागी एक राजनीतिक दलका नेताका अनुसार ६ लेन सडक विस्तार हुँदा धेरै भौतिक संरचनाको क्षति पुग्ने भएकोले ४ लेन बनाउनेबारे राजनीतिक दलहरुबीच समझदारी कायम भएको छ । तर, यसलाई स्थानीय सरकारले पहल गरेर ठोस निचोडमा पुग्नुपर्ने उनको भनाई छ । ‘अहिले आयोजना हुँदा नै नगरले पहल गरेर कम्तीमा ४ लेन सडक विस्तारमा सहमति गर्ने र साइट क्लियरेन्स गराउन लाग्नुपर्छ,’ती नेताले भने,‘अहिले बजेट हुँदा नै काम भएन भने पछि बजेट सुनिश्चितता नहुँदा गाह्रो हुन्छ ।’

ती नेताका अनुसार डिभाइडर ४ फिटसहित ५२ फिट सडक बनाउने र दुवै तिर ६ वा ८ फिटको हिसाबले १२ वा १६ फिट पार्किङको स्पेश पनि थपिनेछ । यसो हुँदा ८० वा ८४ फिटको सडक विस्तार हुनेछ । 

यता, आयोजना प्रमुख दानबहादुर शाक्यले पनि धरानमा ६ लेन अर्थात ५० मिटरको सडक विस्तार नभै ३० मिटरको मात्र गर्ने बताए । अहिले भानुचोकदेखि छाताचोकसम्म १५ मिटर अर्थात ५० फिट सडक कायम छ । अब थप १५ मिटर अर्थात ५० फिट विस्तार गर्ने आयोजनाको लक्ष्य रहेको उनले बताए । ‘अहिले जति भानुचोकदेखि छाताचोकसम्म सडक चौडा छ, त्यसको डबल हुन्छ,’उनले भने ।