धरान: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन,नेपाल (एन-प्याव्सन)को आयोजनामा जारी अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेको छ ।

शुक्रवार हुने फाइनल खेलमा पुरुषतर्फ धरान मेघा र लोटस स्कुलबीच प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ सियोन र पर्वत स्कुल बीच प्रर्तिस्पर्धा हुनेछ । बिहिबार भएको सेमिफाइनल खेलमा पुरुषतर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्यो भने लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै अन्तिम दुईमा स्थान बनायो । 

यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ ले पराजित गर्यो भने पर्वत स्कुलले कार्मेल स्कुललाई २६–६ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्यो । एनप्याब्सनको खेलकुद सप्ताह अन्तर्गत जारी बास्केटवल प्रतियोगितामा कक्षा १२ सम्मका महिलातर्फ ८ र पुरुष तर्फ ८ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता तथा उपबिजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा जारी प्रतियोगितामा धरान बास्केटवल संघको प्रविधिक सहयोग रहेको छ ।