धरान: २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कपमा पहिलो पटक वडा नं ५ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा वडा नम्बर १ लाई ४–२ गोल अन्तरले हराउदै वडा ५ सेमीफाइनलमा प्रवेश गरेको हो । खेलमा वडा ५ को जितमा मन्दिप राईले २ गोल गरेका थिए भने संगम राई र साजन लिम्बूले एक/एक गोल गरेका थिए । मन्दिपले खेलको १६ र ३२ मिनेटमा गोल गरेका थिए भने संगमले २३ र साजनले ३६ मिनेटमा गोल गरेका थिए । खेलमा २ गोल गरेका वडा ५ का मन्दिप म्यान अफ द म्याच घोषित भए । उनलाई नगद दुई हजार र ट्रफी पुरस्कार प्रदान गरिएको थियो।

भोली (आइतबार) दोस्रो क्वाटरफाइनल खेलमा वडा १६ र वडा १४ बीच भिडन्त हुदैछ । पुष ३० गतेदेखि जारी प्रतियोगिताको फाइनल माघ १४ गते हुनेछ । प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ । बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजार हात पर्नेछन् । गोधुली क्लबले आयोजना गरेको प्रतियोगितालाई टुवोर्ग वियरले मुख्य प्रायोजन गरेको छ । यस्तै, धरानको १७ नं. वडा कार्यालय, धरान–१७ समाज हङकङ र सेन्ट जोसेफ स्कुले सहप्रायोजक रहेको छ ।