धरान: स्थानीय तह पुर्नसंरचना पछिको नेकपा एमालेको प्रथम धरान नगर अधिवेशन मंगलबार धरान १५ स्थित चुम्लुङ हिममा शुरु भएको छ । 

दुई वटा समानन्तर कमिटीलाई समायोजन गरेर ६ महिनाभित्र अधिवेशन गर्ने भनिएपनि झण्डै डेढ बर्षपछि अधिवशेन भएको हो । पार्टी विभाजन हुँदा पनि एमालेमै बसेको १० बुँदे पक्ष र संस्थापन भनिएको ओली गुटलाई समायोजन गरेर वैधानिक कमिटी बनाउन यो अधिवेशन निक्कै महत्वपुर्ण छ । तर, मंगलबार शुरु भएको अधिवेशनको उद्घाटन समारोहमा भने रोचक दृष्य देखियो । 

उद्घाटन समारोहमा एमाले केन्द्रीय सदस्य तथा धरानकी पुर्वउपमेयर मञ्जु भण्डारी सुवेदी र उनका श्रीमान् प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुवेदी उपस्थित भएनन् । यस्तै, पार्टी नगर कमिटी सचिव सुदेश चापगाई पनि अधिवेशनको उद्घाटन समारोहमा आएनन् । सचिव नै नआएपछि उद्घाटन समारोह सहसचिव राजेन्द्र राईले सञ्चालन गरेका थिए । 

एमाले धरानको राजनीतिमा प्रभावशाली नेताहरु मुरारी सुवेदी र मञ्जु भण्डारी अधिवशेनमा किन आएनन् ? सोमबार अधिवेशनमा सहभागी प्रतिनिधि तथा स्थानीय नेता, कार्यकर्ताहरुमा चर्चाको बिषय बन्यो । नेता सुवेदीले अहिले पार्टीलाई वलियो बनाउन ग्रासरुट अभियान चलिरहेको कारण अधिवेशन गर्न नहुने बताउने गरेको नेताहरुको भनाई छ । तर, एमाले नेताहरुका अनुसार नगर अधिवेशनप्रति असन्तुष्ट रहेको कारण उनीहरु सहभागी नभएका हुन् । उनीहरु पार्टी अध्यक्ष हर्कजंग एभेङको विकल्प चाहन्थे, र अधिवेशन पछाडि धकेल्ने प्रयास गरिरहेका थिए । तर, उनीहरुलाई आफ्नै गुट (ओली)का नेताहरुले पनि साथ नदिएको नेताहरुको भनाई छ । 

emale

विगतमा माधवकुमार नेपाल गुटको एकछत्र राज भएको एमाले धरानमा ओली गुटलाई स्थापित गर्न सुवेदी भण्डारी दम्पत्तीको अहम भुमिका छ । तर, पछिल्लो समय धरानमा ओली गुटमा नै पनि फुट देखिएको नेताहरु बताउछन् । मंगलबार नगर अधिवेशन चलिरहदा नेता सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिवेशनप्रति लक्षित गर्दै आफ्नो असन्तुष्टी प्रकट गरेका छन् । उनले लेखेका छन्,‘विवाद सल्टाउने अभियान चलिरहेको बेला अराजकतालाई धाप मार्ने र प्रणालीलाई वेवास्ता गर्नाले नोक्सान वाहेक केही हुदैन ।’

नेता सुवेदीको स्टाटसमा एमालेकै बुद्धिजिवी नेता गोपी खतिवडाले टिप्पणी गर्दै हर्कजंग एभेङलाई गलहत्याउन भएका अनेक प्रयासहरु असफल भएपछि ६ महिनाभित्र अधिवेशन गर्ने सहमति भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, 'यदि धरानको नगर अधिवेसनलाई संकेत गरिएको हो भने-हर्क जङ एभेङ धरान नगर कमिटीको पछिल्लो अधिवेशनबाट निर्वाचित वैधानिक अध्यक्ष हुन् । यिनलाई अवैध सिद्ध गरेर गलत्याउन अनेक प्रयासहरू भए। कुनै उपाय नलागेपछि ६ महिनाभित्र नगर अधिवेशन सम्पन्न गरी विवाद समाधान गर्ने सहमति भएको बुझिन्छ। यदि उक्त सहमतिअनुसार नगर अधिवेशन हुँदै गरेको हो भने यस अधिवेसनबाट हर्क एभेङ्को नेतृत्व स्थापित गर्नुको विकल्प खोज्नु हुँदैन।बाँकी ठाउँमा नेतृत्व बसेर समझदारी कायम गर्नुपर्छ।'

नगर अध्यक्ष एभेङले प्रमुख अतिथिकोरुपमा केन्द्रीय पदाधिकारीहरु बोलाएपछि मिशन ग्रासरुटको कारण आउन नसकेको बताए । तथापी, स्थायी कमिटी सदस्य तथा प्रदेश इञ्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यमा उद्घाटन समारोह गरिएको उनले जानकारी दिए । उपमहानगर कमिटीमा अधिकतम ८५ जनाको कमिटी निर्माण हुनेछ भने त्यसमा ५ जना पदाधिकारीहरु रहने पनि उनले बताए । 

एभेङका अनुसार अधिवेशनमा ५ सयको हाराहारीमा प्रतिनिधिहरु सहभागी छन् । अधिवेशनबाट ३ बर्षको लागी नेतृत्व चयन गर्नेछ । आगामी नेतृत्वको लागी एभेङ एक मात्र अध्यक्षका दाबेबार देखिएका छन् । उनले पनि कामचलाउको लागी अधिवेशनसम्मको नेतृत्वको जिम्मेवारी जिल्ला कमिटीले दिएको खुलाउदै एक पटकको लागी नेतृत्व गर्ने चाहना रहेको बताए । 

माओवादीका युवा नेता एमाले प्रवेश

emale1

नगर अधिवेशनको क्रममा नेकपा माओवादी केन्द्रका युवा नेता विजय लामा एमाले प्रवेश गरेका छन् । लामा वाइसिएलका पुर्वअध्यक्ष पनि हुन् भने माओवादी केन्द्रका वर्तमान नगर कमिटी सदस्य पनि थिए । 

उनी गत बर्षको स्थानीय तह निर्वाचनमा वडा नं २० मा माओवादीबाट वडाअध्यक्षका प्रत्यासी थिए । त्यसबेला झिनो मतान्तरले उनी पराजित भएका थिए । यस्तै, नेपाली कांग्रेस प्रदेशभा १ (क) कमिटी सदस्य महेन्द्र राईसहित क्रियाशिल सदस्य जयकिशोर साह, मधुरा घिसिङ पनि एमालेमा प्रवेश गरेका छन् । उद्घाटन समारोहमा ज्येष्ठ नागरिकहरुलाई सम्मान पनि गरिएको थियो ।