धरान: ट्यालेम्ट हन्ट बास्केटबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बिबोइज र महिलातर्फ वरियर टिमले जितेको छ । 

धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा शुक्रबार धरान बास्केटबल संघद्धारा आयोजित प्रतियोगितामा बिबोइजले द युथ टिमलाइ १३-७ र वरियरले ग्लाडियटर टिमलाइ ६-२ अंकको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । बिजेता तथा उपबिजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, प्रमुख अतिथी प्रदेशसभा सदस्य बिजयकुमार राई, धरान ८ का वडाध्यक्ष धनबहादुर राई, धरान १० का वडाध्यक्ष बिबेक राई, धरान मेघा हिमालयन कलेजका प्राचार्य भाष्कर पौडेल, धरान गल्फ क्लबका उपाध्यक्ष जितेन्द्र राई लगायतले पुरस्कार बितरण गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधी पुरुषतर्फ बिबोइजका शिवम सर्राफ र महिला तर्फ वरियरका दिया कोयी राई घोषित भए । उनीहरुलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । धरान मेघा कलेजको मुख्य प्रायोजन तथा मन्टेसरी किन्डरगार्टेनको सहप्रायोजनमा आयोजित प्रतियोगितामा पुरुष तर्फ ६ टिम र महिला तर्फ २ टिम रहेको थियो ।

प्रतियोगितामा धरान बास्केटबल संघले बैशाख ९ गते देखि ३० गते सम्म सञ्चालन गरेको ट्यालेन्ट हन्टमा सहभागी बिद्यार्थीहरुले सहभागिता जनाएका थियो । उनीहरुको क्षमता अभिबृद्धि तथा अनुभवका लागि प्रतियोगिताको आयोजना गरिएको बास्केटबल संघका अध्यक्ष सुवेदीले बताए । ट्यालेन्ट हन्टका उत्कृष्ट महिला पुरुष बास्केटबल खेलाडिहरुलाइ धरानका विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने पनि सुबेदीले जानकारी दिए । प्रतियोगितामा प्राबिधिक सहयोग सुनसरी बास्केटबल संघको रहेको थियो ।